Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

जनता जाग्ने बेला हो यो

२३ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की - जनता जनार्दन हुन भन्ने कुरा आजकल भट्याउने मात्र भएको छ । जनतालाई राम्रो मुख गरेर कसरी दास बनाउन सकिन्छ यो कौशललाई नै राजनैतिक कुशलता मान्ने गलत प्रचलन चलेको छ । अझ कुनै निर्वाचनको वेलामा त जनताहरुलाई आफ्नो खोरको भेडा बाख्रा सरह व्यवहार गर्ने गरिन्छ । कुन विवशताले हो जनता आफ्नो यो चरम अपमानको घुट्कोलाई कुनै स्वादिष्ट पेय जस्तो पिउने गर्दछ । एक्काईसौं शताब्दिका चेतनशिल जनताको पगरी भिराईएका जनता भने आफ्ना प्रतिनिधि भनिने नेता छान्न आफ्नो विवेक हैन कसैको खटनमा चलेको छनक दिन्छन । यो नेपालको मात्र कथा हैन दक्षिण एसियाका प्राय: सबै मुलुकहरुको साझा कथा हो जुन मुलुकहरुमा चुनाव गरेर आफ्ना मालिकहरु चुनिने गर्दछ । जनताको आफ्नो शक्तिलाई नचिन्ने प्रवृतिले राजनीति पेशा भएका दलका महन्तहरु जनतालाई आफ्नो दास नै ठान्छन र यो कुरा भन्न आफ्नो गौरव ठान्छन । 
सम्पुर्ण नेपाल सबै नेपालीहरुको सम्पत्ती हो । नेपालको हरेक कुरा कुना कन्दरा सबैमा हरेक नेपालीको अधिकार लाग्छ र लाग्न रोकिएको छ भने त्यो रोक्ने अपराधी हो । यो सत्य जनताले बुझे भने कुनै एक स्थानको कुनै एक चल्तापुर्जालाई थर्काएर, फकाएर, किनेर त्यस स्थानका सबै बासिन्दाको मत हत्याउन सकिन्न, हरेक व्यक्तिले आफ्नो विवेक प्रयोग गर्न थाल्यो भने आफ्नो राजनैतिक पसल चल्दैन । त्यसैले जसरी हुन्छ जनतालाई भ्रममा पारेर सम्पुर्णमा दावा गर्नबाट रोकेर सानो स्थानमा नै सिमित पार्ने अभ्यास गरिएको छ । आफ्नो जात, समुदाय वा सम्प्रदायमा सानो सानो समुह बनाई मुलधारबाट टुक्र्याउन सफल भएका कारणले नै कोही निश्चित समुहलाई आफ्नो सम्पत्ती ठान्छ । त्यो समुहको कुनै चल्तापुर्जालाई आफ्नो प्रभावमा लिएमा आफ्नो दुनो सोझिन्छ , जनता भने आफु एकको हातबाट अर्काको हातमा बेचिएको पत्तै पाउन्न ।
दलको साझो गर्दा दुई पटक पद र गोपनियताको शपथ लिन बाध्य पूर्व उपराष्ट्रपतिले समेत नेपालमा चलिरहेको दलिय जमिन्दारी पचाउन सकेका थिएनन । नेपालमा तीन दलले जे गर्‍यो त्यो हुने, राष्ट्रपति, आफु तथा प्रणालीका हरेक अंग उनीहरु कै मर्जीमा चल्ने भनेर लाचारी व्यक्त गरेका हैनन । बरु यो अबसर हो जनता अब जाग र आफुलाई भेडा बाख्रा सरह व्यवहार गर्नेको उछित्तो काढ भनेको हो । स्थानिय निर्वाचनले नेपाली जनताको भाग्य रेखा कोर्नु पर्छ । दलको हैन आफ्नो प्रतिनिधि रोज्नु पर्छ । अनि मात्र खाडी मुलुकमा गएर रगत पसिना बगाउन बाध्य पारिएका नेपाली पौरखी पाखुरीले स्वदेशमा बस्न पाउने वातावरण बन्छ । कोरिया जान भाषा परिक्षाको लाममा अधिल्लो दिनदेखि भोकै प्यासै बस्न विवश हुनुपर्दैन ।
ठयो निर्वाचन भए पनि वा नभए पनि अब नेपाली जनता जाग्नु पर्छ । पहाडे मधिसे भएर हैन, मतवाली तागाधारी भएर हैन नेपाली भएर जाग्नु पर्छ र आफु माथि जमिन्दारी जमाउनेहरुको साम्राज्य समाप्त पार्नु पर्छ । कोही दलित रहनु हुन्न, दलित शव्दलाई अब इतिहास पार्नु पर्छ, कोही पिछडिएको रहनु हुन्न, सबैलाई अगाडी ल्याउनु पर्छ । यो काम नेपाली भएरमात्र गर्न सकिन्छ, यसका निमित्त मुलुक माथि हैकम चलाउने नव अधिनायकहरुको समाप्ती गर्नुपर्छ । यसका निमित्त बन्दुक उठाउन आवश्यक छैन, लाठी वर्साउनु पर्दैन । निर्वाचन भएमा आफ्नो मत केवल आफ्नो विवेकको आदेशमा दिए पुग्छ  । निर्वाचन नभएमा पनि तिमीहरुको हैकम अव हामी मान्न तैयार छैनौ भन्ने सन्देश आफ्नो क्षमता अनुसार सिधै वा परोक्षरुपमा दिए पुग्छ । मानसिक दासता छोडेर जनता जाग्ने वेला हो यो, भोली आफ्ना नाती पनातीले आफ्नो नाम लिदा गौरव गरुन भन्ने सोच्ने वेला हो ।