धर्मरत्न श्रेष्ठ
आइलेण्डबाट साँढे तीन अर्व नेपाल आयो। कुन उद्योगका लागि, कसले पठायो, अजय सुमार्गीकै नाममा आएको हो होइन, प्रष्ट छैन। तर संसदको अर्थ समितिमा गभर्नर युवराज खतिवडाले पैसा आएको हो, कानुन मिचेर आएकोले रोक्का राखिएको छ
भन्ने जवाफ त दिए तर त्यो रकम कतै आतंककारी गतिविधिका लागि आएको त होइन? भन्ने जिज्ञासा मेटाउन सकेनन्। र, स्वीस वैंकमा ५ अर्व जम्मा गर्ने को को हुन्, यस सम्बन्धमा पनि अर्थ समितिले छानबिन गर्न सरकारलाई निर्देश दिएको छ।
सरसर्ती हेर्दा सुमार्गीको नाममा आएको साँढे तीन अर्व र स्वीस वैंकमा जम्मा गरिएको ५ अर्व दुबै रकम कालो धन भएकोमा शंका छैन। कालो धनलाई सेता पार्ने र यसमा पनि भागशान्ति जय नेपाल गर्ने षडयन्त्र भइरहेको खबर सार्वजनिक भइरहेका
छन्।
२ हजार घरभाडामा दिएकासँग १० प्रतिशत कर उठ्ती भयो भनेर भनेर कडिकडाउ गर्ने अर्थ मन्त्री डा.रामशरण महत समेत सुमार्गीसँगै मिलेर उनलाई यति गम्भीर अर्थनीति उल्लंघन गरेकोमा पनि अहिलेसम्म छुट दिइरहेका छन्। र, कसैको नामै
उल्लेख नगरी नेपाल आएको रकम सुमार्गीकै हो भनेर प्रमाणित गर्ने मौका दिइरहेका छन्। अझै अर्थमन्त्री र गभर्नरले सोध्न सकेका छैनन्– त्यो रकम कसरी, कुन उद्देश्यका लागि आयो? त्यसरी पैसा ल्याउन नेपाल सरकारसँग लिनुपर्ने अनुमति किन
लिइएन? सुमार्गी मौन छन् र सरकार सुमार्गीलाई अपराधिक गतिविधि गर्नका लागि अत्यधिक छुट दिइरहेका छन्।
स्वीस वैंकमा रहेको रहम वैध वा अवैध के हो? यसबारेमा सरकारलाई संसदले निर्देश गरे पनि सरकार यसतिर एक कदम अघि बढेको छैन। रोक्का रहेको साँढे ३ अर्वका सम्बन्धमा पनि शक्तिशाली पार्टीको प्रभावमा रहने कुनै पनि व्यक्तिले यसरी
विशेष छुट खुलारुपमै पाएको यो पहिलो अवसर हो। आर्थिक अराजकता किन बढिरहेको छ? यो दुवै प्रकरणले स्पष्ट पारेको छ। अर्थविदहरु भनिरहेका छन्– वैदेशिक रोजगारमा गएकाबाट पर्याप्त रेमिटान्स भित्रिरहेको छ। तर, उद्यमी,
व्यापारीहरुले वैंकबाट ऋण उठाएरसमेत विदेशमा लगानी बढाइरहेका छन्। नेपाली स्रोतको यसरी विदेश पलायन बढिरहेको तथ्यसँग राष्ट्रवैंक अवगत छ तर रोक्ने साहस देखिदैन। यसबाट के स्पष्ट हुन्छ भने नेपालको अर्थतन्त्र माफिया, तस्कर र
उद्यम, व्यापार आवरणका राष्ट्रघातीहरुको हातमा पुगिसकेको छ। स्वीस वैंकमा रहेको रकम सेता, कालो के हो र कस कसको नाममा छ भन्ने खुल्न सक्यो भने त्यसले राजनीतिलाई नै यू टर्न गराइदिनसक्छ। भनिन्छ, नेपाली शासक, प्रशासक,
राजनीतिक नेताहरुले ठूलो धनराशी विदेशमा लुकाएका छन्। स्वीस वैंकमा मात्र होइन, भारत, सिंगापुर, हङ्कङ, थाइलेण्डमा पनि पैसा लुकाएका छन्। एउटा छुट्टै शक्तिशाली निकाय बनाएर अनुसन्धान गराउने हो भने कालोधनको घ्याम्पो नै प्राप्त
हुनसक्छ, जसले नेपाललाई लगानी बढाउने क्षमता प्राप्त हुनसक्नेछ।