Advertisement Banner
Advertisement Banner

२८ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

जनताको नैतिक हस्तक्षेप : राजन कार्की

२५ बुधबार , चैत्र २०७११० बर्ष अगाडि

डा.गोविन्द केसीले आमरण अनसन बसे, त्यो अनसन राष्ट्रिय स्वार्थअनुकूल भएकाले जनताले साथ दिए। त्यसकारण सफल भयो जनताको नैतिक हस्तक्षेप। सरकार झुक्यो, माफिया दुईकदम पछि हट्न बाध्य भए। विधिबाट जनस्वास्थ्य चल्नुपर्छ भन्ने

मान्यता बस्ने निश्चित भयो। जतिसुकै चलखेल गरे पनि जनताको हस्तक्षेप फेरि फेरि पनि हुनसक्छ भन्ने खतराले आपराधिक र माफियाकरण भएको राजनीति सतर्क हुन बाध्य भएको छ। छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाही गर, न्याय

देउ भनेर अनसन बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा मृत्यु भयो। उनको लाश सयौं दिनदेखि टिचिङ अस्पतालको फ्रिजमा राखिएको छ। परिवारजनले न्याय नपाएसम्म शव बुझ्न इन्कार गरिदिए। उनको सद्गद गर्ने

हिम्मत सुशील कोइराला सरकारले देखाउन सकेन। त्यही छोराको हत्यामा न्याय पाउँ भनेर आमा गंगामाया अझै अस्पतालमा संघर्ष गरिरहेकी छिन्। आमाबाबुले सन्तानका लागि जीवन अर्पन्छन् भन्ने यो उदाहरणको मर्म सायद स्वार्थमा लिप्त कांग्रेस,

एमालेको सरकारले बुझ्न सकेन। पहिले न्याय चाहिए गोर्खा जानु भनिन्थ्यो, अहिले गोरखाकै कृष्णप्रसाद अधिकारीको हत्यामा न्याय दिन लोकतान्त्रिक सरकार असक्षम भइरहेको छ।
गजब हुनेरहेछ सत्ताको नशा। बृद्ध सुशील कोइराला सत्तामा छन्। उनले पटक पटक न्याय दिन्छु, दिलाउँछु भने तर एमाओवादीको दबाबलाई झेल्न सकेनन् र उनले कृष्णप्रसाद अधिकारीको हत्यारालाई जेलनेल ठोक्न सकेनन्। नागरिक समाज र

अधिकारकर्मी, उनीहरु पनि बोल्छन्, बालेजस्तो दबाबको आँधी सिर्जना गर्न सकेनन्। नेपाली सेनाको कर्णेल कुमार लामालाई जनयुद्धकालमा अमानवीय दमन गरेको आरोपमा बेलायतले बन्दी बनाएर मुद्दा चलाईरहेको छ, कृष्णप्रसाद अधिकारीको

हत्यारालाई बेलायतले किन लण्डनमा सम्मानका साथ खुला छाडेको छ, सुशील सरकार सोध्न सक्दैन। मानवाधिकार आयोग चुपचाप छ। कति लाचार छ हाम्रो लोकतान्त्रिक मानसिकता?
चेतनाको खडेरी परेको बेलामा नैतिक अनसन आतंक मच्चाइदिन सफल भएका छन्: डा.गोविन्द केसी। मेडिकल शिक्षामा राष्ट्रिय नीति बनाउ र मेडिकल माफियाकरण अन्त गर भनेर डा. गोविन्द केसीले माग उठाएर आमरण अनसन के बसे, सम्पूर्ण

देशै उम्लिरहेको छ उनको समर्थनमा। यो अनसनले मेडिकल शिक्षामा कतिसम्म भ्रष्टाचार फैलिएको रहेछ भन्ने जनतालाई सुसूचित गरेको छ। यो दबाबमा आमजनता, नागरिक समाजको समर्थन भएपछि देखिएको छ: नैतिक दबाबको मूल्य।

