Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

चुनाव भाँड्नेलाई गोली हान्ने आदेश

१८ सोमबार , मंसिर २०७४८ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ -
देशव्यापी रुपमा बम बिस्फोटका घटना बढ्दै गएपछि सुरक्षाकर्मीले निर्वाचन भाँड्नेमाथि गोली हान्ने अधिकार पाएका छन् ।
पक्राउ गर्ने, कानुनी कारवाही गर्नु एउटा कुरा, गोली नै ठोक्ने आदेश दिनुले निर्वाचनप्रति असन्तुष्ट पक्षलाई बुझाउन नसकिएको र असन्तुष्ट पक्ष पनि अतिवादमा उत्रिएका राजनीतिक द्वन्द्वको अवस्था हो । यस्तो विवादले निर्वाचनको महत्व, गरिमा र महिमालाई न्यूनिकरण गरेको पाइन्छ । यद्यपि निर्वाचन यति महगो साबित हुँदैछ कि निर्वाचन लड्नेहरु नै यति महगो निर्वाचन धान्न मुस्किल छ, यस्तो निर्वाचन प्रणाली टिक्न गाह्रो छ भनेर प्रतिक्रिया दिएको सुन्न सकिन्छ ।
गृह सचिव मोहनकृष्ण सापकोटाले नै उमेदवार लक्षित बिस्फोटहरु नेकपा माओवादी नेत्रविक्रम चन्द विप्लव समूहको संलग्नतामा भएको बताएका छन् । गृह सचिवका अनुसार ‘सो पार्टीले चुनाव बिथोल्ने घोषणा गरेको छ र विस्फोटका घटनामा पनि त्यही दल दोषी छ भन्ने हाम्रो निष्कर्ष छ । आफ्नो संलग्नता छैन भनेर विज्ञप्ति ननिकाल्नुले पनि विप्लवको संलग्नता पुष्टि हुन्छ ।’
पहिलो चरणको निर्वाचन सम्पन्नतापछि पर्सी २१ गते हुने दोश्रो चरणको निर्वाचनको सुरक्षा अझ मजबुत पारिएको जानकारी दिदै गृह सचिवले नयाँ सुरक्षा रणनीति लागू भइसकेको र निर्वाचनविरुद्धका घटना रोक्न निर्वाचन भाँड्नेलाई गोलीसम्म हान्न सक्ने अधिकार दिएको बताएका छन् । सुरक्षा निकायलाई थप आक्रामक रूपमा प्रस्तुत हुन निर्देशन दिएको गृहसचिव मोहनकृष्ण सापकोटाले बताए । मन्त्रालयले १६ गते शनिबार पत्रकार सम्मेलन गरी विस्फोटबका घटना अब पूर्ण रूपमा नियन्त्रणमा आउने विश्वास पनि व्यक्त गरेका छन् ।
यद्यपि आस्थाका आधारमा धरपकड किन भइरहेको छ ? १२ पत्रकार, साहित्यकार, माष्टरलाई समेत पक्राउ गरिएको छ । एउटा पत्रकारले आस्थाकै कारण लेखेको भरमा निर्वाचन भाँड्न सक्छ भनेर कसरी सरकार तर्सिएको ? आस्थाका आधारमा पक्राउ गरेर थुन्दैमा उसको आस्था बदलिन्छ अथवा निर्वाचनप्रति अविश्वास गर्दैमा निर्वाचन भाँडिन्छ भनेर सोच्नु पनि गलत हो । संविधानले नै मौलिक हक दिएको छ भने निर्वाचनप्रति अविश्वास गर्ने अधिकारलाई सरकारले हनन गर्न खोज्न पनि गलत हो । निश्चय नै निर्वाचन भाँड्न हुन्न, भाँडिनु पनि हुन्न । तर भोट हाल्दिन अथवा निर्वाचनले राष्ट्रिय समस्याहरु समाधान गर्न सक्दैन भन्नुलाई निर्वाचन भाँडेको अर्थमा लिनु संकुचित सोच हो । निर्वाचनले शान्ति, प्रगति र जनताका अपेक्षा पूरा गर्न सक्छ भनेर विश्वास दिलाउने जिम्मेवारी तमाम निर्वाचनमा संलग्न पार्टी र नेताहरुको हो । आफू विश्वास दिलाउन नसक्ने, आस्थाका आधारमा कसैलाई धरपकट गर्ने कार्य आफैमा आलोच्य छ, आलोच्य हुनु पनि पर्छ ।
बिस्फोट नै गरेर समाजमा अशान्ति फैलाउनेलाई नियन्त्रण गर्नु पर्छ, शान्ति व्यवस्था खलबलिन दिनुहुन्न । यसो भन्दैमा शंकाको भरमा गोली हान्ने आदेश पाउनेले अधिकारको दुरुपयोग गरिदियो भने अराजकता फैलिनसक्छ, यसतिर पनि अधिकार दिने र पाउनेको गम्भीरता जरुरी छ । गोलीले ढडेलो नसल्कियोस् ।