Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

प्रजातन्त्र कि परेवा दिवस ?

०९ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ- 
    फागुन ७ : प्रजातन्त्र दिवास, प्रजातन्त्र दिवसजस्तो रहेछ । यो दिवस त परेवा दिवसमा सिमित हुनपुग्यो । सत्ताधारीले सेनाले समातेर ल्याएको सेता परेवा उडाउने, प्रधानमन्त्रीले भाषण गर्ने र स्कुले केटाकेटी र सुरक्षा निकायको कवाजमा सिमित हुनपुग्यो प्रजातन्त्र दिवस । संविधान दिवस, सहिद दिवस, लोकतन्त्र दिवस सबे यस्तै औपचारिकतामा सिमित भइसके । सत्ताधारी जमघट हुने अनि मातहतकालाई उर्दी जारी गराएर उपस्थिति गराउने दिवसको नाम प्रजातन्त्र, संविधान दिवस हुनपुगेको छ । यी दिवसहरुमा जनताको पटक्कै सहभागिता देखिदैन । किन ?
    केही मानिसहरु, बटुवा र फुर्सदिला, सडक पेटी व्यापारी र बस स्टपमा सवारी साधन कुरेकाहरुले टुँडिखेलको यो रमिता हेरे । बस, यही हो प्रजातन्त्र दिवस ?
    यस्तै हुन्छ प्रजातन्त्र दिवस । सहिदहरुले ज्यान अर्पण गरेर जोगाएको सम्झना राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापतिहरुले सेता परेवा उडाउने र प्रधानमन्त्रीले प्रजातन्त्रको सम्झना गर्दैमा प्रजातन्त्र दिवस हुन्छ ?
    राणा शासनको अन्त्यको सम्झना हो फागुन ७ । ६७औं प्रजातन्त्र दिवस त राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानन्यायाधीश सुशीला कार्कीलगायत मन्त्रीगण, संवैधानिक नियोगका प्रमुख एवम् कूटनीतिक नियोगका प्रमुखको उपस्थिति र भाषणवाजीमात्र भयो । जनताको सहभागिता देखिएन । निरंकूशताको अन्त्य भनेको नयाँ निरंकूशताको सुरुआतजस्तो पो देखियो प्रजातन्त्र दिवसको दिन त ।
    प्रजातन्त्र दिवसका दिन निर्वाचन अनिवार्य भनेर भाषण ठोके प्रधानमन्त्रीले । ँसंविधानसभाले जारी गरेको संविधानको कार्यान्वयनका लागि चुनाव अनिवार्य छ, शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगी राजनीतिक सङ्क्रमणको एउटा महत्वपूर्ण अध्याय समाप्त हुन्छ भन्ने कुरामा सरकार गम्भीर र सचेत छ । प्रधानमन्त्रीको कथन यही हो । कहाँ छ प्रजाका लागि तन्त्र ? तन्त्र र पद्धति जे छ, राजनीतिक दलहरुवीच भागबण्डामा गइसक्यो । प्रजाका भागमा दु:ख छ, कष्ट, पीडा र छटपटी छ । अन्याय र विभेदमात्र छ । यस्तो विभेद प्रजातन्त्र कसरी हुनसक्छ ? मानव अधिकार, शक्तिको पृथकीकरण, कानुनी शासनजस्ता लोकतन्त्रका आधारभूत मूल्य कायम छ भनेर कसरी भन्ने, कसरी मान्ने ? त्यसकारण यो प्रजातन्त्र दिवस होइन, परेवा दिवस हो भन्दा हुन्छ ।