Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, मंसिर २०८३23rd November 2026, 12:23:53 am

आमूल परिवर्तन गर्ने नियत हुनुपर्छ

०९ मंगलबार , मंसिर २०८३एक घण्टा अगाडि

आमूल परिवर्तन गर्ने नियत हुनुपर्छ

मानव समाज सबैभन्दा चेतनशील प्राणी हो भनिन्छ । अहिलेसम्म यो चराचर जगतमा मानिसहरूमध्येको एउटा वर्गले मात्रै शासन गर्दै आएको छ । शासन गर्नु भनेको अधिनायकत्व नै हो । मानव समाजले प्राकृतिक दोहन चरम रूपमा गर्दै आएको छ । उसले सेवाभन्दा बढी शासन गरेको छ ।
माथी यस्तो भनिरहंदा कयौँले आफूलाई कम्युनिष्ट सर्वहारा भन्नेहरूको पनि सरकार आएकै हो भन्नसक्छन् ।सर्वहारा विचार हुनुपर्छ त्यो उनिहरूमा थिएन उनिहरूमा पुँजिवादी विचारधाराले घर जमाएको थियो ।त्यसैले गर्दा आज देशको यस्तो दुरगती हुन पुग्यो ।
प्राकृतिको सेवा अर्थात् बोटबिरूवा, पानीलगायतका चिजहरूको संरक्षणभन्दा दोहन बढी गरिएको छ । त्यो मात्र होइन, आफ्नो निजी स्वार्थका लागि वृक्ष फँडानीदेखि जमिनमुनिका खनिज पदार्थसमेत उत्खनन गरेर आफ्नो आकाङ्क्षा पूरा गर्दै आएका छन्  । अमूल्य प्राकृतिक सम्पदा रद्दीको भाउमा लिलाम गर्दै आएका छन्  ।
आगो, पानी, हावा र धर्ती— यी सबैमा पाइने तमाम आवश्यक तत्वको मानिसले छानी–छानी शोषण गर्दै आएको छ, जसमा गुण–अवगुणले प्रत्यक्ष असर गरिरहेको हुन्छ । तर पनि मानिसभित्रको लोभले प्राकृतिक जगतमा सधैँ हमला गरिरहेको हुन्छ ।
त्यो मात्र होइन, केही फटाहाहरूको कल्पनामा आधारित चमत्कार र चटकले बहुसङ्ख्यक जनतालाई भ्रम दिन सफल भएका हुन्छन्, त्यसैको परिणाम आज स्वर्ग र नर्कका मनगढन्ते कथाहरू उब्जिएका र समाजमा झाँगिन सकेका हुन्छन् । पुँजीपतिहरूले त्यसैबाट फाइदा उठाउन तिनै सामग्रीलाई जुटाएर नाटक, चलचित्र र सिरियलहरू तयार पारेका हुन्छन् । जसले आफू जीवनभर एसआराम गर्यो, उसैले ऐयाशीको विरूद्धमा कथा कोरेको पनि देखिन्छ । जनताले त्यो फटाहाको फटाइँलाई नबुझ्बुझेर उसैको जालमापरि फसेका हुन्छन् । शोषकसँग शोषितलाई फसाउने शक्ति हुन्छन्, जसमा आर्थिक र सत्ताको शक्ति प्रमुख छ ।
पुँजीपतिहरूले चमत्कारका दन्त्येकथामा आधारित सिरियल, चलचित्र र यस्तै खालका सामग्रीहरू पस्किनु भनेको उनीहरूको व्यवहारबाट उनीहरूलाई मुख्य दुई प्रकारको फाइदा हुन्छः प्रथम— जनतालाई चुसेर धन कमाउने, दोस्रो— जनतालाई भ्रममा पारिरहने र शोषक वर्गको शासन बलियो बनाउने । त्यसरी उनीहरूले अहिलेसम्म जुन राजनीति गर्दै आएका छन्, त्यही राजनीतिले सिङ्गो मानवसमाजलाई दूषित गर्दै आएको हुन्छ । धनको बलमा उनै निर्धन मानिसका कला, गला सबै उनीहरू किन्न सक्छन्, जिसलेगर्दा फेरि उनै गरिबलाई शोषण गर्न सजिलै सक्छन् ।
