धर्मरत्न श्रेष्ठ-
इन्टरपोलको २३औं एसिया क्षेत्रीय काठमाडौं सम्मेलन सम्पन्न भएको छ । यो सम्मेलनमा इन्टरपोलले योजना सार्वजनिक गरेको छ, योजनाअनुसार गैडाको सिंग तथा अन्य विभिन्न दुर्लभ जनावरको तस्करी गर्नेहरुलाई विशेष सतर्कता साथ निगरानी गरिनेछ । अपराधीहरुको जालो, ट्रान्जिट र तस्करी भएका जनावरका अङग पुग्ने गन्तव्यको पहिचान गर्नका लागि इन्टरपोलले विशेष योजना बनाएको हो । र, यो योजना नेपालबाटै सार्वजनिक हुनु भनेको नेपाल तस्करी र माफियातन्त्रको ट्रान्जिट प्वाइन्ट भइरहेको संकेत पनि हो ।
इन्टरपोलको वातावरणीय सुरक्षा कार्यक्रमले अन्य युनिटहरुलाइ समेत तस्करी रोक्नका लिग विशेष तालिम दिने योजना ल्याएको छ । वातावरणीय अपराधले भ्रस्टाचार, कालोधन र अवैध ढंगले हतियार ओसारपसारमा सम्बन्ध राख्ने गरेको इन्टरपोलको ठहर छ । इन्टरपोलका महासचिव जर्जेन स्टोकले यस योजना इन्टरपोलका मान्यताहरुमा आधारित रहेर लागु गरिने मात्र बताएनन्, योजनाको उपलव्धिको लेखाजोखा गरिने पनि बताए । उनले यो योजनामा खरो रुपमा काम गर्न सके वन्यजन्तु तस्करी हुने मुलुकहरुका लागि प्रभावकारी हुनसक्ने उनको दावी छ । नेपाल वन्यजन्तुको तस्करी हुने मुलुकमध्ये नै पर्छ । उनका अनुसार वन्यजन्तुहरुको संरक्षण गर्नु इन्टरपोलको मुख्य जिम्मेवारी हो । अन्तर्राष्ट्रिय कानुनको पालना हुनैपर्छ, यसका लागि चुनौती धेरै छन्, हामीले सबैखाले चुनौतीको सामना गरेर नतिजामुखी काम गर्नुपर्छ । इन्टरपोलको यो सम्मेलनबाट राजनीतिकरण भएको सुरक्षा निकायले कति बुझ्यो, त्यो हेर्न बाँकी नै छ ।
इन्टरपोलको यो सम्मेलनले ५ बुँदे घोषणापत्र जारी गरेर गत शुक्रवार सम्पन्न भएको हो । एसिया प्रशान्त क्षेत्रका लागि सन् २०१७ देखि २०२० सम्मको इन्टरपोलको रणनीति तय गर्ने । त्यसैगरी मानव बेचबिखन, बाल हिंसाजस्ता क्षेत्रमा संयुक्त कारबाही अगाडि बढाउने तथा एसियाली क्षेत्रमा सूचना संकलन र आदान प्रदानलाई अझ बढी प्रभावकारी बनाउने । आतंककारी संगठनको सम्बन्धमा विवरण संकलन, आदानप्रदान, आतंककारीको सम्पत्ति विवरण संकलन लगायतका विषयमा सहकार्य गर्दै प्रहरीलाई बलियो बनाउने । एसियाली क्षेत्रमा विद्युतीय अपराधविरुद्ध रणनीति तय गर्दै प्रहरीको सूचना तथा प्राविधिक ज्ञानको दायरा बढाउने फराकिलो पार्ने । अन्तरदेशीय वातावरणीय अपराध नियन्त्रण गर्ने तथा सोका लागि अन्तर्कृया, विवरण संकलन र आदानप्रदान गर्ने ।
घोषणापत्र जारी भयो । घोषणापत्रमा नेपालले प्रतिवद्धता पनि जनायो । तर प्रतिवद्धता पूरा गर्न राजनीतिक संरक्षणबाट हुने अपराधमा सुरक्षा निकायले फितलोपन देखाउने प्रवृत्ति नै नेपालमा अपराधको जरा बढ्नुको कारण हो । यसमा राजनीतिक पार्टीको हस्तक्षेप रोकिने र सुरक्षा निकायले स्वतन्त्रपूर्वक काम गर्न पाउने स्थिति जबसम्म बन्दैन, नेपालमा अपराधिकरणको जरा काट्न सकिनेछैन ।