स्वयम्भुनाथ कार्की -
राजनीति र आफ्नो भलोको निमित्त जे पनि गर्न सक्नेहरुलाई नेपाल लगायतका पुर्वेली मुलुकमा ठूला मानिन्छ। यस्ता छोटा नामधारी नेताहरुले सिद्धान्तको आधारमा हैन आफ्नो नामको आधारमा दल गठन गर्दछन। त्यसैले यीनिहरु दलको सिद्धान्त, विधान भन्दा माथी हुन्छन। केही आफुप्रति समर्पित कार्यकर्ताको बलमा सदैव हावी हुन्छन्। दुईदेखि तीन नेपाली वा अंग्रेजी अक्षरमा नाम भएका यस्ता कुनै पनि नेताको लीला उल्लेख गर्न ग्रन्थ नै लेख्नु पर्ने हुन्छ। अहिले संक्षिप्त नामको योग्यतामा पशुपतिसम्सेर राणा र कमल थापा पुगेका छन। त्यसैले यस आलेखमा राणालाई 'पसरा' र थापालाई 'कथ्ाा' भनिएको छ।
राप्रपा नामधारी दलमा संलग्न कृतध्न पञ्चहरु मध्ये कसैले पनि झण्डै तीसबर्षको यो कालखण्डमा पञ्चायत शव्द पनि उच्चारण गरेनन। बरु कुनै कुनै महापञ्चहरु त पञ्चायत विरुद्ध संघर्ष गर्ने नेताहरु भन्दा ठूलो स्वरमा पञ्चायतको विरोधमा गर्जने गरेका छन। उनीहरुको यो कृतध्नताको अन्य दलहरुले राम्रो पुरष्कार दिएका पनि छन। बहुदलमा मन्त्री र प्रधानमन्त्री नै पनि पडकाउन सफल भए। गणतन्त्रमा प्रधानमन्त्री त भएनन तर उपप्रधानमन्त्री शुरुमै उछिट्याए। राप्रपाहरुमा सामेल पञ्चायत पृष्टभूमि भएकाहरुलाई कृतध्न भनिएको हो। ताजा सामेल भएका पञ्चायत आफुले नभोगेका ३०,४० बर्षकाहरु यस परिभाषामा पर्दैनन। उनीहरु मुलुकको भलो गर्न भनेर सामेल भएका हुन र यसमा भएका ठूला नामको भरोशा गरेर सामेल भएका हुन।
पञ्च कार्यकर्ता र महापञ्चहरुलाई संगठित राख्न जन्मेको 'राष्ट्रिय प्रजातन्त्र पार्टी ' जरासन्ध जस्तै दुई भागमा जन्मेको थियो। त्यहाँदेखि वर्तमानसम्म पुग्दा जुट्ने, फुट्ने र जुटने प्रक्रिया 'पानी पँधेरो' भएको छ। एक पटक निकै लामो समयसम्म सुबथाले अलग नाम राखेर पनि पार्टी फुटाए तर अन्ततः राप्रपा नाम मै समाहित हुनै पर्यो। राप्रपा नाम सबैले पञ्चहरुको पर्याय माने पनि केही खरा पञ्चहरु यसमा विलिन हुन चाहेनन र भएनन पनि। बरु केवल पञ्च हुनु मात्र आधार भएको सिद्धान्त अनुसार भने केही नहुने राप्रपा नामधारी दलहरु भिडमा रहनु भन्दा ओझेमै बस्न चाहे।
कुनै राप्रपामा सामेल नभई ओझेलमा बसेका पञ्चहरु पञ्चायतका राम्रा कुराको निर्धक्क चर्चा गर्दछन। आफुले त्यसमा योगदान दिन पाएकोमा गर्व गर्दछन। संवैधानिक हिन्दू राजतन्त्रको ढोल बजाएर जनताको केही मत बटुलेको राप्रपा नेपाल भने त्यही सिद्धान्तको बारेमा बोलेकोमा धमाधम आफ्ना सदस्यहरुलाइे निष्काशन गर्दछ। राप्रपाले आफु पञ्च हुँदाको सिद्धान्त छोड्यो भनेर अलग भएको राप्रपा नेपालले पहिलो निर्वाचन एकै झण्डामा लड्यो। पछि आफुलाई फरक देखाउन झण्डा लगायत धेरै कुरा बदल्यो। अहिले त्यही राप्रपा नेपाल राप्रपामा समाहित भएको छ।
