शाश्वत शर्मा-
संविधानको संशोधनका विषयलाई लिएर राजनीतिक बिबाद जारी छ । कांग्रेस, माओवादी, मधेसी मोर्चा र राप्रपासमेत एकातिर छन् भने एमालेलगायतका नेमकिपा, राष्ट्रिय जनमोर्चाहरु अर्कातिर छन् । त्यसो त, राप्रपालाई अझै बुझ्न सकिएको छैन । पार्टीको नीति संशोधनको विपक्षमा जाने भएता पनि त्यस पार्टीका नेताहरुको व्यक्तिगत विचार सुन्दा चैं रनभुल्लमा नै परिन्छ । मधेसको समस्या समाधान हुनुपर्छ भनेर राप्रपाका नेताहरु भन्दै हिडेका छन् । अव समस्याको समाधान त हुनुपर्छ।।। तर सरकारले संसदमा पेश गरेको संशोधनको जस्तो तरिकाले होइन पनि भन्छन्, राप्रपाका नेताहरु । जेहोस्, संविधान संशोधनलाई लिएर रस्साकस्सी चलिरहेको छ । विपक्षमा बोलेको, संशोधनलाई पास हुन नदिन संसद अवरोध गरेको भन्दै पश्चिम तराईतिर मधेसी मोर्चाका कायृकर्ताहरुले एमाले अध्यष केपी ओलीलगायतकालाई पुतला बनाएर फाँसी पनि दिएको खबर छ । आक्रोस यतिबिघ्न बढिसकेको छ । तर उता संशोधनको विपक्षमा रहेको एमाले चैं खुलेर संघीयता र आरक्षणका कारण मुलुक रुस झैं टुक्रिन सक्छ भनिरहेछन् । यता कांग्रेसीहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आदि केही पनि नारा थिएन जनआन्दोलनमा, मात्र निरंकूशताको अन्य भन्ने थियो भन्न थालेका छन् । निरंकूशताको अन्त्य अर्थात संवैधानिक राजतन्त्रको निरन्तरता ।
यसरी बाझाबाझको स्थिति देखापरेको छ । उता ५ नम्बर प्रदेशको विषयलाइृ लिएर पश्चिम नेपाल तनावग्रस्त बनिरहेको छ । नेपालको पहाड र तराईलाई अलग गर्न खोजिएको भन्दै आन्दोलन गर्ने क्रम जारी छ । बुटवल, भैरहवातिर मात्रै होइन, रुकुम, रोल्पा, प्यूठानसम्म पक्ष विपक्षको बादबिबाद चर्किएको छ । यसैवीच प्रधानमन्त्रीले कुनै हालतमा संशोधन प्रस्ताव फिर्ता नलिने बचन दिएका छन् मधेसी मोर्चालाई भने प्रतिपक्षका बामदेव गौतमले अत्यन्त क्रुद्ध भागभङ्गीमा रगत बगाउन तैयार छौं, संशोधन रोक्छौं रोक्छौं, गए ज्यान जाओस् भनिसकेका छन् ।
गत शनिवार भरतपुरमा नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बादबिबादको आगोमा घ्यू थप्दै भनेका छन्– संविधान अपूरो अधुरो थियो, मैले पूरा गर्न खोजेको छु । पहिले संविधानको प्रशंसा गरेर नथाक्ने प्रम प्रचण्ड पर्लक्कै पल्टेर जातीय र मधेसीलाई उराल्न, उफार्न खोजिरहेका छन् । मुलुक नेताहरुकै कारण एकपटक फेरि भिडन्तमा गयो ।
यसपटकको आन्दोलन भिन्न छ । आन्दोलनमा सत्तापक्षका सांसदसमेत खुलेर बिद्रोही स्वर निकालिरहेका छन्, आन्दोलनमा संलग्न भएका छन् । सर्वसाधारण झ्यालढोका बन्द गरेर आन्दोलनमा उत्रिएको देखिन्छ । यो आन्दोलनको चुरो कुरो भनेको राष्ट्र गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरुद्धमा गइरहेको छ । राष्ट्रिय एकता, जातीय सद्भाव, सुशासन बिग्रदै र भत्कदै गएको भनेर आमजनतामा नैराश्यता बढ्दै गएको बेलामा संविधान संशोधन भारतको इसारामा हिमाल, पहाड, तराई अलग गराउने राष्ट्रघातका रुपमा आएको सनसनी फैलिरहेको छ । आगो सल्कीसक्यो, सरकार दमकलको काम गर्न छाडेर आगोमा दन्काउने हठ प्रदर्शन गरिरहेको छ । कि पेल्ने, कि मत्थर हुन्जेल तमासा हेरेर बस्ने मूडमा देखिन्छ प्रचण्ड सरकार । चुनाव चुनाव भनेर नथाक्ने ठूला तीन दल नयाँ संरचना, पुरानै संरचना र संसदको निर्वाचन गर्नुपर्ने अलग अलग बिचार लिएर कुर्लिरहेका छन् । मुलुक साह्रै अप्ठेरो स्थितिबाट गुज्रिरहेको छ । सुरुङ राजनीतिमा उज्यालो कतै देखिदैन ।
यसैवीच नेपाललाई सहयोग गर्ने दाताहरु संयुक्त राष्ट्र संघको पुल्चोक कार्यालयमा अनौपचारिक बैठक गरेर हस्तक्षेप गर्न थालेका छन् । नेपाल अस्थिरताबाट निस्कन नसक्ने निष्कर्ष निकालिरहेका छन् । सारमा भन्नुपर्दा दाता, कूटनीतिज्ञहरु नेपाललाई अस्थिर, अराजक अवस्थामै राख्न खोजिरहेका छन् । विदेशी इसारामा चलेका नेता र भ्रमित तथा सहनशील जनता अनि अभिभावकविहीन मुलुक अव कतातिर लाग्छ रु कता गएर ठोक्किन्छ । कल्पनाले पनि कहाली लाग्छ ।