स्वयम्भुनाथ कार्की -
थपना सम्राटको मुलुक बेलाईतले राज गरेर छोडेका मुलुकहरुमा आफ्नो संस्कृती धेरै कायम रहन पाएन । बेलाईती संस्कार र संस्कृतिको लामो समयाबधिसम्मको गुलामीले ती मुलुकमा भौतिक विकास त गर्यो तर मूल्य आफ्नो संस्कृति, परंपरा तथा ज्ञानको विनाशको रुपमा चुकाउनु पर्यो । सभ्यता र संस्कृतिको धनी भुखण्ड भारतबर्ष (भारत देश होईन) थियो ।
भारतबर्षको बाटोको खोजी युरोपेली मुलुकको ठूलो अनुसंधानको बिषय भएको कुरा त कोलम्वस भारतबर्षको बाटो पहिल्याउने क्रममा अमेरिकाको बाटो पहिल्याउन पुग्नुले नै सावित गर्दछ । यो युरोपेली सभ्यताको हाराहारी मात्र नभएर त्यस भन्दा उन्नत सम्यता यस भेगमा विद्यमान रहेछ भन्ने कुराको पनि बलियो प्रमाण हो ।
कालान्तरमा बेलाईतको ईष्ट ईन्डिया कम्पनीले भारतबर्षका देशहरु ठेक्कामा लिंदै गयो । पहिले जुनजुन देशका राजाहरुमा जनताप्रतिको जिम्मेवारीको स्थानमा भोगविलाश प्रधान भन्ने धारण थियो तिनीहरुले राज्य संचालनको ठेक्का दिदै गए । यो नै बेलाईती उपनिवेशको प्रारम्भ थियो । त्यसै शक्तिको भरमा छिमेकका मुलुकहरु कव्जा गर्न ईष्ट ईन्डिया कम्पनीलाई कुनै गाह्रो सांगुरो परेन । वनको चरो वनको ढुंगो गरेर बेलाईती सम्राज्यको यत्रो बिस्तार भयो कि त्यो सम्राज्यमा कहिले सूर्य अस्त नहुने भयो ।
साधनश्रोत त्यसै देशको जनताबाट नै प्रयोग गरे पनि कुटिल बुद्धि भने उनिहरुको आफ्नै थियो । आफै आफ्ना सैनिकहरु संगै युद्धमोर्चामा जाने पृथ्वि नारायण शाह जस्तै शासक जुनजुन मुलुकमा रहे त्यस मुलुकमा अंग्रेजको दाल गलेन । युद्धमोर्चामा हार ब्यहोर्ने राष्ट्रका जनताको मनको राष्ट्रियता माथि भने अंग्रेजहरुले कब्जा गर्न सकेनन् । आफ्नो धर्म, परंपरा तथा ईतिहासबाट राष्ट्रियताको ज्वाला जगाउने ईन्धन रहेको तथ्य अग्रजहरुले फेला पारे । शिक्षाको नाममा, प्रगतीको नाममा त्यस्तै धर्मको नाममा आफ्नो संस्कृती लाद्न पाएमा त जनताको आफ्नो राष्ट्रियताको दियो निभ्नेछ र उसले इङ्गल्याण्डको सम्राटको वफादारी गर्नु र बेलाईतको हित चिताउनुलाई नै राष्ट्रवाद ठान्नेछ भन्ने उनिहरुको प्रक्षेपण शत प्रतिशत सहि भयो । लर्ड मेकलले जस्ताले गुलाम बनाउने शिक्षा पद्धतीको विकास गरे । यसको असर अझै देख्न पाइन्छ भारतिय संधका धेरै शिक्षणसंस्थाहरुमा शिक्षितहरु लर्ड मेकालेलाई भारतको सुधारक भन्ने गर्दछन । यही वैचारिक प्रदुषण भएका केहीको कारण मुक्तिको झण्डै ७० बर्ष पछि पनि त्यहाँ विदेश राम्रो आफ्नो नराम्रो भन्ने भावना बलवान छ । यही कुरा डढेलो जस्तो नेपालमा पनि सर्दै छ ।