मुनाफा आर्जन गर्ने र सदियौँसम्म मानव समाजलाई भ्रमित पार्ने उद्देश्यले थालनी गर्नेहरू खास गरेर श्रमजीवी वर्गका दुश्मनहरू नै हुन्छन् । तर पनि उनीहरूका चटक हेरेर मानिसका बालबालिकासमेत प्रभावित भइरहेका हुन्छन् । बालमनोविज्ञानमा भौतिकवाद विरूद्धको गलत र चटक अपज्ञान भरिदिएका हुन्छन् । उनीहरूलाई ज्ञानी–आदर्शवादी बनाउने बहानामा उनीहरूलाई त्यो चमत्कार र चटकको भुमरीमा फसाएर कमजोर र मानसिकरूपमै बिकलाङ्ग तथा यथार्थ कुरा सोच्नै नसक्ने बनाइदिन्छन् । त्यसैलाई उनीहरूले धर्मको जामा भिराएर काल्पनिक दुनियाँमा पु¥याइदिएका हुन्छन् । यो उनीहरूको लामो समयको प्रयास हो ।
जस्तै— मानिसहरूले जातजाति बनाएर त्यसमा भेद सुरू गरे । त्यो भेद मुख्यतया छुवाछूतमा परिणत गरायो । जात–उपजात बनाएर मानिसलाई विभाजन गर्यो । कामको आधारमा बिभाजित जात जातीहरू छुवाछुत र सम्प्रकदायिकमा बिभाजन हुन पुग्यो ।
परिणाम चतुर वर्गले त्यसैमा राजनीति गर्यो र सत्तामा पुग्यो । सत्ता बचाइराख्नको लागि त्यो नीतिको र आफ्नो सत्तापावरको प्रयोग गरेर झन् मानिसहरूको बीचमा छुवाछूत र विभेदको खाडल बनाउँदै गयो, जसले समाजमा र चराचर जगतमा आफू प्रभावशाली बनिरहने प्रयास गर्दै आएको छ ।
सत्ता जोगाउन यी धर्म र जात, लिङ्ग र रङ्ग प्रयोग हुँदै आए । धर्मलाई विभाजन गरियो, जातिलाई विभाजन गरियो र रङ्गभेदका नाराहरू लगाएर भिन्दाभिन्दै अनुहारमा गुटहरूको जन्म भयो । यी सबै राजनीतिक पावर जुटाउन गरिएका षड्यन्त्रहरू हुन् । त्यसैले यो एकप्रकारको मानव समाजभित्रको दिर्घारोग बन्यो । त्यसैले सबै बिभेदका विरूद्धमा माक्र्सवादी दर्शन पैदा भयो ।
कार्ल माक्र्सले समाज र यो चराचर जगतको गहन अध्ययनपछि कमेरा वर्ग र कामचोर वर्ग अर्थात् शोषक र शोषित–पीडित वर्गलाई विभाजन गरेर मानव समाजलाई ऐतिहासिक रूपमा न्याय दिएका छन् । वर्ग विभाजन गर्नु संसारभरिका श्रमजीवीहरूका लागि साच्चै ऐतिहासिक आवश्यकता हो ।
अहिले धेरै बुद्धिजीवीहरूले कार्ल माक्र्सलाई धर्मविरोधी भन्छन् । उनीहरूले त्यो महान् दार्शनिकको आशयलाई अल्पज्ञानबाट मूल्याङ्कन गर्न पुग्छन् र अत्यधिक अन्याय गर्न पुग्छन् ।
किनकि उनिहरूले माक्र्सको भनाइलाई सही रूपमा बुझ्न नसकेको परिणाम हुनसक्छ वा कयौँले जानबुझेर पनि उनलाई बद्नाम गर्न अप्नाएको हतियार हुनसक्छ  । उनको भनाइलाई बुझ्न पहिले धर्मको परिभाषालाई बुझ्नुपर्दछ । आखिर धर्म भनेको के हो त? यस बारेमा गहन अध्ययन गरेर बुझ्न सकिन्छ । जबसम्म हामीले ‘धर्म भनेको के हो?’ भन्ने बारे बुझ्न सक्दैनौँ, तबसम्म हामीले कार्ल माक्र्सको उक्त “धर्म भनेको अफिमको नशा हो“ भन्ने भनाइबारे बुझ्न पनि सक्दैनौँ ।
कार्ल माक्र्सले जनताले भनेको धर्मको बारेमा भनेका छन् । जनताले धर्म भनेर केलाई मानेका हुन्छन्? उदाहरणका लागि पूजा, लक्षबत्ती बाल्नु, राम, कृष्ण लगायतलाई देवीदेवता मानेर पुज्नुलाई आजको समाजले धर्म गर्नु भन्छ । कुनै पनि मूर्तिको पूजा गर्नु, मन्दिरमा पूजा गर्नु आदि सामाजिक संस्कार हुन्, यी धर्म होइनन् । जनताले यिनैलाई धर्म ठानेर यिनैको आराधना, पूजाअर्चना गर्छन्, जो सबै कल्पनामा आधारित हुन् ।त्यसैले मानिसहरूले धर्मको परिभाषालाई बुझ्न नितान्त जरूरी छ ।
