Advertisement Banner
Advertisement Banner

११ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सोह्र श्राद्ध सांस्कृतिक परम्परा, आध्यात्मिक सन्दर्भ डा. केदारा कार्की

११ आइतबार , आश्विन २०८३६ घण्टा अगाडि

सोह्र श्राद्ध सांस्कृतिक परम्परा, आध्यात्मिक सन्दर्भ
डा. केदारा कार्की

सोह्र श्राद्ध, जसलाई पितृ पक्ष पनि भनिन्छ, हिन्दू धर्म र विशेष गरी नेपाली तथा हिन्दू संस्कृतिमा आफ्ना आमा-बुबा र पूर्वजहरूप्रति श्रद्धा र कृतज्ञता प्रकट गर्ने एक अत्यन्त पवित्र र महत्त्वपूर्ण समय हो। यो अवधि भाद्र शुक्ल पूर्णिमादेखि आश्विन कृष्ण औँसी (सोह्र तिथि) सम्म रहने भएकाले यसलाई 'सोह्र श्राद्ध' भनिएको हो।
चन्द्रमान-अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी-जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने
भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो। कसैकसैले सोह्र दिनको गणना गर्दा आश्व्वीन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन्। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ । आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृपक्ष भन्दछन्। एक पक्षमा १५ दिन हुन्छ तर यतिबेला गरिने श्राद्धलाई किन सोह्र श्राद्ध भनिएको भन्ने जिज्ञासा उठन सक्छ।
खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औंसीसम्म १५ दिन र भाद्र शुक्ल पूणिर्माको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो।
कतै असोज शुक्ल प्रतिपदा तिथिमा गरिने मातामह श्राद्धको दिनलाई समेत गणना गरिएको पनि भेटिन्छ।पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथि समातेर श्राद्ध गर्दछन्। केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ। यी प्रमुख तिथिहरू यस प्रकार छन्- आश्विन कृष्णपक्ष पञ्चमी श्राद्ध - यस तिथिमा ती परिजनहरूको श्राद्ध गर्नु महत्त्वपूर्ण मानिन्छ जसको मृत्यु अविवाहित स्थितिमा भएको छ। यसलाई कुमार पञ्चमी पनि भन्दछन्।
आश्वीन कृष्णपक्ष नवमी श्राद्ध - यो तिथि माताको श्राद्धका लागि उत्तम
मानिन्छ। त्यसैले यसलाई मातृनवमी भन्दछन्। यस तिथिमा श्राद्ध गर्नाले कुलका
सबै दिवङ्गत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ।
आश्विन कृष्णपक्ष एकादशी एवं द्वादशी श्राद्ध - यस तिथिका दिन परिवारका ती
व्यक्तिहरूको श्राद्ध गर्ने विधान छ जसले संन्यास लिएको छ।
आश्वीन कृष्णपक्ष चतुर्दशी श्राद्ध - यो तिथि ती परिजनहरूको श्राद्धका लागि
उपयुक्त छ जसको अकाल मृत्यु भएको छ, जस्तै- दुर्घटना, हत्या, आत्महत्या,
शस्त्रद्वारा मृत्यु आदि।
आश्वीन कृष्णपक्ष अमावस्या - कुनै कारणले पितृपक्षका सबै तिथिमा पितृहरूको
श्राद्ध सम्पादन गर्न विघ्न परेमा अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको
अवस्थामा यस तिथिमा सबै पितृहरूको श्राद्ध गर्न सकिन्छ। यस दिन श्राद्ध
गर्नाले कुलका सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता पनि छ।

