रोशनकृष्ण रंजितकार
र्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेपालमा झरेको फूलजस्ता चाउरिएका थिए, दिल्ली भ्रमणमा उनलाई फक्रेको फूलजस्तो देखियो। एक लेखकले त 'उनलाई माइती आएकी चेलीजस्तो देखेछन्।' माइती आएकी चेली फुरुक्क हुनु स्वभाविक हो। डा.बाबुरामको फेसबुकले पनि त्यस्तै खुशी झल्कायो। डा.बाबुराम भट्टराईको व्यक्तिगत र राजनीतिक जीवनको सुरुआत दिल्ली हो। हालको राजनीतिक उचाईको बरदान पनि दिल्लीबाटै प्राप्त भएको हो। भट्टराईको बौद्धिक अर्थात पीएचडी जेएनयुबाट भयो। उनको लभम्यारिज दिल्लीमै भयो। राजनीतिको सुरुआतविन्दु दिल्ली नै हो। अहिले उनकी पुत्रीको छात्रवृत्ति अध्ययन दिल्लीमै भइरहेको छ। र, जनयुद्धकाललाई सफल दिल्लीले पारिदिएको हो। उनको प्रधानमन्त्रीत्वको सफलतामा पनि दिल्लीकै समर्थन थियो। अहिले उनको दिल्ली भ्रमण खुशीयालीमा हुनु स्वभाविक हो। दिल्ली र बाबुराम अन्योन्याश्रित सम्बन्ध रहेका तत्व हुन्। एक समयमा त प्रचण्डले समेत बाबुरामलाई दिल्लीवादी भनेर आरोप लगाएका थिए, यसमा के अन्यथा मान्नु र? यसपटकको दिल्ली भ्रमणमा डा.बाबुराम भट्टराईले भारतलाई नेपालको शान्ति र संविधानको एक पक्षका रुपमा भारतलाई जस दिएका छन्। यद्यपि नेपाल फर्केपछि उनले यो गलत हो भनिदिए। जसरी १८ महिना १८ दिन प्रधानमन्त्री बन्दा डा.बाबुराम भट्टराईले आधा नेपाल दक्षिणतिर र आधा उत्तरतिर मर्ज वा सर्वमर्ज हुनसक्छ भनेर दिल्लीलाई खुश गरिदिएका थिए। विप्पा सम्झौता गरेर दिल्ली खुशी भयो, नेपालले केही पाएन। झण्डै त्रिभुवन विमान स्थलको व्यवस्थापनसमेत दिल्लीलाई जिम्मा दिएका थिए। यसबाट थाहा भएको थियो, बाबुराम दिल्लीप्रति कति इमान्दार छन् भन्ने कुरा। यसपटकको दिल्ली भ्रमणमा पनि बाबुराम भट्टराईले कांग्रेस, एमाले र मधेशवादीलाई समेत सन्देश दिन सफल भए– म अरुभन्दा भिन्न छु, दिल्लीसाग निकट छु। शायद यही कारणले अरुले भन्दा बढी नै न्यानो आतिथ्य र सुरक्षा प्रवन्ध बाबुरामलाई दिन भारतले कुनै कञ्जुसी गरेन।
बाबुराम दिल्ली पुगेर इन्डियन इन्टरनेशनल सेन्टरमा बोल्ने भनेपछि नीतिकारहरुको भीड नै लागेको दृश्यले बाबुरामको महत्व झल्काउछ। भारतीय पूर्वविदेश सचिव श्याम शरण, नेपालका लागि भारतका पूर्वराजदूत शिवशंकर मेनन, भारतीय जनता पार्टीका नेपाल सेल इन्चार्ज अजितकुमार, भारतीय बुद्धिजीवी एसडी मुनि, भारतका लागि बंगलादेशका पूर्वराजदूत तारिक करिम, वरिष्ठ पत्रकारहरु भारत भूषण, सुहासिनी हैदर, नलिनी सिंह, आदम रोबर्टस उपस्थिति थिए भने भारत सरकारका अधिकारीहरु र हिन्दुस्तान टाइम्स, द हिनदु, फाइनान्सियल टाइम्सजस्ता ठूला पत्रिकाले बाबुरामलाई महत्व दिएर उनका विचारहरु प्रशारित गरे। भारतका प्रधानमन्त्री, राष्ट्रपति, सुरक्षा सल्लाहकार र विदेश मन्त्रीले समेत बाबुरामलाई भेटेर विचार विमर्श गर्नु भनेको भारतका लागि उपलव्धिमूलक हो, नेपालका लागि के लाभ भयो, त्यो भट्टराईले खुलाएनन्। 'भारतको चाखविरुद्ध काम गर्दैनौं' भनेर सन २००४ मा गरेको कबुलियतको नविकरणबाहेक बाबुरामले अरु के गरे होलान् र? यो उनको व्यक्तिगत लाभ हो। उनले युद्धकालमा भारतले दिएको संरक्षण र सहयोगप्रति धन्यवाद दिएको हुनुपर्छ। बाबुरामको गद्गद, फक्रेको फूलजस्तो अनुहार यही हुनसक्छ। नेपाल–भारतवीच अनेक समस्या छन्, ती समस्याप्रति बाबुरामको ध्यान गएजस्तो अनुभव कसैले गरेनन्।