धर्मरत्न श्रेष्ठ-
२४ वटा सुरक्षापोष्ट, त्यसमाथि एक्सरे मेसिनबाटै ढिक्काका ढिक्का सुन पास हुन्छ भने सुरक्षा प्रणाली कस्तो होला ? सामान्य जनले पनि भन्नसक्छ– बिना सेटिङ सम्भव नै छैन । त्यसो हो भने नेपाल प्रहरीको सुरक्षा एयरपोर्टमा फेल भयो ।
पछिल्लो घटनामा पक्राउ परे गोपालबहादुर शाही । उनले सीआइवीलाई बयान दिए– वर्षदिनमा ३ सय किलो सुन पास गरिसके । यसपटक धोका पाइयो अर्थात कसैले सुराक लगाइदियो, लेनदेन मिलेमतोको गाँठो फुस्कियो, एयरपोर्टबाट पास गरेर बाहिर ल्याइसकेको सुनलाई सीआइवीले पक्राउ गर्यो । अर्थात, जेलमा बसिरहेका बिकिनी किलर चाल्र्स शोभराज भन्थे– नेपालको एयरपोर्टबाट हात्ती पनि छिराउन सक्छु । शोभराजकै शेलीमा पक्राउ परेका गोपालबहादुर शाहीले भने– वर्षदिनमा पटक पटक सुन पास गरेकै हो, यसपटक फेल भइयो ।
पौष २१ गते ३३ किलो सुनसहित पक्राउ परेका हुन् शाही । शाही आफै मालिक होइनन्, उनले मालिक को हुन् पोल खोलेका छैनन् । भरियालाई समातेर प्रहरी सुनप्रकरणको पिँधसम्म पुग्न सक्दैन । अनुसन्धान जारी छ, पुग्ने आशा गरौं । स्रोत भन्छ– तस्करीको सुन भारत लानकै लागि ल्याइएको हो । यो प्रकरणमा केही भारतीय र नेपाली व्यापारीको पोल खुलेको छ । पुष्टि गर्ने प्रयास भइरहेछ ।
दुबईका कारोवारीसँग शाहीले सुन तस्करी गर्दै आएका रहेछन् । शाहीले सगौरव वयान दिएका छन्– ‘तपाईंहरू सुन तस्करीको शृंखलामा ११ औं पटकमा मलाई समात्न सफल हुनुभयो । यसपटक कुन्नी कसले गद्दारी गर्यो, पास भइसकेको सुन पक्राउ पर्यो । सुन तस्करीको ठूलै ग्याङ् हुनसक्ने प्रहरीको दावी छ ।
डीआइजी नवराज सिलवालले यो प्रकरणमा सुन व्यापारी, विमान स्थलका सुरक्षाकर्मी, भन्सार, राजस्व र गिरोहको मिलोमतो भएको अनुमान गर्न सकिन्छ । पूर्ण अनुसन्धान नभएसम्म अनुमान गर्ने हो । बिना सेटिङ तस्करी सम्भव चाहि छैन । यसमा ठूलै मिलोमतो छ । विस्तृत अनुसन्धान गरेर मात्रै सुन राजस्वलाई कारावाहीका लागि बुझाउँछौं ।’ गृहमन्त्रीले यो प्रकरणमा नरम रुख अपनाउनुलाई प्रहरीले समेत आश्चर्यजनक रुपमा लिएको छ । यो प्रकरणको पूरा छानबिन हुने हो र राजनीतिक दबाब नपर्ने हो भने भ्रष्टहरुका सुनौलो अनुहार देख्न सकिन्छ । भन्नलाई जोसुकै हुन्, कारवाहीको दायरामा ल्याउनु भन्ने आदेश दिइएको छ तर राजनीतिक दबाबले यो प्रकरण पनि यसअघिका सुन काण्डजस्तै फासफुस हुने देखिन्छ ।
अहिले २९ जना कर्मचारीजस्तै सुरक्षाकर्मीहरु पनि छानबिनको दायरामा पर्ने भएपछि भन्सारले राजस्वलाई, राजस्वले सुरक्षाकर्मीलाई दोष दिने होड चलेको छ ।
एयरपोर्टको सुरक्षा प्रणाली यसरी कमजोर देखिनु भनेको राष्ट्रियता कमजोर पार्ने षडयन्त्र पनि हुनसक्छ । सुरक्षा प्रणालीमै प्वाल परेपछि विदेशीले जेसुकै प्रश्न पनि उठाउन सक्छन् । यसकारण सुरक्षा प्रणालीमा पुनर्विचार गर्न जरुरी छ ।