Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

नेपाल राष्ट्र धर्मशाला नै हो?

२० सोमबार , मंसिर २०७३९ बर्ष अगाडि

पदम हमाल-

धर्मशालाको पनि नियम हुन्छ, आचार हुन्छ र अनुशासन हुन्छ। नेपालमा त विश्वका कुनै पनि मुलुकका नागरिक झ्वासझ्वासी पस्छन् र पैसा फालेर नागरिकता किन्छन्। असनको साग महगो होला, नेपालको नागरिकता त्यति सस्तो भयो। त्यसमाथि तिब्बतीदेखि सिरियासम्मका शरणार्थी र दुई नम्बरी नागरिक नेपालको नागरिकतामात्र होइन, एमआरपी नै लिन सफल भइसकेका घटना सार्वजनिक भइरहेका छन्। पहिले भुटानी, बंगलादेशी, पाकिस्तानी, भारतीयहरु नेपाल पस्थे, अहिले त जो पनि नयाँ नेपाली बनिरहेका छन्। यस्तो उदार राष्ट्र, धोती फुस्केका नेता र काम गर्नै नसक्ने संविधान, कानुन कुनै पनि असफल राष्ट्रमा समेत देखिदैन। लोकतन्त्र आयो, अग्रगमन अँगाल्यौं, भएका संस्थाहरु बिघटन गर्‍यौं, धर्म फाल्यौं, कहाँ पुगछौं? 
तिब्बती शरणार्थी यही छन्, भुटानी शरणार्थी कहिल्यै समाधान नहुने समस्या भइहाल्यो, भारतीयहरुको ओइरो दिनदिनै लागिरहेकै छ, त्यसमाथि केही सामान, केही रकम अनुदानमा लिएर नागरिकता दान दिइरहेका छों। यतिले पनि चित्त बुझेन छिमेकीको, अंगीकृत नागरिकलाई राज्यको कार्यकारी प्रमुख पदहरुमा हक दिन तैयार भएका छौं। देशको सामाजिक, आर्थिक व्यवस्था भताभुंग भैसक्यो। यसतर्फ न पार्टीहरू, न त सरकारलाई नै चासो छ। उल्टै विदेशी राजदूत नेपाली नेताहरुलाई आन्दोलन गर, संविधान संशोधन गर, संविधान संशोधनको प्रस्ताव पारित गर भन्न थालेका छन्। वीरका सन्तान हामी, कति वीर भइरहेछौं कि पीर बनिरहेछौं? 
लोकतन्त्रका बारेमा जनमत संग्रह गरौं, यो व्यवस्था नै चाहिदैन भन्ने जनमत बनिसकेको छ। यथार्थमा व्यवस्था राम्रो हो, व्यवस्था हाँक्ने नेताहरु नराम्रा भएका कारण यस्तो धारणा बन्दै गएको हो। विश्वका १९२ मुलुकमा जम्मा जम्मी २८ मुलुकले संघीयता अपनाएका रहेछन्। त्यसमा कति मुलुक सफल र कति असफल पनि छन्। नेपाल त १२५ जाति बसोबास गर्ने मुलुक, यस्तो अनेकतामा एकता खोज्नुपर्ने मुलुकमा जातियता, क्षेत्रीयता, धर्म र भाषागत क्लस्टर बनाएर संघीयताको रेखांकन गरिदैछ। यो व्यवस्था चलाउने भन्दा पनि झगडा बढाउने, अस्थिरता र अराजकताको श्रृंखलावद्ध षडयन्त्र चलाउने मेसो हो। त्यो मेसो, मेलोको हतियार बनेका छन् हाम्रा नेताहरु। नेतामा नैतिकबल र चारित्रिक गुण भएको भए चलिहाल्छ कि, चलाइहाल्छन् कि भनेर मान्न सकिन्थ्यो। कुनै बल, हैसियत र ल्याकत नै छैन, यस्ता सत्तापिपासुले लोकतन्त्र चलाएर कसरी चल्न सक्ला र? यसको ताजा नमूना भनेको संविधान जारी गरेको १५ महिनामा पनि लागू हुनै सकेन, कार्यान्वयन नै भएन। यस्तो नालायकी प्रदर्शन भइरहेको छ। बाहिरको इसारामा कहिलेसम्म लोकतन्त्र र धर्मनिरपेक्षता थाम्न सकिएला र?