Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

राजतन्त्र फर्कला कि नफर्कला ?

०३ सोमबार , माघ २०७३९ बर्ष अगाडि

शाश्वत शर्मा- 
पूर्वराजाको एकपछि अर्को वक्तव्यहरु आउँदैछन् । समसामयिक राजनीतिलाई ठाढो रुपमा व्यङ्ग र चुनौती एकसाथ दिदै आएका ती वक्तव्यहरु हेरेर, सुनेर र मनन गरेर पनि के बुझिन्छ भने, पूर्वराजा सन्तुष्ट छैनन्, असन्तुष्टि लिएर उनी अगाडि आउने तरखरमा छन् । उनलाई चिन्ता छ, देशको, उनलाई सुर्ता छ नेपाली जनताको । यो चिन्ता र सुर्ता सक्रिय नभई कसरी प्रष्ट होला र ?
देश नै नरहने हो कि ? भन्ने आशय उनको पछिल्लो पुस २७, पृथ्वी जयन्तीको अवसरमा दिएको वक्तव्यमा झल्किन्छ । राष्ट्रिय एकता खलबलिएको, नेपाली नेपालीका वीचमा द्वन्द्व बढाइएको, देशले अभिभावक नपाएको जस्ता अभिव्यक्तिहरु त उनको वक्तव्यबाट धेरैचोटी मुखरित भएकै हो । झन निषेधको राजनीति नगर्न र सबैलाई समेट्न गरिएको आग्रह त उनको वक्तव्यको एउटा हिस्सा हुँदै आएको छ ।... तर पनि, पूर्वराजाको वक्तव्य आयो कि एक दुई दिन तरङ्ग ल्याउँछ र शान्त हुनेगर्छ । निरन्तरता यस्तै देखिन्छ । यसपटक पनि असक्षम, असफल नेता, सरकार हल्लिए, थर्कमान भएका प्रधानमन्त्री प्रचण्ड र उनको नेतृत्वको नेपाल सरकारलाई हल्लाई दियो र कम्पन थामियो । थर्कमान भएका बेलामा तिनका मुखबाट पूर्वराजालाई कारवाही गर्नुपर्ने, थुन्नुपर्नेजस्ता सातो गएका धोत्रे आवाज पनि सुनियो । प्रधानमन्त्रीले त चुप लागेर नबसे अझ दु:ख पाउँछन् सम्म भनेर धम्क्याउने कामसमेत गरेको देखियो ।
राजतन्त्र चर्चामै छ । स्वयं पूर्वराजाले मैले राजदरवार छाडेको हुँ, जिम्मेवारी छाडेको छैन भनेपछि राजतन्त्र झन चर्चामा आएको छ । त्यसमाथि हिन्दुवादीहरुको अभियानले त राजतन्त्रलाई सँगसँगै चर्चामा ल्याएको छ । राजतन्त्रका सम्बन्धमा दुईथरि मत देखिन्छ । पहिलो पूर्वराजा र राजतन्त्रवादीहरुको विशेष सक्रियता र दोस्रो हिन्दुराष्ट्र हुनुपर्छ भन्नेहरुको घुमाउरो पारा । यी दुबैले राजतन्त्रलाई अहिलेसम्म जनतामा सम्झना राखिरहेको छ । राजनीतिक दलहरुको असफलताले त राजतन्त्रलाई त्यसै पनि सम्झना गराइरहेकै छ । राजतन्त्रका मिडियाबाजीले पनि राजतन्त्र जिवितै राखेको छ । गणतन्त्र कता कता हराइसक्यो ।
अव प्रष्ट भइसक्यो– धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र पार्टीका एजेन्डा र जनताको मन जित्ने विचारका कारणले आएकै होइन । नेपालीका थाप्लोमा लादिएका विषय हुन् यी । नेपालको सत्ता खुकुरीको बलमा चल्दै आएको इतिहास छ र अहिले पनि मसलतन्त्रले नेपाल सरकार चलाइरहेको छ । पूर्वराजा शान्ति, कानुनव्यवस्था, जनताको अपेक्षा र अकांक्षा भनेर चलिरहेका छन् । असल नागरिकमा र स्वाधीन तथा देशभक्त नेतृत्वमा हुनुपर्ने राजनेताको गुण सबै छ राजतन्त्रमा तर मसल शक्तिको कमीका कारण राजतन्त्र छायाँमा परेको छ ।
हुन त यो टाउको गन्ने व्यवस्था हो । पूर्वराजाले सडकमा हिडिदिने हो भने राजनीति गर्नै पर्दैन, त्यसै राजनीति हुन्छ र जनताको भीड जतिसुकै दलीय सरकार बने पनि थाम्न, नियन्त्रण गर्न सक्दैन । किन हो पूर्वराजा सडकमा निस्कनै चाहदैनन् । सभ्य र शान्तिपूर्ण भाषा राजनीतिक दलहरु बुझ्दैनन् । यही कमजोरीका कारण राजतन्त्र शक्ति त हो, विचार त हो, शक्तिशाली बन्न सकेन । यसरी राष्ट्रलाई असरल्ल पारिरहने, बिखण्डन र बिभाजनको बलीबेदीमा होम्न दिइरहने कि अर्थपूर्ण र जनशक्तिसहितको खबरदारी पनि गर्ने ? यही सवालको जवाफमा राजतन्त्र फर्कला कि नफर्कला भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।