
देश अभूतपूर्व संकटमा छ । गत बुधवार चीनतर्फको हिमताल फुटेर आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लाहरू ध्वस्त भए । ठूलो मानवीय र भौतिक क्षति भएको छ । अकस्मात मुलुकमाथि आइलागेको यो प्राकृतिक बज्रपातसँग जुध्न सिङ्गो देश एकजूट भएको छ । अझ मित्रराष्ट्रहरूले पनि सक्दो सहयोग गरिहेका छन् । भनिन्छ, ०७२ सालको भूकम्पभन्दा पनि त्रासदी छ अहिले । मृतक र बेपत्ताहरू कति छन् ? त्यो अनुमान लगाउन कठिन छ । यस्तो विषम परिस्थितिमा आमनेपालीले गच्छेअनुसार सक्दो सहयोग गरिरहेका छन् । केही अपवाद बाहेक सर्वसाधारण र सुरक्षा निकायहरू रातदिन उद्धार र राहतमा जुटेको देखिन्छ । पीडितका लागि खडा गरिएको प्रधानमन्त्री राहत कोषमा राजा ज्ञानेन्द्रदेखि निम्न बर्गका नेपालीहरूले सक्दो सहयोग जुटाएका छन् । केहीको विचारमा, जुन विपद आइलाग्यो, त्यो एकदमै दुःखद कुरा हो । त्यत्रो मानवीय र भौतिक क्षति भयो, त्यो अपूरणीय छ । यस्तो समयमा सरकारको सकृयता, त्यो चैं सुखद कुरा हो । किनभने पुराना भ्रष्ट अपराधी नो र तिनका दलको सरकार भइदिएको भए, यति तदारूकताका साथ उद्धार, राहत हुने थिएन । अझ सहायताका नाममा अहाएका नगद र जिन्सीमा हुने गरेको भ्रष्टाचारले मुलुक अर्को किसिमले आक्रान्त बन्ने थियो । कमसेकम अहिले त्यस्तो भएको छैन । भ्रष्टाचार हुन्छ भन्ने शंका पनि छैन ।
यो विपदमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू विपद् क्षेत्रमा रातदिन खटिएका छन्, यो प्रशंसनीय छ । राहत र उद्धारमा पक्षपात गरिएको छैन । राज्यका सबै शक्ति उद्धार र राहतमा लागेको छ । प्रधानमन्त्रीले भनेका छन्– सरकार जनताका साथमा छ ।
हो, विपदमा परेका, आफन्त गुमाएका र आफन्तको लाश वा श्वास जे छ चाहियो भन्नेहरू सरकारलाई उद्धारमा किन ढिलाई भनेर प्रश्न गरिरहेका छन् । सरकारले चीन, भारतदेखि विज्ञहरू ल्याएर उद्धारको प्रयास गरिरहेको छ । स्वयम् पार्टीका नेताहरू विपद् क्षेत्रमा पुगेर सरकारको काम हेरेका छन्, सुझाव दिएका छन्, सरकार सबैको सुझावअनुसार सकृय भइरहेको छ । झण्डै अठार हजार सुरक्षाकर्मी, प्रशासन खटिदा पनि प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाई भइरहेको देखिन्छ । यद्यपि बन्द भएका राजमार्ग खुलाउने र सम्पर्क विहीन स्थितिलाई काबुमा ल्याउने काम सरकारले गरिरहेको छ । सरकार छ भन्ने अनुभूति छ ।
सेना बिघटन गर्नुपर्छ, संख्या घटाउनुपर्छ भन्ने स्वर्णिम वाग्ले, सीके राउतहरू ज्यानको बाजी लगाएर सुरक्षाकर्मीले गरेको उद्धारको कार्य हेरिरहेका छन् । विश्वले नेपाली सेना, प्रहरीको सकृयता, साहस देखेर पंशंसा गरिरहेका छन् । सबैले थाहा पाए होलान्, सेना किन चाहिन्छ ? विपत्तिसँग लड्न सेनाको महत्व कति छ ? नेपाली सेनाको सकृयता र भारतीय पर्यटकको उद्धार गरेको देखेर भारतले समेत प्रशंसा गरेको छ । पर्यटकहरूको साहसिक उद्धारप्रति सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको विश्वमै वाहवाही भइरहेको छ । हिजोका दिनमा राजनीतिक कारणले यी संस्थाको विरोध गर्नेहरू आज मौन छन् । सरकार, जनता र सुरक्षानिकायवीच दरिलो समन्वय भएका कारण कसैले औंला उठाउने साह गर्न सकेका छैनन् । लामो समय संसदमा प्रतिपक्षी बनेर बिरोधको लागि बिरोधको राजनीति गर्नेहरू समेत सरकार र सुरक्षा निकायका साथ उभिएका छन्, भइरहेको कार्यप्रति सन्तोष गरेका छन् ।
धमिलो पानीमा माछा मार्न पल्केकाहरूमा असन्तोष होला, यो विपद्मा स्वार्थसिद्ध गर्न नपाएकाहरू आलोचना पनि गरिरहेका छन् । भूराजनीतिका कारण विवाद आउन सक्ने भएकाले विदेशी सेनाको संलग्नतालाई सरकारले अस्वीकार गर्दै आफ्नै सामथ्र्यले यो विपद्सँग जुध्ने सरकारको नीतिलाई स्वाभिमानी मानिएको छ । सरकारकै सजगताका कारण यो विपत्तिमा कहीँकतैबाट भ्रमपूर्ण कुराहरूमा कमी आएको छ । सरकारले पनि यथार्थ सार्वजनिक गरिरहेको छ । प्रमाणित र सरकारी सूचनामा मात्र विश्वास गर्न आह्वान गरिरहेको छ । त्रासदीलाई बढाइ चढाइ झन झन त्रासदीपूर्ण बनाउने विगतको जस्तो घटना भएको छैन । चन्दा आतंक मच्चाउने, लूटगर्ने, पीडितमाथि अन्याय थोपर्ने बिगतको अनुभवहरूमा सरकार सचेत देखिन्छ । जो लुट्मा संलग्न थिए, प्रहरीले पक्राउ गर्न थालिसकेको छ । यो विपत्तिको समयमा विपद्मा परेका व्यक्ति, परिवारजनमा के कसरी हुन्छ, कति हुन्छ, सहयोग गरौं, सहयोगी हात बढाऔं । सुरक्षा निकायलाई हौसला दिऔं । पुराना खराव नजीरहरूलाई तोडौं । सकभर पछि पछि आउनसक्ने विपद्बाट सावधानी अपनाऔं, विपदसँग लड्ने क्षमता बृद्धि गरौं । एकता कायम राखौं ।