आफ्ुले गौरव गर्ने कुराहरु गौरवशाली नभएर त्रुटपूर्ण वा अन्याय तथा अत्याचारको जननीहो भन्ने मान्छेमा परेमा उसको आत्मवल कमजोर हुन्छ र कमजोर आत्मवल भएकाहरु उपर शासन गर्न सजिलो हुन्छ भन्ने तथ्य नै बेलाईती उपनिवेशको आधार थियो । उनिहरुबाट प्रशिक्षित आफ्ना जाती कै मान्छेले भनेको कुरा मान्दै जाँदा यस भेकका वाशिन्दाहरुले आफ्नो आत्मा दास भएको पत्तै पाएनन् । फलत, कतिपय मुलुकहरु शताव्दियौंसम्म दास भए । झन आश्चर्यको कुरा त के छ भने उनिहरु बेलाईत मुलुकका दास थिएनन् बरु त्यस मुलुकको एक व्यापारिक कम्पनीको दास थिए ।
अहिलेको भारत संघ चक्रवर्ती सम्राट अशोकको पालामा बाहेक एउटै मुलुक कहिल्यै पनि थिएन । त्यस पछिको ईतिहासमा भने अहिलेका भारत संघमा संलग्न सबै मुलुकहरु एकै समयमा एक देश भएनन् । कहिले कुनै देश जोडिने र कहिले टुटने क्रम चलिरह्यो । जब ईष्ट ईन्डिया कम्पनीले यो भुभाग छोड्नु पर्यो । त्यसबेला संगै स्वतन्त्रताको लडाई लडेकाहरु एकै देशको रुपमा रहन चाहे । तर त्यो पनि संभव भएन र अंग्रेजले छोड्दा यो भूभागमा दुई राष्ट्र कायम भए । समान रितिथिति तथा परंपरा भएका धेरै मुलुकहरु जोडेर एउटा प्रान्त र यस्तै प्रान्तहरुको दुई संघीय राज्य पाकिस्तान १९४७ अगस्त १४ मा र भारत १९४७ अगस्त १५ मा जन्म्यो । अलगअलग राष्ट्रकारुपमा भएका देशहरु एउटा एकात्मक मुलुककारुपमा रहन संभव पनि थिएन । संघिय मुलुकको रुपमा पनि एक रहन आधा शताव्दि भन्दा ज्यादा बितिसक्दा पनि प्रसस्त मेहनत गर्नु पर्दैछ । उत्तरपुर्वका सात दिदी बहिनी भनिने राज्यहरु बल्ल्बल्ल मुलधारमा आउन खोज्दैछ भने काश्मिरमा मेहेनत गर्नु पर्दै छ ।
विदेशीको उपनिवेश भएर आफ्नो राष्ट्रवाद गुमाउनुको पिडा भोगेका हाम्रा छिमेकीको पिडा भुलेर हाम्रो राष्ट्रवादसंग जोडिएका गौरव गर्ने कुराको खोईरो खन्ने र आत्मवल समाप्त पार्ने कुटिल विदेशी चालको संवाहक हुन हाम्रै अगुवाहरु गौरव मान्दैछन । यो कुरा जानेर वा नजानेर जसरी पनि हुन सक्छ ।
जुन झण्डाको गौरव रक्षाको निमित्त पुर्खाहरुले आफ्नो ज्यान उत्सर्ग गरे त्यसलाई कपडाको एक टुक्रा मात्र मान्नेहरुले आफ्ना पुर्खालाई गौरवशाली मान्न सक्दैन । आफ्नो अस्तित्वलाई नै तुच्छ मान्दा आफु भन्दा गौरवशाली विदेशलाई श्रेष्ट मान्नुपर्ने हुन्छ । यो नै दासताको लक्षण हो । आधुनिक उपनिवेश बनाउने यो ईष्ट ईन्डिया कम्पनीबाट प्रतिपादित अचुक हतियार हो ।
स्त्रीहरुलाई आदर गर्ने तथा शक्ति पुजनमा देवीको उपासना गर्ने पुर्विय संस्कारलाई केही दशक अगाडी मात्र स्त्रीलाई मताधिकार दिने मुलुकहरुले स्त्री माथि अत्याचार गर्ने संस्कार हो भन्छन भने त्यो भन्दा हास्यास्पद कुरा अरु के हुन सक्छ ? जुन वेला उनीहरु स्त्रीलाई मान्छे मान्नपनि तैयार थिएन त्यो वेला पुर्विय सभ्यतामा स्त्रीहरुले मुलुक डोर्याउन शुरु गरिसकेका थिए । यसर्थ सावधान, आफ्नो गौरव गर्ने कुराहरु मास्दै जाने हो भने राष्ट्रवाद खतरामा पर्दछ । राष्ट्रवाद कमजोर भएमा राष्ट्रको अस्तित्व कायम गर्न अत्यन्त कठिन छ । यदि नेपाली भएर नेपालमै बाँच्न चाहने हो भने आफ्ना गौरवको संरक्षण गरौ । अनि अखण्ड नेपाल भनौं ।