जनताको हस्तक्षेप कति क्रुर हुन्छ भन्ने दृष्टान्त। जब जनता सडकमा उत्रिए, प्रधानमन्त्री कार्यालय घेर्न पुगे, 'मरे मर्छन्, म के गरुँ' भन्नेमात्र होइन, डा.केसी मरे पनि हुन्छ भन्ने माफियाहरुसमेत पछि हट्न बाध्य भएका छन्। यसलाई भनिन्छ– जनताको

हस्तक्षेप। यो जनताको हस्तक्षेपले लोकतान्त्रिक सरकारले मनलागी, मनपरी गर्न छुट दिन सक्दैन भन्ने मान्यता स्थापित हुने भएको छ। लोकतन्त्रमा बिधि प्रधान छ र बिधिले मुलुक चलाउने हो भन्ने शिक्षा स्थापित गर्नेछ।
यद्यपि संवैधानिक नियुक्तिहरुमा यस्तो जनहस्तक्षेप देखिएन। ठूला राजनीतिक दलहरुले भागबण्डा गरेर लोकसेवा, अख्तियार, न्यायाधीश, राजदूत, अन्य लाभका पदहरुमा नियुक्त गरे, गरिरहेका छन्। डा.गोविन्द केसीको निस्वार्थ मागमा देखिएको

जनताको समर्थन र हस्तक्षेपले आइन्दा अन्य क्षेत्रमा पनि राजनीतिक मनपरीतन्त्रलाई निस्तेज पार्न भने बल प्रदान गर्नेछ। अव सरकारले, ठूला दलहरुले राम्रा मान्छे फालेर आफ्ना कार्यकर्ता भर्ती गर्न पटक पटक सोच्नुपर्नेछ। किनभने मनमोहन

अधिकारी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन एमालेले जुन हुने नहुने बलमिच्याई गरेको देखियो, र, कलेजको अध्यक्षसमेत रहेका धादिङका सभासद राजेन्द्र पाण्डेले एमाले पार्टीलाई नै हतियारको रुपमा उपयोग गरेर सरकार छाड्नेसम्मको

धम्की दिएर सम्बन्धन लिने प्रयास गरेका थिए, त्यो तुहियो र यो तुहिनुका पछाडिका कारणहरुले एमालेको लोकप्रियतामा ठूलो आघात पुग्न गयो। एमाले नेता युवराज ज्ञवालीले भन्नैपर्‍यो– सम्बन्धन मामिलामा एमालेको बदनाम गरियो। उनले

सम्बन्धनमा बिधि छाडेर चोरबाटो लाग्न एमाले किन उद्दत भयो खुलासा गर्ने नैतिकता देखाएनन्। दैनिक सय जना विरामी नआउने मनमोहन मेडिकल कलेजमा न सुविधा छ, न फ्याकल्टी। न अन्य आधारभूति भोतिक संरचना। सत्तामा भएकै प्रभावमा

यसरी सम्बन्धन लिनु र डाक्टर पढाउने नाममा लखनौं लूट गर्नु एमालेको धन्दा नभए के हो? कम्तिमा एमालेले सत्तामा भएका बेलामा बिधि निर्माण गर्न सकेको भए कति राम्रो हुनेथियो। अव डा. केसीको अनसनले माफियाराजलाई न्यूनिकरण गरिदिने

पक्का छ र डा. केदारभक्त माथेमाको आयोगले राष्ट्रिय स्वास्थ्यशिक्षा नीति छिटोभन्दा छिटो बनाएपछि बिधियुक्त तरिकाले मेडिकल कलेजको सम्बन्धन प्रक्रिया सुरु हुनेछन् र पाँचै विकास क्षेत्रमा समेत मेडिकल कलेजहरु पुग्ने वातावरण बन्नेछ।
पहिले प्रतिवद्धता जनाउने र पछि सत्ता बचाउन एमालेको लहैलहैमा लागेर सम्बन्धन दिने आदेश जुन प्रम सुशील कोइरालाले जारी गरेका थिए, त्यसबाट सुशीलको चरित्रमा पनि दाग लाग्न पुगेको छ। नैतिक र बैधानिक दुबै दृष्टिमा प्रधानमन्त्री सुशील

