Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

प्रजातन्त्रमा त यो हुन्छ, लोकतन्त्रमा नि ?

०९ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की - 
किसानले खेतमा, मजदूरले कार्यस्थलमा, पैदलयात्रीले सडकमा, सेवाग्राहीले प्रशासनिक निकायमा, पिडितले न्यायालयमा, उपभोक्ताले बजारमा, उद्यमी, व्यवसायीले आफ्नो कर्मक्षेत्रमा, स्वास्थ्यकर्मी, शिक्षक, कानुन व्यवसायी एवं पत्रकारले आफ्नो पेशा व्यवसायमा, सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, विद्यार्थीले विद्यालयमा, युवाले राष्ट्र निर्माणमा र नारीले पाइला पाइलामा सुखानुभुति गर्नु नै प्रजातन्त्र हो । यो श्रीपेच बुझाएका राजाको प्रजातन्त्र बुझाई हो । यसमा छिद्रान्वेशीहरुले खोइरो खन्न सक्ने ठाउँ भने छ । किनभने यो बोलीले नै मख्ख पार्न शैली पुर्‍याएर भनिएको हैन । यो त शाहवंंशको जनतासँगको सम्वन्धको मन्त्र हो ।
शाहवंश लोकसम्मति अनुसार चल्ने भन्ने कुरा केवल भन्नका निमित्त मात्र भनिएको हैन । यो कुरा बडामहाराजादेखि ज्ञानेन्द्रसम्मले व्यवहार मै उतारेका छन् । विराज वखेतीको साटो कालुपाण्डे जनताको रोजाई थियो । आफुले मन पराएको रोज्न नपाएको भनेर व्यवहारमा केही फरक नभएको मात्र हैन सकृय सहयोग पनि लिए । त्यस्तै जनताले भनेको भनेर श्रीपेच र राजदण्ड बुझाउँदा सिंहाशन समेत बुझाई राजाबाट पूर्वराजा बन्दा कुनै किसिमको लोभ देखिएन । करिव दशकसम्म जनतालाई सुख होस् भनेर यो गणतन्त्रलाई सबैभन्दा धेरै उनैले साथ दिए । जे बोले जनताको निमित्त बोले, जे गरे जनताको निमित्त गरे ।
आफ्ना बाबुले मात्र ११ बर्षमा मध्ययुगीन आधुनिक नेपाल बनाएको देखेका हुन् । तर दश बर्षसम्म पनि जनताको जीवनस्तरमा कुनै सुधारको त के कुरा सुधारको संकेतसम्म नदेख्दा पक्कै पिडा भएको छ । त्यही पिडाको अनुभुति विगत केही समयदेखि देखिन थालेको छ । जनताको जीवनस्तर खस्कदै जाने र राजनीतिमा लागेका वा राजनीतिको चाकरी गर्नेहरुको भने अपूर्व उन्नति हुँदै जाने क्रम देखिदैछ । राजा महेन्द्रले सबै देशवासी समान हुन् भन्ने सोच राखेर काम गरे । तर अहिले नेपाली मूलत: तीन वर्गमा विभाजित भएका छन् । यो विभाजन गर्ने रेखा हैन, चौडा खाडल हुँदैछ ।
पहिलो वर्गमा दलका उच्च र मध्यम नेताहरु छन् । यस्ताको सयरको निमित्त सुरक्षाकर्मीको भिड सहितको वातानुकुलित सवारी मात्र हैन राजश्वको खर्चले हेलिकप्टर सम्म छन । देखाउने सम्पत्ति छैन भने पनि जीवनशैली विश्वक धनाढ्यले पनि ईश्र्या गर्ने प्रकारको छ । दोश्रो वर्गमा पहिलो वर्गकाहरुको सहारामा उच्च जीवनशैली बनाउन सफलहरु छन् । यिनीहरुले आफ्नो क्षमता वा योग्यताले पाएको जीवन शैली हैन । पहिलो वर्गकाले आपसमा भागवण्डा गरेर लिएको हड्डीमा पाएका हुन् । वुद्धिजीवि, उच्चपद, सामाजिक प्रतिष्ठा सबैमा आफु फलाना दलको कोटाको भनेर गर्व गर्ने बुख्याँचा हुन् । 
तेश्रो वर्गमा ती छन्, जो योग्यता क्षमता भएर पनि, काम गर्ने जाँगर र तागत भएकाहरु छन् । तर उनीहरुको त्यो क्षमता आधापेट खाएर, आधा आङ्ग लगाएर राजश्व भर्न मात्र प्रयोग हुन्छ । विदेशमा दाशसरी खट्न र त्यहाँ त्यसरी कमाएको पैसाले पार्टीको लेभी तिर्न विवश छन् । कतिपय अवस्थामा पशुतुल्य जीवनयापन गरेर फेरी नेताहरुको सुखसुविधाको निमित्त विदेशिने गरेर रेमिट्यान्स पठाउँछन् । यो देख्दा शाहवंशका उत्तराधिकारीलाई छटपटी हुनु स्वभाविक नै हो । अहिले देखिन लागेको त्यही छटपटी हो ।
निरंकुश नाम दिएकाको प्रजातन्त्रको स्पष्ट खाका आई सकेको छ । अव मुखले हमेशा जनता भज्ने नेताहरुको लोकतन्त्रको खाका कस्तो छ, आउनु पर्ने हैन र ? गणतन्त्र भन्ने कस्तो हुन्छ देखाउने कहिले हो ? एक स्ववियु निर्वाचनसम्म गर्न आन्दोलन नभई नसक्नेहरुको परिभाषामा जनताले कहाँ स्थान पाउछन् थाहा पाए नेपाली जनता कृतार्थ हुने थिए । यिनले जनताका नाममा, जनताकै टाउकोमाथि घिरिङ खेलिरहने कहिलेसम्म हो ?