आश्वीन कृष्णपक्ष शुक्ल प्रतिपदा - यो तिथि मावली बाजेबज्यैको श्राद्धका लागि
उत्तम मानिन्छ। यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र
तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको
आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ र यसबाट घरमा सुख-समृद्धिको
प्राप्ति पनि हुन्छ।
पर्व अर्थात औंसीमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिछ । वैदिक परम्पराअनुसार
प्रत्येक महिनामा पर्ने औंसी तिथिमा पितृहरूको श्राद्ध गर्नुपर्ने नीति उल्लेख छ।
यथार्थमा यहि औंसी तिथिमा गर्नु पर्ने श्राद्धलाई पार्वण श्राद्ध भनिन्छ। तर समय
व्यस्तता र ब्यवहार नमिल्ने हुनाले र विविध कारणले गर्न नसकेका कारण
समग्रमा असोज महिनामा प्रतिपदादेखि औंसीसम्मका पन्ध्र र पूणिर्माको
एकदिनलाई गरी सोह्र तिथिमा श्राद्ध गरेमा पार्वण श्राद्ध नै मानिने शास्त्रमा
उल्लेख छ। शुक्ल वा कृष्ण जुनै तिथिमा बितेका भएपनि तिनैको तिथिलाई आधार
मानेर प्रतिपदादेखि औंसीसम्मका पन्ध्र दिनमा पार्वण श्राद्ध गरिन्छ। पूणिर्मा
तिथिमा गर्नुपर्ने श्राद्ध पनि औंशीमा गर्ने परम्परा छ। औंसीमा गरिने श्राद्धको
स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। प्रतिपदादेखि औंसीसम्मका
पन्ध्र र पूणिर्माको एकदिनलाई गरी सोह्र तिथि मानिएकोले यसमा गरिने श्राद्धलाई
सोह्र श्राद्ध पनि भनिन्छ।

पितृपक्षमा श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ् आदि काटेर सफा शुद्ध भई नित्य
स्नान गरी पितृपक्षभरि नै सात्विक भोजन गर्ने गर्दछन्। यसैगरी यस अवधिभर
कुनै देवस्थल दर्शन गर्न नजाने परम्परा रहेको छ। पितृपक्षमा प्रतिपदादेखि
औसीभित्र आफ्ना पितृकुलका तीन पुस्ताभित्रकै पुण्य तिथिमा महालय श्राद्ध
गर्नुपर्ने हो तर यस पक्षको चतुर्दशी तिथि र संयोगवंश मघा नक्षत्र परेमा श्राद्ध

नगर्नु भन्ने शास्त्रीय वचन पाइन्छ। एकोद्दिष्ट श्राद्धमा निश्चत तिथिमै श्राद्ध
गर्नेुपर्ने भए पनि यस पक्षको चतुर्दशीलाई भने अकाल गतिले मरेको -शास्त्र,
अस्त्रद्वारा झुण्डिएर डुबेर आदि ) व्यक्तिको मात्र श्राद्ध गर्ने परम्परा छ। पार्वण
श्राद्ध अपराहृनमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ।

१. सांस्कृतिक परम्परा र विधि
पितृ तर्पण र पिण्डदान: सोह्र श्राद्धका दिनहरूमा मानिसहरूले आफ्ना दिवङ्गत
पितृहरूको तिथिमा पवित्र नदी, ताल, वा घरैमा ब्राह्मणद्वारा तर्पण र पिण्डदान
गराउँछन्।

तिथि अनुसार श्राद्ध: जुन तिथिमा परिवारका सदस्यको निधन भएको थियो, सोही
तिथिमा मुख्य श्राद्ध गरिन्छ। औँसीका दिन (पितृ विसर्जन) भने सम्पूर्ण ज्ञात-
अज्ञात पितृहरूका लागि सामूहिक श्राद्ध वा तर्पण गर्ने परम्परा छ।

दान र सिदा अर्पण: पितृको नाममा अन्न, वस्त्र, फलफूल र दक्षिणा दान गरिन्छ,
जसलाई 'सिदा दान' भनिन्छ। यसो गर्दा पितृहरू तृप्त हुन्छन् र उनीहरूको
आशीर्वाद परिवारमा रहन्छ भन्ने मान्यता छ।

सात्विक जीवनशैली: श्राद्धको अवधिभर घरमा सात्विक भोजन (लसुन,
प्याजबिनाको शुद्ध भोजन) पकाउने, संयमित रहने र पवित्र वातावरण कायम राख्ने
गरिन्छ।

२. आध्यात्मिक सन्दर्भ र धार्मिक मान्यता
कृतज्ञताको भावना: हिन्दू दर्शन अनुसार मनुष्यमा 'देव ऋण', 'ऋषि ऋण' र 'पितृ
ऋण' गरी तीन प्रमुख ऋण हुन्छन्। पितृ पक्षमा तर्पण र पिण्डदान गर्नाले पितृ
ऋणबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ।

पितृलोकबाट आगमन: धार्मिक ग्रन्थहरू अनुसार यस अवधिमा पितृहरू यमलोकबाट
पृथ्वीलोकमा आफ्ना सन्ततिका हातबाट जल र पिण्ड ग्रहण गर्न आउँछन्।

