उल्फाको धनले फुपुको श्राद्ध। राष्ट्रपति डा. रामवरण यादवको दिनचर्या यस्तै देखिदैछ। राष्ट्रपतिले चुरे बचाउ अभियानका लागि विशेष कार्यक्रम अघि सारे, राज्यले बजेट पनि दिइरहेको छ। तर चुरेको अतिक्रमण र दोहन रोकिएन, चुरे मरुभूमि बन्ने खतरा बढ्दै गएको छ। यिनै राष्ट्रपतिले फागुन 'रोगले भोलि भन्दैन, चर्पी आफै बन्दैन' भन्ने नारासहित इलामबाट सुरु गरिएको खुला दिसामुक्त अभियानमा ३ करोड खर्च भइसक्यो, उपलव्धि केही भएन। राष्ट्रपति यस्तै कार्यक्रममा २८ लाख खर्चेर सहभागी हुन लालायित देखिए। राष्ट्रपति, सरकार र लोकतन्त्र बिस्तारै हावादारी साबित हुनथालेका छन्। लोकतन्त्रको गरिमा र महिमा, संस्कार र संस्कृतिको दिनदिनै अपमान, क्षयीकरण भइरहेको छ।
फागुन १४ गतेको कार्यक्रम तय भएको छ इलाममा। त्यहाँ पञ्चभेलाको झल्को दिने खालको वातावरण हुनेछ र इलामका ६३ हजार घरधुरी सबैको शौचालय बनिसकेको प्रगति विवरण सुनाइने छ। राष्ट्रपति त्यही पत्याएर फर्कनेछन्। इलामवासी नै भन्छन्: ३ नगर, ४३ गाविसका आधा जनसंख्या शौचालयविहीन छन्। तर राज्यकोषको व्यापक खर्च गरेर 'इलामको फाल्गुन १४ गते भाषण लिलाम' हुने निश्चित छ। यसैमा नेतालाई मजा छ। चेतनाको कमी छ, पानीको हाहाकार छ, व्यवस्थित बसोबास छैन। कसरी हुन्छ: इलाम खुला दिशामुक्त जिल्ला? इलामको विकासका लागि गएको बजेट कटौती गरेर शौचालयमा खर्च त गरियो तर सिङ्गो जिल्ला दिशामुक्त हुनसकेको छैन। अभियान राम्रो होला, जवसम्म चेतना र पानीको बन्दोबस्त गरिदैन, यस्ता अभियान ठोस रुपमा उपलव्धिमूलक हुनसक्देन, विज्ञहरु भन्छन्। स्रोत नभएपछि पानी र बानी कसरी सुधि्रन्छ र? स्वयम जिविसका अधिकारीहरु भन्छन्: निरन्तर बजेट आउनुपर्छ, पानी र चेतना सहज पार्नुपर्छ अन्यथा अभियान सफल हुनसक्दैन। असफल हुने कार्यक्रममा राष्ट्रपति जान किन आतुर छन्? राष्ट्रपति जाँदा २८ लाखभन्दा बढी खर्च हुन्छ। खर्चको पर्वाह नगर्ने राष्ट्रपतिको यो कार्यक्रमलाई उल्फाको धनले फुपुको श्राद्ध भन्न थालिएको छ। इलाममा प्रचार भइरहेको छ: राष्ट्रप्रमुख आउने भएकाले यो इलामको गर्व हो। बजेट उडाउने कार्यक्रम पनि गर्व हुनेरहेछ। लोकतन्त्रमा पनि पञ्चेपारा भनेको यही हो। विकास कार्यक्रम होइन, व्यक्ति आउँदा खुशीयाली?