Advertisement Banner
Advertisement Banner

२० शनिबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

*राष्ट्रिय पुस्तक दिवस, सर्वोदय पुस्तकालय र मेरो विचार*

२० शनिबार , भाद्र २०८३७ घण्टा अगाडि

*राष्ट्रिय पुस्तक दिवस, सर्वोदय पुस्तकालय र मेरो विचार*

— सुरेशकुमार पाण्डे------------------

१९औँ राष्ट्रिय पुस्तक दिवसको दौरान सर्वोदय पुस्तकालय घोराही, दाङले दाङ जिल्लाका आदरणीय व्यक्तित्व, पत्रकार तथा लेखक ९७ वर्षीय नारायण गुरूज्यूलाई सम्मान गरेको छ। त्यही दौरान तीनजना नियमित पाठकलाई पनि सम्मान गरेको छ। यस्तो सराहनीय कार्यको जति प्रशंसा गरे पनि थोरै हुन्छ। त्यसकारण म प्रशंसा गर्नेतिर लागिनँ, बरु केही विषयवस्तुमा प्रकाश पार्ने प्रयास गरेँ।

सर्वोदयले नारायणप्रसाद शर्मालाई सम्मान र पुरस्कृत गर्‍यो, यस्तो काम सरकारद्वारा हुनुपर्ने हो। हाम्रो देशका यस्ता अमूल्य धरोहर, जिउँदा इतिहासको संरक्षण र प्रवर्द्धन सरकारले गर्नुपर्ने हो। साथै सर्वोदयजस्ता नमुना पुस्तकालय तथा वाचनालयको समेत सम्मान गरेर एउटा ऐतिहासिक पाइला चाल्नुपर्ने सरकारको दायित्व बन्छ।

तर हाम्रो देशको सरकार कहिले राणाको गुणगान, कहिले राजा र पञ्चायतको भजनमा व्यस्त रह्यो। उसलाई देशका अमूल्य धरोहरको बारेमा सोच्ने-सम्झिने फुर्सद नै भएन। यो अहिले होइन, धेरै पहिलेदेखिको रोग हो।

एकजना जयपृथ्वीबहादुर सिंहले नेपाललाई विश्वमा चिनाउने प्रयास गरेका थिए। भाद्र ७ गते वि.स. १९३४ मा सेती अञ्चलको बझाङमा जन्मेका थिए र उनी पछि बझाङका राजा पनि भएका थिए। पेसाले उनी भाषा, साहित्य, पत्रकारिता, शिक्षा, स्वास्थ्य, समाजसुधार आदिमा संलग्न थिए। नेपाली बौद्धिक व्यक्ति, उनले लेखेको "अक्षराङ्क शिक्षा" नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ। त्यस्तै उनको 'प्राकृत व्याकरण' नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट वि.स. १९६९ मा प्रकाशित भएको भनिन्छ। जयपृथ्वीबहादुर सिंहले लेखेका नेपाली भाषाको पुस्तक "अक्षराङ्क"मा देवनागरी लिपिका सावाँ अक्षर, गणितका साधारण हिसाब, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना र दिन, ऋतु, अंग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिएका थिए। उनको यसै पुस्तकमा बाह्रखरी, अक्षर ज्ञान, गणितको एकावली, पहाडा लगायत इस्लाम धर्म र चाडपर्वका विषयमा पनि लेखिएको बताइन्छ। अक्षराङ्क शिक्षा वि.स. १९५८ मा प्रकाशित भएको थियो। यस्तै आनन्दसिंह थापा भारतमा नेपाली भाषाका अगुवा व्यक्ति हुन्। उनले सन् १९५६ मा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूलाई एउटा ज्ञापनपत्र बुझाएर नेपाली भाषालाई संविधानको आठौँ अनुसूचीमा समावेश गर्न माग गरेका थिए, जो लामो ऐतिहासिक संघर्षपछि सन् १९९२ अगस्ट २० मा भारतले सामेल गर्‍यो।

भारतमा नेपाली भाषाको माग अत्यन्तै आवश्यकता थियो, किनकि सुगौली सन्धिद्वारा जमिनसँगै ठूलो संख्यामा नेपाली सन्तान पनि भारतमा पुगेका थिए। यस्ता कयौँ व्यक्तिहरू छन् जसले नेपाली भाषा-संस्कृतिका लागि निरन्तर लडेका छन्, जसलाई स्वयं सरकारले खोज-अनुसन्धान गर्नुपर्ने हुन्छ।

आज धेरै मानिसहरूले भन्छन्— फेसबुकले मानिसलाई बिगार्यो! कयौँले भन्छन्— प्रविधिले युवा बालबालिकालाई गलत पाठ पढायो। त्यो पनि केही मात्रामा हुन सक्छ। तर मेरो आफ्नो विचारमा विज्ञानले प्रविधि र टेक्नोलोजी जन्मायो, मुहारपुस्तिकाले थुप्रै कुराहरू पनि सिकायो। कुनै पनि वस्तुभित्र सकारात्मक र नकारात्मक पाटाहरू हुन्छन्। जसले जुन पाटो अपनायो, उसले उसैको स्वागत गर्‍यो। बिग्रने-सप्रने भनेको प्रत्येक व्यक्तिको विवेकमा भर पर्ने कुरा हो, अन्य विषय त केवल स्रोत मात्र हुन्।