कोइराला दोषी देखिदा र प्रतिपक्षीहरु डा.कसीको नैतिक समर्थन गर्न पुग्नुले नेपाली कांग्रेसलाई कलंकित पारेको देख्नेहरुले यसलाई पूर्ति गर्न सत्तामा भएका सुशील कोइरालाले केही राम्रा काम गर्नैपर्ने सुझाव दिनथालेका छन्। यद्यपि सुस्त सुशील

कोइरालाबाट ठोस काम हुने आशा पहिले पनि थिएन र अहिले गर्नु बेकार हुनेछ। किनकि उनी आफै मन्त्रीहरु भ्रष्टाचारी भए भनेर आरोप लगाउँछन् र तिनलाई पदच्यूत गर्न वा पदत्याग गर्न सक्दैनन्।
एमाओवादी, मधेसवादी, कांग्रेसी र एमाले पाखण्ड पनि सतहमा आएको छ। दुवै पक्ष प्रतिपक्षीहरु हिजोसम्म बिधिको पक्षमा उभिएका थिएनन्। कसैले आवाज उठाएको सुनिएन। जब डा.केसी बिधि चाहियो भनेर अनसनमा बसे, त्यो अनसनलाई

खासगरी गाउँदेखि सहरसम्मका युवाहरुले साथ दिए, राजनीति गर्ने मौका यही हो भनेर केसीकै पक्षमा उभिनेहरु प्रशस्तै देखिन पुगे। सामाजिक सञ्जालमा चारै शक्तिका नेता, कार्यकर्ताको केसीलाई नैतिक समर्थन गर्नेहरु भीडमभीड देखियो।

हिजोसम्म एमालेपंक्तिले संसददेखि सडकसम्म सम्बन्धनका लागि जेसुकै गर्न तैयार भएकोमा बिरोध नगर्नेहरु आज साखुल्ले बन्नुले अर्थ त राख्दैन तर आउँदा दिनमा यिनलाई पनि बिधिले चल्नु चलाउनु पर्नेरहेछ भन्ने हेक्कारहने छ। आखिर प्रेरणा र

शिक्षा जसरी आत्मसाथ गरे पनि हुन्छ।
मुख्य कुरो जनहस्तक्षेप र राजनीतिक विवेकको हो। राजनीतिले विवेक गुमाएका बेलामा जनताले हस्तक्षेप गर्नैपर्छ, नैतिकताको पाठ सिकाउनै पर्छ। डा.गोविन्द केसीले राजनीतिक नेताहरुले गुमाएको विवेकलाई हल्लाई दिएका छन्, जिवन्त

पारिदिएका छन्। राष्ट्रिय सवालहरुमा जनताले हस्तक्षेप पनि गर्नुपर्छ भनेर शिक्षा दिएका छन्। यो चेतनाले राजनीतिक दलहरुलाई संविधान निर्माणमा संवाद, सहमति र सहकार्यमा प्रेरित गर्न कतै न कतै बल पुग्ने विश्वास गर्न सकिन्छ। राजनीतिक

दलहरुले जुन भ्रम छरिरहेका छन्, जनताले यस्तैगरी हस्तक्षेप गरिदियो भने अप्ठेरो पर्नसक्छ भनेर राजनीतिक नेताहरु संवाद र सहमति गर्न अग्रसर भइदिए भने त्यतिबेला डा.गोविन्द केसीलाई थप धन्यवाद दिन कसैले जिब्रो लरबराइरहनु पर्नेछैन।

