धर्मरत्न श्रेष्ठ -
यु होङ– चिनियाँ राजदूत हुन्। उनी भर्खर नेपाल आएकी हुन्, उनले पदभारसमेत नसम्हाल्दै विभिन्न पार्टीका अध्यक्ष, परराष्ट्रमन्त्री, प्रधानमन्त्री र केही कूटनीतिक व्यक्तित्वहरुलाई भेटघाट तीब्र पार्न थालेकी हुन्। उनको चिन्ता यही छ कि ओली सरकारका पालामा भएको पारवहन सन्धि कार्यान्वयन हुन्छ कि हुन्न, चीनको वान बेल्ट वान रोड, दक्षिण दक्षिण सहयोग नीति र नेपालमा रेललाइन जोड्ने कार्यक्रममा नेपालको सहयोग रहन्छ कि रहदैन?
यसवीच चीनलाई चिढाउने गरी प्रम पुष्पकमल दाहालको दुईपल्ट भारत भ्रमणमा केही भारतमुखी क्रियाकलापहरु भएका छन्। भारतले १५ वर्षसम्म अन्य मुलुकबाट पेट्रोलियम पदार्थ आयात नगर्न दबाबी बार लगाएको छ र नेपालले चीनसँगको व्यापारमा बृद्धि गर्दै समुद्री मार्गको उपयोग गर्ने सम्बन्धमा समेत उचित निर्णय गर्न सकेको छैन। नेपालको असहयोग र कूटनीतिक फितलोपनकै कारण असोज २४ गते नेपाल आउने चीनका राष्ट्रपति सी जिनपिङको कार्यक्रमसमेत रद्द भएको थियो। यसकारण पनि चीनका राजदूत यु होङको चिन्ता र चासो बढेको हो, उनी बुझ्ने तुफानी दौडमा छिन्।
नवनियुक्त यी राजदूतले केही दिनमै दर्जनाैं पटक भनिसकेकी छिन्– उच्चस्तरीय भ्रमण हुन्छ, अर्को साल सम्भव छ, नेपाल र चीनवीचको पारवहन सन्धि लागू हुने विश्वास चीनको रहेको छ। तर, राजदूतको त्यो भनाईको मर्म बुझ्न र अन्तरनिहित कूटनीतिक अर्थको गरिमाको महत्वको सम्मान गर्न परराष्ट्र मन्त्रालय असफल भएको छ। यसकारण चिनियाँ राजदूत र यु होङ नेपाल सरकारको परराष्ट्रनीतिबाट निराश भएको अनुभव गरिदैछ। साथै कांग्रेस सभापति देउवाले गोवा पुगेर दलाई लामाका प्रतिनिधि भेट्नु दुर्भाग्य भएको छ। एकचीन नीति अपनाएको नेपालप्रति चीन त्यसै सशंकित भइरहेको बेलामा देउवाको गल्तीले सम्बन्धमा थप चिसोपन बढ्दै गएको देखिदैछ।