यद्यपि उपरोक्त विचार साना बालबालिकामा भने लागू हुँदैन। तर बालिगहरूलाई फेसबुकले होइन, उनीहरूको विचार र व्यवहारले नै बिगारेको-सपारेको हुन्छ।

कयौँ बौद्धिक व्यक्तिहरू कुनै सवारी दुर्घटना भयो भने त्यो सबै त्यही वाहनको दोष ठान्दछन् र त्यसलाई प्रतिबन्ध लगाउने कुराहरू पनि वेलाबखतमा गर्छन्। त्यो विचारलाई मैले सही भन्दैन। आज पनि विकासलाई साथ-सहयोग दिनुपर्छ। एउटा जेसीबीका कयौँ गुण छन्, केही अवगुण पनि छन्। तर त्यसको अर्थ त्यसलाई रोक्नु भनेको विकासको बाधक हुनु हो। बरु हामीले त्यसलाई सही रूपमा अपनाउनुपर्छ। यो सोसल मिडिया फेसबुक पनि यस्तै हो।

कयौँ बौद्धिक व्यक्तिले कुनै स्ट्याटस टाँसीहालेपछि त्यसैमा थुप्रै टिकाटिप्पणीहरू आउँछन्। यस्ता थुप्रै आदरणीय व्यक्ति, देशभित्रका थुप्रै अमूल्य धरोहरको खोजबिन गर्ने र त्यस्ता काममा चासो राख्नेहरूको जमात पनि हाम्रो बीचमा हुनुहुन्छ। यस्तै खोजमूलक विचारले देशको विकास गर्छ, नकारात्मक विचारधारालाई त्यसले नष्ट गर्छ।

सबैले मुहारपुस्तिकालाई दोष दिने र धारेहात लगाउने गर्छन्, तर साम्राज्यवाद जसले आणविक हतियार बनाएको छ, त्यो बमगोलाहरूलाई अन्धाधुन्ध बिक्री-वितरण गर्दै आएको छ, त्यसलाई कसैले गलत भन्दैनन्। जसले घर-घरमा आतंकवाद जन्माएको छ, त्यसको विरुद्धमा कसैले आवाज उठाउँदैनन्। लागूऔषधको कारोबार हुन्छ, युवाहरूको भविष्य त्यसले नष्ट गरेको छ, उनीहरूलाई अन्धकारमा धकेलेको छ। त्यसको विरोधमा खै आवाज उठेको? हाम्रो समाजको इतिहास नै टिठलाग्दो छ। इतिहासलाई अध्ययन गर्‍यौँ भने धेरै गलत कुराहरू त हामीले आफूभित्रै भेटाउन सक्छौँ।

देशमा राणाहरूको विरुद्धमा आन्दोलन चल्यो, त्यो आन्दोलनको उठान गराउने क्रममा राणाहरूको विरुद्धमा जनतालाई आक्रोशित बनाउनुपर्ने आवश्यकता थियो। राणाहरूको व्यवस्था जहानियाँ मात्र थिएन, खुनी निरंकुश पनि थियो। जसले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायतका व्यक्तिहरूको संघर्ष र त्यागका कुराहरू आए। त्योसँग जोडिएका कयौँ कुराहरू ओझेलमा परे। कुनै राणा तानाशाह व्यवस्थाभित्रको कुनै बौद्धिक व्यक्ति पनि त होलान्, त्यसको खोज गरिएन। तर इतिहास भनेको जस्ताको तस्तै हुनुपर्छ। वि.स. २००७ साल पहिलेका कयौँ देशका सम्पत्ति सबै स्वाहा भएका त होइनन् होला, तर त्यसको खोजबिन गर्ने प्रवृत्तिको विकास हुन सकेन। मात्र भत्काउने, नष्ट गर्ने, स्वाहा पार्ने काम भयो; तर बनाउने, संकलन गर्ने, संवर्द्धन गर्ने काममा सधैँभरी हाम्रो समाज पछि रह्यो।

राजतन्त्रको विरुद्धमा आन्दोलन चल्यो, सबै राजाहरूलाई एउटै घानमा पेलियो। पृथ्वीनारायण शाहजस्तो एकीकरणका नेता वा नेतृत्वकर्ता अन्य पनि होलान् भन्ने सोच त आएन, स्वयं पृथ्वीनारायण शाहका सालिकहरूसमेत तोडियो। त्यही प्रकारले गत जेनजी आन्दोलनमा देशमा लामो समयदेखि निःस्वार्थ देश र जनताको हितमा काम गर्दै आएका राजनीतिज्ञहरू सबैलाई एउटै घानमा हालेर पेलियो। परिणाम— आज संसद्भित्र कयौँ त्यागी नेताहरू पुग्न सकेनन्, जसले देश र जनताको हितमा अमूल्य सुझाव-सल्लाह दिन सक्थे। सरकार जोसुकैको होस्, त्यहाँ प्रतिपक्ष समझदार छ भने सरकार पक्ष पनि सचेत हुन्छ।