माक्र्सवादले यथार्थमा आधारित विषयवस्तुलाई सही ठान्छ । यी काल्पनिक चिजले मानिसलाई जसरी जकडिएको छ र उनीहरू जसरी त्यो भ्रममा परेका छन्, यही विषयलाई कार्ल माक्र्सले जनतामा घर जमाएको यही कुराबाट सजिलै मुक्त हुन सकिंदैन, बिस्तारै यस्ता विषयवस्तुहरू उदाङ्गिदै जानेछन् र मानिसहरू मुक्त हुँदै जानेछन् भनेर यसलाई ‘अफिमको नशा’ को संज्ञा दिएका हुन् । कुनै पनि लत एक प्रकारको नशा नै हो ।
हामीले देखिरहेका छौँ, खेतबारीमा काम गर्ने किसानले गरेको अन्नको बालीको उत्पादनबिना मानिसले पेट भर्न सक्दैनन् । त्यसकारण किसानले सबैभन्दा ठूलो धर्म गरेका हुन्छन्, किनकि उनीहरू प्रत्यक्ष खेतबारीमा आफूले परिश्रम गरेर अन्नको उत्पादन गरेका हुन् । मानिसहरू बाँच्नको लागि अन्नको पनि महत्त्वपूर्ण भूमिका हुन्छ ।
मानिसले आफूलाई चाहिएको वस्तु–चिज आफैले तयार पारेका हुन्छन् । कुनै पनि देवतालाई पुजेर मकै, धानलगायतका अन्नको उत्पादन हुँदैन । तर किसानले खेतबारीमा आफ्नो ताकत लगाए अन्न उत्पादन हुन सक्छ । कपास, रूख आदिबाट लुगा बनाएका हुन्छन् । मानिसले आफै बनाएका कृत्रिम अनुहारहरूबाट आफै भयभीत हुन पुग्छन् । त्यही उनीहरूको सबैभन्दा कमजोर पक्ष हो ।
मानिसभित्रको नकारात्मक पक्षबाट मानिस आफै अल्मल्ल परेको हुन्छ र भयभीत भएको हुन्छ । सकारात्मक पक्ष नै वास्तवमा जिउने कला हो । यही माक्र्सवादी दर्शन हो । जीवन र जगतको अध्ययन गर्दै सही र गलत छुट्ट्याउन सक्नु भनेकै विज्ञानसम्मत हुन्छ, त्यही माक्र्सवादी चिन्तन हो ।
त्यही सही र यथार्थ नै धर्म हो । माक्र्सवादले जति धर्म गरेको छ, त्यति धर्म कुनै धर्मका ठेकेदारले गर्न सकेका छैनन् । त्यसकारण माक्र्सवादलाई धर्मविरोधी आरोप लगाउनु नै साच्चै ऐतिहासिक गलती हो । वास्तवमा मानव समाजले धर्मको परिभाषा बुझ्नै पर्छ ।
समाजमा कसैको बलि चढाएपछि धर्म हुन्छ— त्यो पाप हो । हामीले समाजलाई बुझ्न आदिम राज्य व्यवस्थातर्फ जानुपर्छ । त्यो बेलाको मानिस सिकारी नै थिए । मानिसको एउटा बाध्यता के थियो भने उनीहरूले अन्न उत्पादन गर्न सकेका थिएनन् । कन्दमूल खाएर बसेका अनि सामूहिक सिकार मारेर खाने गर्दथे । त्यो बेलाको मानव समाज सिकारी नै थियो । त्यो अज्ञानी र आदिम युग थियो ।
विस्तारै धेरै परिवर्तन हुँदै आएको छ, तर पनि अँझ धेरै परिवर्तन परिमार्जन हुन बाँकी नै छ । अहिले वैज्ञानिक प्रवृत्तिले मानिसलाई अत्यन्तै सहज बनाएको छ, तर गरिबहरूको समस्यामा पनि वृद्धि हुँदै आएको छ । विज्ञानमा विकाससँगै विनाश पनि पाइन्छ । त्यो राज्यव्यवसस्थाले सन्तुलन गर्न नसक्दा भएको हो ।
