धर्मरत्न श्रेष्ठ -
एउटा नेता जो कहिल्यै सत्तामा गएन, जसले सधैं देशको रक्षा र सुरक्षाका लागि बोल्यो, त्यो नेताको नाम हो नारायणमान बिजुक्छे रोहित ।
यी भक्तपुरे नेता हुन् । यिनले भर्खर सम्पन्न चुनावमा नयाँ रेकर्ड के राखे पनि आफू सर्लक्क पन्छिएर युवाले राजनीति हाँक्नुपर्छ भनेर अघि सारे, यस्तो नेता जसले युवामा देशको भविष्य देख्छ, यस्तो विचारको खाँचो थियो तर पिण्ड खानेबेलासम्म पनि राजनीति गर्नेहरुले युवाका लागि स्थान खाली गरेको यो नै पहिलो उदाहरण हो । यो उत्कृष्ठ उदाहरण कुनै पनि दलका कुनै बृद्ध नेताले सिकेनन्, अभ्यास गरेनन् ।
यसकारण मात्र होइन, यी नै एक्लो बृहस्पति हुन् जसले कहिल्यै कमिशन र भ्रष्टाचारमा लागेनन् । यसकराण नारायणमान बिजुक्छे एउटा असल नेता हुन् ।
यो व्यक्ति प्रशंसा होइन, यतिबेला मूल पार्टीहरु कांग्रेस, एमाले र माओवादी केन्द्रभित्र युवाहरु अवसर खोजिरहेको अवस्था छ । युवाहरुले देश हाँक्नुपर्छ, युवाहरुलाई बुढा नेताहरुले ठाउँ खाली गरिदिनुपर्छ भन्ने बुलन्द आवाज घन्किरहदा सरकारले ६५ वर्षमा बृद्ध भत्ता दिने निर्णय समेत गरेको छ । जब कि यो निर्णय गर्न सरकारमा बसेका थुप्रै मन्त्री र निर्णय गर्ने दलहरुभित्र थुप्रै नेताहरु बृद्धभत्ताका हकदार बनेका छन् । जो बृद्धभत्ताका हकदार छन्, तिनले राजनीतिको कमाण्ड किन समातिरहेका छन् । यो सबैभन्दा बुझ्न नसकिने विषय बनेको छ ।
कांग्रेसभित्र १० युवाको विद्रोह चरममा छ । उनीहरु पार्टीभित्र आमूल परिवर्तनको डंका बजाइरहेका छन् । माओवादीभित्र पनि युवाहरु सलबलाइरहेका छन्, प्रचण्डविरुद्ध बोल्न नसकेकामात्र हुन्, उनीहरु ३ दशकसम्म पनि प्रचण्ड नै पार्टी अध्यक्ष भनिरहेका छन् ? यता एमालेभित्र पनि युवाहरु उठेका छन् । चुनाव जितेरमात्र हुन्न, पार्टीलाई युवाकरण गर्न बुढो नेतृत्वले युवाकरण गर्नुपर्छ भनिरहेछन् ।
अर्थात ठूला सबै दलहरुमा युवाहरुले अवसर खोजिरहेछन् र आम जनमानस पनि युवाले देश हाँके सुशासन हुने विश्वास गरेका पनि छन् । तर बुढा नेताहरु सानो पार्टी नेमकिपाका अध्यष नारायणमानले देखाएको त्यागजति पनि त्याग गर्न तैयार छैनन् । सल्लाहकार भएर बस्न कुनै बुढा नेता मञ्जुर गर्दैनन् ।
आश्चर्य त के पनि छ भने युवालाई नेतृत्व सुम्पन नचाहनेमा अधिकांश बाहुन र खस जातिका छन् । यो अर्को बिडम्बना हो । खस आर्यले देश बिगारेको र सत्तालाई सम्पत्ति ठानेको आरोप लागिरहेको समयमा यही बर्गले युवालाई अवसरबाट बन्चित गर्ने जुन काम गरिरहेका छन् र देश अतिक्रमणमा पर्दा, कूशासनको दलदलमा फस्दा, एउटा सुन्दर भविष्य निर्माणको जिम्मेवारी युवालाई दिन आँट गर्न नसक्नु बाहुन खसको सत्ताप्रतिको आशक्ति कुन हदसम्म रहेछ भनेर दर्शाउँछ ।
जातपातको कुरा नगरौं, यतिमात्र भनौं कि बुढा नेताहरुले अव युवालाई स्थान खाली गरिदिनुपर्छ । एकातिर युवाशक्ति विदेशीने, जो राजनीतिमा लागेका छन्, तिनले पनि अवसर नै नपाउने । बिजुक्छेले भनेका गरेका र देखाएको युवाको काँधमा जिम्मेवारी, यथार्थमा नेपालको भविष्य यही हो, सुनिश्चितता हो ।