राप्रपाका सबै घटकमा कृतध्न पञ्चहरुको मात्र उपस्थिति छैन। त्यहाँ इमान्दारहरुको पनि बाक्लो उपस्थिति छ। तर त्यो उपस्थिति निर्णायक तहमा बिल्कुलै छैन, अनि नेतृत्वसंग अनेकौ असहमति भए पनि अर्को विकल्प नदेखेर टाँसिन विवश छन। राप्रपाहरुको एकिकरण चाहानेमा दुबै थरी सदस्यहरु छन। सत्ता र शक्तिका भोका नेतृत्व वर्तमान संसदमा संख्या बढाएर मोलतोलमा बल पुर्याउन चाहेका छन। इमान्दार कार्यकर्ताहरु मिलेर गएमा केही होला कि भन्ने आशामा छन।
ओली ढलेपछिको सरकारमा राप्रपाहरुले स्थान नपाउने आशंका थियो। त्यसैले बर्षौदेखि चर्चामा आउदै सेलाउदै गरेको एकिकरण एकाएक पसरालाई महत्वपूर्ण लाग्यो। कथा र पसराले एकिकरणको टँ145ङ्गो मात्र लगाएनन मिति नै घोषणा गरे संयुक्तरुपमा। सरकारमा आफ्नो स्थान यसले सुरक्षित गर्दछ भन्ने सोचमा गरिएको यो काम एकाएक भाँडियो। सरकारले पसरालाई चारो हाल्यो सरकारमा दल सामेलको निम्तो दिएर। अब पसरालाई कथाको आवश्यकता परेन। कथाको तेजोवध हुने गरेर थप्पड हानियो। कथा रन्थनाउनु थियो रन्थनाए, बर्वराउनु थियो आफ्ना आसेपासे सबै लिएर बर्वराए।
अहिले फेरी कथाको पसरामा विलय भएको छ। यसलाई राप्रपा नेपालको राप्रपामा विलय भन्नु भन्दा कमल थापाको पशुपतिशम्सेरसंग त्वं शरणंको रुपमा लिन उपयुक्त भएको कुरा विस्तारै देखिदै जाने छ। उहिले गृहमन्त्रीको हैसियतले राप्रपाको कार्यालय कव्जा गरेर पसरालाई न्यायालयको शरण लिन परेको चोट कथाले धुमवाराहीको भवन राप्रपालाई सुम्पेर तिरेका छन्। यसवापत अध्यक्ष पद त पाउने नै भए। तर टाउकोमा राष्ट्रिय अध्यक्षको रुपमा पसरालाई बोकेर। अव गणतान्त्रिक राष्ट्रिय अध्यक्ष बोकेर राजा सहितको प्रजातन्त्रको पक्षमा भएको कथाको विलौना पत्याउने जस्तो मुर्ख अरु को होला।
पसरा र कथालाई गणतन्त्र पनि चाहिएको छ, त्यसको संविधान विश्वको उत्कृष्ट पनि देख्नु परेको छ। सत्ताको मोलमोलाई गर्न जनमत पनि देखाउनु परेको छ, यो जनमत राजसंस्था चहानेबाट पुरा गर्नु परेको छ। त्यसैले मनशा र कर्मणा गणतन्त्र बोकेर वाचा भने 'राजा सहितको प्रजातन्त्रको' गर्नु परेको छ। दश बीस बर्षे योजनामा यो कुरा हुन्छ भन्नु परेको छ। नत्र पछिल्ला दूई निर्वाचनमा पनि कुनै दलले बहुमत समेत ल्याउन नसकेको अवस्थामा राप्रपाले दुई तिहाई स्थान ल्याएर संविधानमा अनुकुल संसोधन गर्छ भन्नु 'सोम शर्माको सातु' नभएर के हो? \