रोशन कार्की -
वाह नेपाल, नेपालको शासन, लोकतन्त्रमा चोर्न पाउनुपर्छ भन्ने नारा लाग्छ, जुलुस निस्कन्छ र सरकार तिनको हड्ताल रोक्न समर्थन गर्छ ।
टेक्सीमा प्रिन्टर जोड्ने नीति आयो, टेक्सीले टेर्दै टेरेनन् । टेक्सीवालाहरुले मनलागी भाडा असुल गर्न पाउनुपर्छ भनिरहे, सरकार सुनिरह्यो ।
बिजुली चोरहरु नेपाल विद्युत प्राधिकरणमा जागीर खाइरहे र विजुली चोरेर बेचिरहे । यता तलव, उता कमिशन । तिनीहरुको पोल खुल्यो, तर सरकारले तिनलाई छुनसमेत सकेको छैन । चोरको ठूलो स्वर सुनिएकै छ ।
अव नेपालको कुवेत अर्थात नेपाल आयल निगमले टेंकरहरुलाई पेट्रोलियम पदार्थ ढुवानी गर्दा कम भयो भने त्यसको डबल दस्तुर तिर्नुपर्छ भन्दा टेंकरवालाहरुले चोर्न पाउनुपर्छ भनेर टेंकरबाट तेल ल्याउन बन्द गरिदिदा अहिले पनि राजधानीमा तेलको आपूर्तिमा असहजता देखिएकै छ । नेपाल आयल निगमले एउटा टेंकरमा तेल ढुवानी गर्दा २ सय लिटरभन्दा कम देखियो भने दोब्बर मूल्य र जरिवाना तिर्नुपर्छ भन्ने व्यवस्था ल्यायो, लागू हुनसकेन । पेट्रोलियम ढुवानी संघका तालुकवालाहरु भन्छन्– दोब्बर तिर्दैनौं, जरिवाना लिन पाइदैन ।
अहिलेसम्मको प्रचलन छ, तेलको हाहाकार भएका बेलामा बिच बाटोमै तेल चोर्ने, बेचिदिने र मुनाफा कमाउने । अनि ढुवानी गर्दा तेल निकाल्ने र मिसावट गरिदिने, चुहियो होला भनेर पन्छिने । त्यसैले त आयल निगम घाटामा जान्छ, टेंकरवाला, पम्पवाला मालामाल हुन्छन् । यसको रहस्य भनेकै चोरी र उपभोक्तालाई कम तेल दिएर भ्रष्टाचार गर्नु । आयल निगमका हाकिमहरु पनि कमाइरहेका छन्, संस्था घाटामा जाने अथवा मुनाफा भएमा त्यसमा पनि तरमार्ने ।
कस्तो देश हो यो, कस्तो लोकतन्त्र आएछ यो, चोरहरुको बिगबिगी छ । निजामतीदेखि सुरक्षा निकायसम्म व्यापारमा लागेका छन् र राष्ट्रसेवकहरु कमाइरहेका छन् । तलव पनि खाने, भ्रष्टाचार र चोर्न पाउनुपर्छ पनि भन्ने । यही हो कूशासनको जरो भनेको । इमान्दारिता साह्रै कम देखिन्छ । बेइमानीको बोलवाला जताततै छ । बेइमानीको खिया लागेर देशको बेहाल हुँदैछ, कसले सोच्ने ?