अब पूर्वराजाले 'माँग्ने' होइन अथवा 'पुराना वाचा बन्धन'हरु सम्झाएर 'रुवावासी' गर्ने होइन कि, आफ्नो पनि 'अधिकार' भएको देखाएर 'हक' लिनका लागि 'मैदान' मा आउने हो। आजभोलि पूर्वराजाका अधिकांश समर्थकहरु यसो भन्न थालेका छन्। हुन पनि, राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतलाई 'भीड' देखाउनु पर्ने... अनि मात्र विश्वास हुने हो भने अव पनि किन चुपचाप बसिरहने? बुझियो, जानियो कि 'किस्ती'मा 'सजाएर' यहाँ कसैले केही पनि पाउमा 'टक्य्राउन' आउँदैन भन्ने कुरा। त, फेरि यो पखाई केका लागि? अघि (०६२–६३) मा 'भीड' (त्यो पनि किनिएको) देखाएरै राजतन्त्रलाई अवैधानिक रुपमा समाप्त पारिएको थियो भने अव त राजतन्त्रका 'समर्थक'हरु स्वतःस्फूर्त भावले, बिना कुनै लोभलालच राजतन्त्रका लागि 'मैदान'मा उत्रन तैयार छन् भने फेरि किन पहिलेको सहमति, सम्झौता सम्झना गराएर यो अरण्यरोदन निकालिरहनु पर्यो? अव किन सार्वजनिक रुपमा 'आह्वान नगर्ने? हेरौं न, 'कसमा कत्तिको दम' छ भनेर? एकथरि राजतन्त्रवादीको विचारमा अव धेरै अबेर गर्नुहुन्न। किनभने नयाँ पुस्ताको मानसपटलबाट शाहवंशीय राजतन्त्रले नेपाल र नेपालीहरुका लागि गरेको बलिदान, दिएको योगदानहरु पुरै 'हट्नु' भन्दा अगावै पूर्वराजाले धरातलीय यथार्थका साथ 'एक्शन'मा आउनु जरुरी छ। राजतन्त्र एकादेशको कथा बन्नुभन्दा अगावै यी असफल दल अनि ती असक्षम नेताहरुले गरेका राष्ट्रघात, भ्रष्टाचारको कच्चाचिठ्ठा त खोल्नु पर्छ, पर्छ। त्योभन्दा पनि रसातलमा पुगिसकेको मुलुक, जसलाई पूर्वराजाका पुर्खाले आर्जेका थिए, लाई बचाउन पनि अव देखिने गरी फूल मोसनका साथ पूर्वराजा 'एक्शन'मा जान जरुरी भइसकेको छ। यही हो मुलुकको आवश्यकता पनि।
आज हरेक विश्लेषणहरु, खबरहरु, अनि विवेचनाहरुमा राजतन्त्रवादीहरु कमजोर रहेकाले अन्तर्राष्ट्रिय जगत खासगरी दक्षिण र उत्तरका छिमेकीहरु पनि 'गणतन्त्र' लाई नै संस्थागतगर्नतिर लागेको भन्ने (हावादारी) विश्लेषण पढ्न सकिन्छ। अव बताइदिउँ कि यहाँ राजतन्त्र र यसका समर्थकहरु कमजोर छैनन् भन्ने कुरा। वास्तवमा हो पनि। अँध्यारो कोठामा (?)मा बसेर गरेका सहमितको कुनै मूल्य हुन्छ र? फेरि पनि भनौं, यी नेताहरु, ज–जसले राजतन्त्र राख्नेबारे (२०६४–६५ तिर) सहमति गरेका थिए, तिनले त्यो स्वीकार्छन् भन्ने विश्वास अव पनि लिइरहने? यी त आमसभाहरुमा गरिएको प्रतिवद्धतालाई समेत ढाँट्न सक्ने हुन्। हाम्रा नेताहरुमा इमान छैन, बेइमानीको कुनै ओखती छैन। खै कुरा बुझेको? त, देखाईदिउन् शक्ति प्रदर्शन गरेर। अव पनि किन अलमल गरिरहने? अधोगतिमा पुगेको मुलुक, निराश र आजित जनता यी दुवैलाई एउटा आशाको किरण देखाउन अघि सरौं न। वर्षको एक दुई पटक आएको 'सन्देश'मा 'भावना'लाई समेटेर मात्र कहाँ होला र? जनता पनि 'एक्शन' को प्रतिक्षामा रहेका छन्।'