Advertisement Banner
Advertisement Banner

२३ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

हिन्दुराष्ट्र भन्न सकेन कांग्रेसले

०९ सोमबार , पौष २०७५७ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ -
हिन्दुराष्ट्र चाहिन्छ भनेर आधाभन्दा बढी महासमिति बैठकका सदस्यहरुलेसही गरेर सभापति देउवालाई दिए । हस्ताक्षर भएको थाहा पाउनासाथ नेकपाका अध्यक्ष प्रचण्डको सातो गयो । उनले धर्मनिरपेक्ष संविधान घोषणा गर्ने कांग्रेसका नेता सुशील कोइराला स्वर्गमा छन्, हिन्दुराष्ट्र भनेर नर्कमा लान लागेको भन्दै हकारेका छन्, कांग्रेसभित्रका इसाईको झोल खाएकाहरुलाई उचाल्ने काम गरेका छन्, नभन्दै अझै पनि नेपाली कांग्रेसका बहुमतजनले नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भनेर प्रस्ताव पारित गर्न सकेको खबर आउन सकेन ।
कांग्रेसभित्र कतिसम्मको प्रचण्डपथको घूसपैठ भएको रहेछ भन्ने यो पछिल्लो प्रमाणले कांग्रेस किन चुनावमा पाहा पछारिएझैं पछारिएको हो भन्ने सबैलाई प्रष्ट हुनपुगेको छ । कांग्रेसभित्र वीपीवादीहरु छन्, स्वयम् सभापति सभापति शेरवहादुर देउवा म वीपीको अनुयायी हुँ भन्छन् तर उनलेसमेत वीपीविचार बोक्न सकेनन् ।
मंसिर २९ गते महासमितिको बैठक सुरु भएको थियो, बैठकको सुरु दिनदेखि नै एक हजार पाँच सय ४ मध्ये झण्डै ८ सयले हिन्दुराष्ट्रका पक्षमा हस्ताक्षर गरेका थिए । ४६ जिल्ला सभापति र १२ केन्द्रीय सदस्यहरु लक्ष्मण घिमिरे, तारानाथ रानाभाट, पुष्पा भुसाललगायतले ऐक्यवद्धता जनाएका थिए ।
सभापति देउवाले हिन्दु धर्मका पक्षमा आफू गम्भीर भएको बताउँदै पार्टीले उपयुक्त निर्णय गर्छ भन्ने जानकारी दिएका थिए, तर अझै नेपाली कांग्रेस हिन्दुराष्ट्रको पक्षमा छ कि छैन भन्ने द्विविधा कायमै रहेको छ ।
जनआन्दोलनमा धर्मनिरपेक्षताको विषयमा कुरै उठेको थिएन । यसकारण पनि नेपाली कांग्रेसभित्र धर्मनिरपेक्षताबारेमा ठूलै बहस जारी छ । हिन्दुराष्ट्रलाई धर्मनिरपेक्षता बनाएकै कारण, हिन्दुराष्ट्रका पक्षमा नेपाली कांग्रेस स्पष्टसँग उभिन नसकेकै कारण नेकपाले चुनाव जितेको निष्कर्ष कांग्रेस थिङ्क टेंकको छ ।
हिन्दुराष्ट्र हुनैपर्छ भन्ने खुमबहादुर खड्कालाई भ्रष्टाचारमा मुछेर चुनावै लड्न नपाउने व्यवस्था गरियो भने उनको देहान्त भइसकेको छ । अहिलेका महासमिति सदस्यहरुले हिन्दुराष्ट्रका बारेमा प्रस्ताव गरे पनि केन्द्रीय समितिले पास नगरी छलफल नहुने हुनाले पास नगर्ने पक्षमा परिस्थिति बनेको छ । यसको अर्थ अहिले नै कांग्रेसले हिन्दुराष्ट्रको नीति प्रष्ट पार्न नसक्ने भएको हो ।
कांग्रेसी नेतृत्व फरक मत आउनु स्वभाविक हो, यसमा छलफल भए पनि अहिले नै नेपाली कांग्रेसभित्र धर्मनिरपेक्षता सहितको संविधानविरोधी धारणा सार्वजनिक हुन नसक्ने स्थितिले गर्दा महासमितिको बैठक कुम्भमेलाभन्दा भिन्न नहुने भएको छ । महासमिति बैठकको माँग गर्ने युवा कांग्रेसी नेतृत्व पछि परेको देखिन्छ । युवाहरुले केही गर्लान्, बुढा नेताहरुलाई तह लगाउने लक्ष्मणरेखासमेत तोक्लान् भनेर जिज्ञासा राख्नेहरु हात लाग्यो शून्यको स्थितिमा पुगेका छन् ।
सभापति देउवालाई कर्‍याप झ्याप पारेर नेपाली कांग्रेसलाई नयाँ जीवन दिने अमृत निकाल्न कांग्रेस महासमितिको यो समुन्द्र मन्थन सफल होला भनेर जसजसले प्रतिक्षा गरेका थिए, ती सबै निराश हुनपुगेका छन्, कोही हौसिएको छ यो महासमितिको बैठकबाट भने, ती सभापति देउवामात्र हुन्, जसले आफूलाई कांग्रेस सभापतिको पदमा पहाड बनेर उभ्याउन सफल भएका छन् ।
कोही निराश छन् भने ती महामन्त्री सशांक कोइराला हुन्, जसले लामो समयदेखि धर्मनिरपेक्षताका बारेमा जनमत संग्रहको माँग गरिरहेका थिए, हिन्दुराष्ट्र हुनुपर्छ भनिरहेका थिए, उनले सफलता हासिल गर्न सकेनन् ।
आगामी महाधिवेशनमा सभापतिमा उठ्ने मनसाय सार्वजनिक गरिसकेका सशांक कोइराला अधिवेशन आउनु डेढवर्ष अघि नै महासमितिमा नै असफल सावित हुनपुगेका छन् । कांग्रेसभित्र धर्मनिरपेक्षतावादीहरुको हालीमुहाली हुनु भनेको इसाईकरणको र प्रचण्डपथको घूसपैठको सफलता पनि हो । नेपाली कांग्रेसले नयाँ जोश र उत्साह सिर्जना गर्ला भन्नेहरु पछि परेका छन् ।