Advertisement Banner
Advertisement Banner

१८ मंगलबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

चिनियाँ कम्युनिष्ट पार्टीको संस्थागत दृष्टि

१८ मंगलबार , कार्तिक २०८३१५ घण्टा अगाडि

चिनियाँ कम्युनिष्ट पार्टीको संस्थागत दृष्टि

चिनियाँ कम्युनिस्ट पार्टीको बैठकले पार्टीको पूर्ण तथा कठोर आत्मशासनलाई चीनको विकास र शासन सञ्चालनलाई सही दिशामा अघि बढाउने संस्थागत प्रत्याभूतिका रूपमा अघि सारेको छ । जनताका हितमा नीति कार्यान्वयन गर्ने, सार्वजनिक स्रोतको जिम्मेवार उपयोग गर्ने र आर्थिक रूपान्तरणलाई निरन्तरता दिने संस्थागत क्षमतालाई सुदृढ बनाउने चिनियाँ नेतृत्वको प्रतिबद्धता यसमा प्रतिबिम्बित छ ।
सन् २०२६ देखि २०३० सम्मको पन्ध्रौँ पञ्चवर्षीय योजनाका लागि राष्ट्रिय आर्थिक तथा सामाजिक विकाससम्बन्धी सिफारिसहरू बैठकले सन् २०२५ अक्टोबरमा स्वीकृत गरेको थियो । त्यसको एक वर्षपछि बसेको बैठकको मुख्य निर्णय पार्टीको पूर्ण तथा कठोर आत्मशासनसम्बन्धी प्रस्ताव थियो । 
कुनै पनि देशको विकास आर्थिक वृद्धिदर वा ठूला आयोजनाको सङ्ख्याले मात्र मापन हुँदैन । सार्वजनिक अधिकार कसरी प्रयोग हुन्छ, राष्ट्रिय स्रोत कुन प्राथमिकतामा परिचालित हुन्छ र सरकारी नीतिको लाभ नागरिकसम्म कति प्रभावकारी रूपमा पुग्छ भन्ने कुराले विकासको गुणस्तर निर्धारण गर्छ । चिनियाँ कम्युनिस्ट पार्टीले आत्मसुधार, कठोर अनुशासन र भ्रष्टाचार नियन्त्रणलाई शासनको केन्द्रमा राख्नु  जिम्मेवारीप्रतिको गम्भीर प्रमाण हो । 
चीनको एकीकृत राष्ट्रिय बजार निर्माणका सुधारले यो दृष्टिकोणलाई व्यवहारमा उतारेका छन् । यसले उद्यमलाई बजारमा प्रवेश र विस्तारका लागि थप अवसर दिएको छ । नियम देशभर समान रूपमा लागू हुँदा व्यवसायले प्रशासनिक अनिश्चितता घटाएर उत्पादन, अनुसन्धान र रोजगारी सिर्जनामा ध्यान दिन सक्छन् ।
यस्तै, बजार नियमन राज्य प्रशासनले सन् २०२६ मे महिनाको मध्यतिर निजी अर्थतन्त्रको विकासका लागि ३४ प्रमुख कार्य समेटिएको योजना सार्वजनिक गरेको थियो । निष्पक्ष प्रतिस्पर्धा, उद्यमसँग सम्बन्धित शुल्कको निगरानी, नियमनमा सुधार र निजी क्षेत्रलाई सेवा प्रवाह त्यसका मुख्य पक्ष थिए । यी सुधारले देखाएको दिशा र तिनलाई निरन्तरता दिन आवश्यक शासन अनुशासनबीचको सम्बन्धले पाँचौँ बैठकको महत्त्व अझ स्पष्ट पार्छ ।
बैठकले अधिकारीको व्यवस्थापन, पार्टी सङ्गठनको क्षमता, अनुशासन र निगरानी प्रणालीलाई बलियो बनाउने विषयमा जोड दिएको छ । विकासको मूल्याङ्कन पनि तत्काल देखिने निर्माण कार्यमा मात्र सीमित रहनु हुँदैन । कुनै परियोजनाले दीर्घकालमा उत्पादन, रोजगारी र जनजीवनमा कस्तो योगदान पु¥यायो भन्ने मापन हुनुपर्छ । जनताको हितभन्दा औपचारिक सफलता र प्रशंसात्मक विवरणलाई महत्त्व दिने प्रवृत्ति सच्याउने प्रयासले नीति र वास्तविक परिणामबीचको दूरी घटाउन सक्छ ।
बैठकले सार्वजनिक स्रोतको दुरूपयोग रोक्न दोषीमाथि कडा कारबाही गर्नुपर्छ; साथै, अनियमिततालाई जन्माउने कमजोरी पहिचान गरी संस्थागत रूपमै सुधार गर्नुपर्छ । भ्रष्टाचार गर्ने आँट, अवसर र चाहना तीनै पक्ष रोक्ने एकीकृत उपायमा जोड दिनुले यसलाई क्षणिक अभियान नभई निरन्तर राष्ट्रिय जिम्मेवारीका रूपमा लिएको देखाउँछ । नवप्रवर्तन र नयाँ उद्योगको विकासमा अनुशासनसँगै विवेकपूर्ण निर्णय आवश्यक हुन्छ । नयाँ प्रविधिमा जोखिम र अनिश्चितता रहन्छन् । स्पष्ट नियम, निष्पक्ष मूल्याङ्कन र सुधारको अवसरले जिम्मेवार प्रयोगलाई प्रोत्साहित गर्छ । सरकारी निकायले उद्योगका आवश्यकता बुझेर नीति निर्माण गर्दा अनुसन्धान, उत्पादन र लगानीका नयाँ सम्भावना खुल्छन् । नेपाली दृष्टिले चीनको अनुभव अध्ययनयोग्य छ । दीर्घकालीन योजना, सबै तहमा समान रूपमा लागू हुने नियम, सार्वजनिक स्रोतको उत्तरदायी उपयोग, उद्यमका लागि स्थिर वातावरण र विकासलाई नागरिकको हितसँग जोड्ने अभ्यास नेपालका लागि पनि महत्त्वपूर्ण छन् । चीनको मूल पाठ भने सबै देशका लागि उपयोगी छ—राष्ट्रिय उद्देश्यप्रति प्रतिबद्ध नेतृत्व, सक्षम संस्था र जनताप्रतिको उत्तरदायित्वले विकासलाई गति दिन्छ ।
आत्मअनुशासन चीनको विकास यात्राको सुदृढ आधार हो । पार्टीलाई निरन्तर सुधार्दै, भ्रष्टाचारविरूद्ध कठोरता अपनाउँदै र आर्थिक रूपान्तरणलाई जनहितसँग जोड्दै अघि बढेको चिनियाँ कम्युनिस्ट पार्टीको पहल समर्थन र सम्मानयोग्य छ ।
लेखकः प्रेम सागर पौडेल नेपालका वरिष्ठ पत्रकार र अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक हुनुहुन्छ ।