दशैँअघिको शुद्धीकरण: महान् पर्व बडादशैँ (दुर्गा पूजा) सुरु हुनुभन्दा ठीक अघि
सोह्र श्राद्ध पर्छ। यसले एकातिर आफ्ना पूर्वजहरूलाई स्मरण गराउँछ भने अर्कोतिर
मानिसलाई आध्यात्मिक रूपमा शुद्ध र संयमित बनाएर नवरात्रिका लागि तयार
गर्दछ।

३. आधुनिक समाजमा सोह्र श्राद्धको महत्त्व र परिवर्तन
सम्बन्ध र मूल (Roots) को खोज: भागदौडपूर्ण आधुनिक जीवनमा सोह्र श्राद्धले
मानिसलाई आफ्ना पुर्खा, इतिहास र पारिवारिक इतिहाससँग जोड्ने काम गर्छ।

सामाजिक संस्कार र सद्भाव: यस अवसरमा गरिने दान-पुण्यले समाजमा सहयोग
र बाँडीचुँडी खाने संस्कृतिको विकास गर्छ।

श्राद्ध सकिएपछि बाँडिने पितृप्रसाद आमन्त्रण गरिएका सबैलाई वितरण गर्नु पर्दछ,
तर पिण्डमा चढाइएको पितृप्रसाद श्राद्धाधिकार पाएको सपिण्डीभित्रको दाजुभाइ र
बन्धुबान्धवले मिलेर ग्रहण गर्नुपर्दछ । उक्त प्रसाद एउटै गोत्रभित्रका सगोत्री
दाजुभाइलाई दिए पनि हुन्छ, तर अन्य गोत्रका व्यक्तिहरूले ग्रहण गर्न निषेध
गरिएको पाइन्छ । सोह्र श्राद्ध र अन्य श्राद्धको समयमा माथिका नियमलाई
पालना नगरेमा मृतपितृहरू रिसाउने र सन्ततिका घरमा अशुभ र अशान्तिले वास
गर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । तर विधिवत नियम र निष्ठाका साथमा
पितृकर्म गरेमा तिनको सदाशय र आशिर्वादले धेरै फल प्राप्त गर्न सकिन्छ ।
भनिएको पनि छ :-

आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च । प्रयच्छन्ति तथा राज्यं पितरः
श्राद्धतर्पिताः॥

समय अनुसारको अनुकूलन:

प्रविधिको प्रयोग: वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेशमा रहेका
नेपालीहरूले अनलाइन वा भिडियो कलमार्फत पण्डितसँग जोडिएर साङ्केतिक तर्पण
गर्ने क्रम बढेको छ।

सङ्क्षिप्त विधि: समयको अभावका कारण आधुनिक शहरहरूमा सङ्क्षिप्त तर
विधिपूर्वक श्राद्ध सम्पन्न गर्ने प्रचलन बढ्दै गएको छ।

सामाजिक सेवामा रूपान्तरण: कतिपय मानिसहरूले परम्परागत श्राद्धसँगै पितृको
स्मृतिमा आश्रमहरूमा खाना खुवाउने, वृद्धाश्रम वा अनाथालयमा सहयोग गर्ने तथा
छात्रवृत्ति कोष स्थापना गर्ने जस्ता सामाजिक कार्यहरू समेत गर्न थालेका छन्।

सोह्र श्राद्ध केवल एउटा कर्मकाण्ड मात्र नभई आफ्ना पूर्वजहरूले दिएको जीवन,
संस्कार र सम्पतिको कदर गर्दै उनीहरूप्रति श्रद्धाञ्जली र कृतज्ञता अर्पण गर्ने
जीवनदर्शन हो। आधुनिकतासँगै यसको बाह्य स्वरूपमा केही परिवर्तन आए पनि
यसको मूल भावना—"पितृदेवो भव"—अझै पनि उत्तिकै सान्दर्भिक छ।
ऊँ क्रीं क्लीं ऐं सर्वपितृभ्यो स्वात्म सिद्धये ऊँ फट् । ऊँ सर्व पितृ प्रं प्रसन्नो भव
ऊँ । ऊँ पितृभ्यः स्वधायिभ्यः स्वधानमः पितामहेभ्य स्वधायिभ्यः स्वधा नमः ।
प्रपितामहेभ्य स्वधायिभ्य स्वधा नमः अक्षन्न पितरो मीमदन्त पितरोतीतृपन्त
पितरः पितरः शुन्दध्वम् । ऊँ पितृभ्यो नमः पितराय नमः ।