Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

कहिले सम्पन्न हुन्छ कोटेश्वर कलंकी रिंगरोड

२० सोमबार , मंसिर २०७३९ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ -
३९ महिनामा सम्पन्न हुनुपर्ने कोटेश्वर कलंकी रिंगरोड विस्तार गर्ने काम  आधा पनि सकिएन। संघाई कन्स्ट्रक्शन छिटो निर्माण गर्ने कम्पनी भनेर चिनिएको हो, तर यो कम्पनीले पनि ढिलासुस्ती नै देखायो। नाकावन्दी र नेपाल सरकारले सडकका रुख, पोल नहटाइदिएकाले वर्षदिन ढिलो भएको हो, अव निर्माणले गति लिइसकेको दावी छ सडक विभागको। कलंकीचोकमा अन्डरपास बनाएपछि निर्माण ह्वात्तै बढ्छ र काम पनि देखिन्छ, पुलपुलेसा निर्माण भइसकेकाले अवको एक वर्षमा यो फेजको काम सम्पन्न हुने दावी गरिरहेका इन्जिनियरहरु आफै विश्वस्त भने देखिदैनन्। 
यद्यपि सडकले देखाएको यो कलंकी पासको सडकको नक्सा भने चित्ताकर्षक देखिन्छ। ३९ महिने सम्झौता सकिएपछि सरकारले ४ महिना अघि नै थप १८ महिना समय दिएको छ। यो १८ महिनामा कलंकी कोटेश्वर सडक निर्माण सम्पन्न हुनसक्ने स्थिति देखिदैन। अव कुनै असहजता नभएकाले काम छिटो हुने दावी गरे पनि संविधान संशोधन, सिमांकनका विषयमा राजनीतिक अन्यौलता र सडक संघर्ष चर्केकाले त्यसको प्रभाव सडक निर्माणमा पर्ने पक्का छ। 
कलंकीमा निर्माण गरिने ८ सय मिटरको अन्डर पास र अन्डरग्राउण्डभित्रै पेट्रोलपम्प राख्ने कुरा पनि आएको छ। यही सुख्खा मौसमभित्रै अन्डरपास बनिसक्ने दावी निर्माण कम्पनीले पनि गरेको छ र यहाँ भने काम तीब्र भइरहेको देखिन्छ। यद्यपि अन्डरपासका कारण कलंकी पार गर्न सवारी साधनलाई लामो समय लाग्ने गरेको छ। अन्डरपास बनेपछि कलंकीमा कहिल्यै जाम नहुने दावी सडक विभागको रहेको छ। अन्डर पासबाट रिङ रोडमा गुड्ने सवारी कलंकी भाटभटेनी अर्थात खसी बजारको पुलबाट प्रवेश गरी बाफल पुरानो पुल नजिक निस्कनेछन्। बालाजुतर्फबाट आउने सवारी पनि सीधै अन्डर पास हुँदै खसी बजारमा निस्कनुपर्ने हुन्छ। कलंकी चोकमा जाने यात्रु खसी बजार र मकालु पम्पमा मात्रै झर्न पाउनेछन्। बल्खु हुँदै थानकोट र कालीमाटीतर्फ जाने सवारीले भने दायाँवायाँ दुई लेनको बाटो प्रयोग गर्न पाउनेछन्। यस्तै सीतापाइला हुँदै कालीमाटी र थानकोटतर्फ जाने सवारीसाधनले पनि दुई लेनको साइट बाटो प्रयोग गर्न पाउँछन्। रिङरोड हुँदै कलंकी पास हुने सवारीसाधनले माथिबाट गुड्न र यात्रु कलंकी चोकमा झार्न पाउने छैनन्।