रोशन कार्की -
हामीले साह्रै विश्वास गरेर मतदान गरीगरी बनाएका नेताहरु सरकारमा छन्, संसद र निर्णायक बनिरहेका छन् । तिनले गरेका निर्णय र चलाएको सरकार लोककल्याणकारी हुन नसक्नुको कारण के हो ? यो विषय यति गम्भीर बनिसकेको छ कि यसको कारण र निदान खोजिएन भने नेपाली नेता लेण्डुप दोर्जीको तहबाट माथि उठ्न सक्ने छैनन् भने नेपाली जनता हात मलेर र पछुताएर बस्नुपर्ने छ । किनभने हस्तक्षेप गर्ने बेला यही हो । जनता तमासा हेरेर बसेका छन् । जुन गलत छ ।
परिवर्तन चाहियो भनेर घरघरबाट सडकमा निस्कने जनता र जनअधिकारका लागि बोल्ने बुद्धिजीवी, अधिकारकर्मी सबेको मुख टालिएको अवस्था छ आज । शासन, प्रशासन, सत्ता, संसदमा जे भइरहेको छ, ती सबै देशविरोधी क्रियाकलाप हुन् । देशहितमा केही पनि भइरहेको छैन । जनहितमा त माखो पनि मरेको छैन । तैपनि आमनागरिक दल दलको पक्षधर भएर र चुपचाप बसेर देखान् देख्नु भनेको राष्ट्र गए जाओस्, पद्धति बिग्रे बिग्रोस, नेताहरुले भ्रष्टाचार गरे गरुन्, भागबण्डा गरेर देश सिध्याए सिध्याउन्, प्रशासकहरुले अनियमितता गरे गरुन् भन्ने अर्थ नै हो । क्रान्तिकारी परिवर्तनकारी जनता भित्रको देशभक्ति यसरी सुतारो बन्न सक्दैन, बन्नु हुँदैहुँदैन । जनता जति जागरुक भए, देश उति नै जिवन्त र जिउँदो रहनसक्छ । जनता यसैगरी सुते भने देश मर्छ, देश मर्नु हुन्न, देश जाग्नुपर्छ, देश अस्तित्वहीन हुनसक्दैन ।
त्यसैले लेण्डुप प्रवृत्ति उवालमा छ, लेण्डुप संस्कृति नेताहरुको मनमष्तिष्कमा छाप बस्न थालेको छ । विदेशभक्तिमा रमाउने लोकतान्त्रिक भनाउँदा नेताहरुलाई अव छुट दिनुहुन्न, तिनलाई नेपालीपन, नेपालीत्वमा रंगाउनैपर्छ । यो काम जनताले बाहेक अरु कसैले गर्न सक्दैन । जनता उठ्नैपर्छ, जाग्नैपर्छ, केही गर्नैपर्छ ।