अब एकीकरणका पिता पृथ्वीनारायण शाहलाई सम्मान गरेपछि ढुक्क छन्। हामीले नेपालको एकीकरणमा वीरगति पाएकाहरूलाई कसरी मूल्यांकन गर्ने गरेका छौँ? पृथ्वीनारायण एक्लैले मात्र त देशको एकीकरण हुन सकेन होला? तमाम सेनाहरूको साथ, सहयोग र त्याग-बलिदान पनि छ। तर हाम्रो समाजले यस्ता अमूल्य धरोहरको पनि जोगेरणा गर्नुपर्छ कि?

मानिसभित्र सबै गुण सही नहुन सक्छन्। मानिसमा कयौँ नराम्रा बानीहरू पनि हुन्छन्, त्यो आफ्नो ठाउँमा छ। त्यसको बारेमा पनि उनीहरूको जीवनीको अध्ययन गर्नु ठिक हुनेछ। तर देशको लागि नेपाललाई एकीकरण गर्दा वीरगति पाएका थुप्रै योद्धाहरू पनि छन्।

जस्तै: काजी कालु पाण्डे— जसले वि.स. १८१४ को कीर्तिपुरको लडाइँमा वीरगति पाएका थिए। उस्तै काजी तुलाराम पाण्डे कान्तिपुरको लडाइँमा वीरगति पाए, काजी नयनसिंह थापा— अल्मोडाको लडाइँमा, सरदार भक्ति थापा वि.स. १८७१ देउथलको लडाइँमा, सेनापति शिवरामसिंह थापा साँगाचोकको लडाइँमा वीरगति पाएका थिए।

यस्तै वीर अमरसिंह थापा पलाञ्चोक, जयकृष्ण कुँवर तिमालको लडाइँमा, परशुराम थापा समनपुरको लडाइँमा, सरदार गन्धर्व राणा काँगडाको लडाइँमा, भास्कर राणा दिगर्चाको लडाइँमा, चौतारिया हस्तिदल शाह वि.स. १८७१ को अल्मोडाको लडाइँमा, केहरसिंह बस्नेत सतहुँको लडाइँमा आदि थुप्रै वीरहरू राष्ट्रिय एकीकरणमा वीरगति पाएका छन्। यद्यपि पछि देशको ठूलो भूभाग देशले गुमायो, तर जो पनि लडेका थिए, उनीहरूको उद्देश्य देशलाई विशाल बनाउने नै थियो। प्रत्येक नागरिकहरूले देशलाई सही रूपमा बुझ्नुपर्छ।

यस्तै प्रकारले देशका अन्य विभूतिहरू छन् जसलाई खोजबिन गर्ने र उनीहरूको योगदानको जोगेर्ना गर्नुपर्ने आवश्यकता छ। देशमा आएको बहुदलीय व्यवस्थापछि हाम्रो देशका राजनीतिक शक्तिहरू पद-प्रतिष्ठाको भागबण्डामा यसरी अल्झिए कि सत्ता र भत्ताबाहेक अरू कुनै पनि चिजलाई देख्न सकेनन्। एउटाले अर्काको खुट्टा तान्ने काममा सधैँ अल्झिएका छन्।

अहिले त पठन संस्कृतिको अत्यन्तै अभाव देखिन्छ। कुनै दिन यस्तो थियो, बजारमा पुस्तकहरू नपाएर कसैले भारतको बनारस वा बुटवल, काठमाडौँदेखि मगाउनु पर्थ्यो। आज सर्वोदयजस्ता पुस्तकालय तथा वाचनालय छन्, जसले पुस्तक मात्र उपलब्ध गराइदिँदैनन् बरु निःशुल्क अध्ययन गर्ने र प्रस्तुत गर्ने मञ्चसमेत उपलब्ध गराएका छन्।

पाठकले आफ्नो इच्छाअनुसार पुस्तक छानेर निःशुल्क अध्ययन गर्न सक्छन्। फिर्ता दिने गरी १०-१५ दिनलाई पुस्तक आफ्नै घरमा लिएर अध्ययन गर्ने साइत पनि सर्वोदयले जुराइदिन्छ। त्योभन्दा पनि महत्वपूर्ण विषय, अहिले त सर्वोदय पुस्तकालय तथा वाचनालयले पाठक वर्गलाई प्रोत्साहन दिने हेतुले पाठक पुरस्कारसमेत दिँदै पठन संस्कृतिमा ठूलो टेवा पुर्‍याएको छ। अहिले नयाँ पुरस्कारको स्थापना गरेर सबैका गुरू आदरणीय व्यक्तित्व नारायणप्रसाद शर्मालाई पहिलो पुरस्कार प्रदान गरेको छ। म यो नेक कार्यका लागि संस्थाका अध्यक्ष श्री सुशील गौतम लगायत सम्पूर्ण टिमलाई धन्यवाद पनि नभनी रहन सकिनँ।