तथापि अग्रगामी गतिलाई रोक्न खोज्नु ठीक हुँदैन । एकातिर विज्ञानले प्रविधिको विकास गरेको छ, अर्कोतर्फ मानिसको सामाजिक चेतनास्तर उठ्नुको सट्टा झनै नकारात्मक सोचको विकास भएको पाइन्छ । माक्र्सवादले रूढिवाद र पश्चिमको छाडा संस्कार दुवैको विरोध गर्छ । समाजमा आज जुन प्रकारको विचार पैदा भएको छ, त्यो हो— प्रगतिशीलताको नाउमा गलत धारणा । उदाहरणका लागि, एउटा पुरूषले गरेको उही कामको विरोध गर्दै उही काम महिलाले गर्यो भने त्यसको प्रगतिशील रूपमा प्रचार गरिन्छ, जसले गर्दा पश्चिमको छाडा प्रवृत्ति जन्म भएको छ । महिलाले दुइटा विवाह गरे पनि पुरूषले गरे पनि कुरा त एउटै हो । महिलाले किरिया गरे पनि पुरूषले गरे पनि त्यो त एउटै नै हो । तर महिलाले १३ दिन किरिया गर्यो भने त्यसलाई समाज, मिडिया आदिले खुब प्रगतिशील भनेर प्रचार गरेका हुन्छन् । किरिया भनेको त जसले गरे पनि किरिया नै हो । बरू यसबाट के फाइदा, के घाटा ? त्यसबारे बहस छैन । किन महिलाहरूलाई डाक्टर, वैज्ञानिक बनाउने तर्फ सोच्दैनन् ? उनीहरूलाई सम्पत्तिको भागीदार किन बनाउन सक्दैनन् ?
समानताको विषयलाई लिएर महिलाहरूमा छाडा संस्कारले घर जमाइसकेको छ । कुनै बेला माओवादी जनयुद्धका ताका जातीय मुक्तिका लागि बाहुनको घरमा दलितलाई घुसाउने गरिन्थ्यो, बाहुनको जनै चुँडाल्ने र टुप्पी काट्ने काम पनि गरियो । त्यो दबाबमा गरेको काम फत्ते हुनसकेन । 
कुनै बेला आवेशमा आएर “गोरूको मासु नखाने कम्युनिष्ट हुनसक्दैनन्“ भन्नेहरू पनि त हाम्रै समाजमा छन् । उनैले गाईको पूजा गरिरहेका छन्, गहुँत पिउँछन् । कम्युनिष्ट विचारधारा भनेको माक्र्सवादी–लेनिनवादी दर्शन हो । त्यो दर्शन भनेको वर्गसङ्घर्षमा आधारित छ, जसले तमाम रूढिवादको विरोध मात्र गर्दैन, भौतिकवादी धरातलमा उभिन सिकाउँछ । अभौतिकवादको विरोधमा भौतिकवादी विचारधारालाई व्यवहारमा उतारन लगाउँछ । हाम्रो समाज आफूलाई जति धार्मिक देखाउन खोजे पनि सिकारी र आदिवासी हो । समाजले आ–आफ्ना कुलकुलानीहरूलाई अझै पनि पशुको बलि दिएका हुन्छौँ । जनजातिहरूले रक्सी पनि चढाएका हुन्छन् । त्यस कारणले पनि हाम्रो नेपाली समाज एक प्रकारको सिकारी समाज हो । जतिसुकै धर्मका कुरा गरे पनि घर–घरमै प्रायजसो पाप गरिरहेका हुन्छौँ । देशमा अधिकांश पशुको मासु खानेहरू भेटिन्छन् । यद्यपि उनीहरूमध्येले पशुको पनि जात बनाएर ‘फलानो जातले फलानो पशु खाने’ भनेर तोकेका हुन्छन् । गाउँमा अझै पनि त्यस्तै छ । सुधारमा लामो समय लाग्ने छ ।
देशभित्र विकास हुन सकेको छैन, त्यसैले गर्दा पनि यो देशमा कम्तीमा कम्युनिष्ट क्रान्तिकारीको सरकार हुनुपर्छ । किनकि हाम्रो देशमा बहुसङ्ख्यक गरिब र श्रमजीवीहरू छौँ । देश आत्मनिर्भर हुन सकेको छैन । भौगोलिक रूपमा पनि समाजवादको खाँचो छ । दुवै शक्तिशाली देशको बीचमा देश छ र देशले आफूलाई सन्तुलित बनाएर राख्नुपर्छ । त्यसका लागि पनि हाम्रो देश तटस्थ र स्वतन्त्र भएर बाँचिरहन प्रयास गरिरहनुपर्ने छ । आमूलपरिवर्तन भनेर हुदैन, नियत हुनुपर्छ ।