डा.गोविन्द केसीको अनसन राजनीतिक हो भन्नेहरु पनि छन्। हो यो राजनीति नै हो, जनताको राजनीति। घृणा फैलाउनेहरुले भन्न सक्छन्– डा.केसीले कुन पद अथवा कुन लाभ लिन खोजेका छन्? जब कुनै लोभ छैन र देशको सुव्यवस्थाको लालच

छ भने ती गोविन्द केसी स्तुतय पात्र हुन्। जिम्मेवार भनिएका राजनीतिक दलहरु ९ वर्षदेखि चटके चमत्कार देखाएर जनतालाई तमासामात्र देखाइरहेका छन्, त्योभन्दा डा.गोविन्द केसीको अनसन देशभक्तिपूर्ण छ। देशका लागि गए ज्यान जाला भनेर

आमरण अनसन बसिदिए उनी। यो अनसनले सुसुप्त रहेको जनतालाई जागरणको उर्जा थपिदिएको छ। आगामी दिनमा यिनै जनता उठे भने यी राजनीतिक दल र नेताहरुले तिनलाई सम्हाल्न मुस्किल पर्नेछ। अति गर्नु, अतिसार नगर्नु भन्ने सामाजिक

मान्यता छ। राजनीतिक दलहरुले संविधान बनाउने नाममा अति गरिसके। त्यो अतिविरुद्ध जनहस्तक्षेप भइदियो भने यी नेताहरुले लुक्ने दुलो पनि पाउने छैनन्। चेतना रहोस्।
झण्डै दुई महिनादेखि संविधानसभा बन्दी बनेको छ। सत्तापक्ष र विपक्षी प्रक्रियाबाट संविधान र आन्दोलनको बाटो भिडन्तउन्मुख भएका छन्। २३ गते संविधानसभामा प्रक्रिया सुरु गर्ने र प्रक्रिया सुरु भए त्यही दिनदेखि आन्दोलन चर्काउने ३० दलीय

निर्णय सार्वजनिक भएको छ। यो अवस्थामा जनताको हस्तक्षेप अनिवार्य हुनलागेको अनुभूति गर्न सकिन्छ। यी चार ठूला दल जनादेशभन्दा माथि छैनन्। यी चार ठूला दल देशभन्दा महत्वपूर्ण पनि होइनन्। यसकारण पनि जनताले यिनलाई एकपटक

फेरि हस्तक्षेप गरेर साइजमा ल्याउन र जिम्मेवार हुन बाध्य पार्नुपर्ने बेला आएको थियो यो, जुन काम डा.केसीले गरिदिएका छन्।
यसकारण प्रहरी दमन होस् अथवा लाल आतंक, कुनै पनि रक्तपातबिना देशलाई सुमार्ग, सुशासनतिर उन्मुख गराउनका लागि डा.गोविन्द केसीको अनसनलाई पूर्ण सफल पार्न जरुरी थियो, सफल भयो। राजनीति धमिलो भयो भने देश धमिलिन्छ।

राजनीतिका पवित्र धाराहरु बग्न, राजनीति स्वच्छ हुनैपर्छ। राजनीतिमा लागेकालाई विवेक र नैतिकता, जिम्मेवारी र कर्तव्यवोध गराउन पनि डा.केसीले जित्नुपर्थ्यो।  उनले जिते, देशले जित्यो र यो जित नेपालीको जित बन्यो। डा. केसी हारे भने

माफियाले जित्ने थियो, माफिया सन्निबात लागेजस्तो भएको छ। हामी शान्ति, सुशासन र समृद्धि खोजिरहेका जनताले बिधि खोज्ने हो। बिधिबिना देश कंगालमात्र हुनेछ। हामीले कंगाल हुन लोकतन्त्रलाई समर्थन गरेको हो र?
कांग्रेस, एमालेलाई तह लगाउने मनस्थितिमा पुगेका छन्।