शाश्वत शर्मा -
धेरैलाई लाग्दो हो, मुलुक अव मुठभेड, विवदातिर गयो भनेर । खासगरी गत शुक्रवार संसदबाट दुई तिहाइको बहुमत प्राप्त सरकारले बल मिच्याइ गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जसरी पास गरायो, प्रमुख प्रतिपक्षी कांग्रेस लगायत अन्य ससाना दलहरुले सडक र सदन दुवैतिरबाट यसको बिरोध गरिरहेका छन् । त्यसले गर्दा धेरै सोझासाझाहरुलाई मुलुक अव मुठभेडको राजनीतितिर लम्कियो भन्ने लागेको हुनसक्छ । कांग्रेसले अधिनायवाद स्वीकारेको परिणति हो यो ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले जसरी देशै ठप्प पार्छौं भनेर अभिव्यक्ति दिएका छन्, त्यसले पनि धेरैलाई मुलुक द्वन्द्वमा गयो कि ? भन्ने लाग्दो हो । कांग्रेसी भातृ संगठनका कार्यकर्ताहरुले झरी, जाडो नभनी देशका विभिन्न स्थानमा अहिले पनि जुलुस, नारावाजी, धर्नँ दिइरहेका छन्, जसरी मेडिकल माफियामुखी विधेयक विरुद्धमा आफ्नो गिरफ्तारी दिइरहेका छन्, यो सब देखेर मुलुक बन्द, चक्काजाम, तोडफोड, आगजनीजस्ता आन्दोलनको सुरुवात हुन लागेको अनुमान गर्न सकिन्छ । तर यो नेपाली कांग्रेसको लाज पचाउने र राजनीति बचाउने रणनीतिमात्र हो भन्न सकिन्छ । अझ झापाका दुर्गा प्रसाई र उनको बिबादित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनकै लागि मात्र यो चिकित्सा बिधेयक जबरजस्ती पारित गराइलेको हो भन्ने आरोपले आगोमा घीउ थप्ने काम गरिरहेको छ । स्मरणीय छ, केही समय अघि आफ्नै बैठकमा ओली र प्रचण्डलाई बोलाएर मार्सी चामलको भात नै खुवाएका दुर्गा प्रसाई अहिले नेपाली समाजमा बहष्कृत व्यक्ति हुनपुगेका छन् । अझ पूर्वतिरका मानिसहरु त दुर्गा प्रसाईका लागि दुई तिहाइको ब्रम्हास्त्र हान्ने सरकारको आलोचना गर्दै प्रसाईको कलेज नै बन्द गर्नुपर्छ समेत भनिरहेका छन् ।
गिरिजा र सुशील कोइरालका नाममा तनहुँमा खोलिएको अस्पताल र बाँकेमा खोलिएको क्यान्सर अस्पताललाई संघीय सरकार मातहत ल्याउन जरुरी भएको छ । यही विषयलाई कांग्रेसले इज्जतको सवाल बनायो । कांग्रेसीले जतिसुकै तमासा देखाए पनि अव कांग्रेसका केही हजार कार्यकर्ताबाहेक अन्यले आन्दोलनमा साथ नदिने पक्का छ । कांग्रेसले सत्तास्वार्थका लागि माओवादी र एमालेसँग पटक पटक गरेको गठबन्धन र सिद्धान्तहीन कार्यलाई समेत जनताले मन पराएका थिएनन् । हिन्दुराष्ट्रको समर्थन गर्न नसकेको कांग्रेसले त्यसै पनि समर्थन कमै पाउनेछ । यद्यपि कांग्रेसका खाँटी कार्यकर्ता आन्दोलनमा उत्रन सक्छन्, यो रमाइलोमात्र हुनेछ । सत्तालाई धक्का दिन सक्ने शक्ति हुनेछैन । कांग्रेसले पाएको मतअनुसार आन्दोलन हुनसक्ने छैन ।
बुद्धिजीवीहरु भन्छन्– कुनै दिन टनकपुर सम्झौताविरुद्ध सडकमा आगो बलेको थियो, टुंगियो सम्झौतामा । नेपालको राजनीतिका ठूला पार्टीहरु लाइनवाला हुन् । आकाशवाणी आयो भने यी परालखुट्टेहरु फतक्कै गल्छन् । विदेशीले आन्दोलनको हरियो बत्ती बालिदिएसम्म यिनीहरुको चुरीफुरी देखिन्छ । नतिजा केही हुनेवाला छैन । कांग्रेस चिच्याउन मुद्दा चाहिएको थियो, मुद्दा मिल्यो । मुलुकका बास्तविक गम्भीर मुद्दाहरु के के छन्, सत्तापक्ष र प्रतिपक्षीको ध्यान जानुपथ्र्यो, गएको छैन । माफियाले सत्ता चलाउने र कमिशनले प्रतिपक्ष चल्ने भएपछि यस्तै बेहाल हुन्छ मुलुकको । मेडिकल शिक्षामात्र होइन, शिक्षा पद्धति नै भताभुङ्ग पारेर माफिया पोसिदैछ । यता विवाद झिकेर मुलुकको अस्तित्व संकटमा परेको हेर्ने जिम्मेवारी लिने कोही देखिदैनन् ।
नेपालको संस्कृति, धर्म, सिमानाको रक्षा गर्ने कसले ? दुईथान जहाज किन्दा ४ अर्व ३५ करोडको बाँडफाँड भएकै हो, एनसेललाई छुट दिएर यिनैले खाएकै हुन् । यही कारण कांग्रेसले चाहेर पनि शुक्रवार चिकित्सा विधेयक पारित हुनबाट रोक्न सकेन । जानाजान शिक्षामन्त्रीलाई अवसर दिएर कम्युनिष्ट सरकारलाई पास गर्न मौका दिने कांग्रेस नै हो । कांग्रेसले चाहेको भए विधेयक पेश हुन नै सक्ने थिएन ।
मूल सवाल कमिशन र भ्रष्टाचारमा प्रचण्ड, ओली र देउवाको राष्ट्रिय सहमति छ । जनताको ध्यान अन्यत्र मोडेर पचाउने तारतम्य मात्र मिलाइएको छ । यो तारतम्यबाट पनि माफियाहरुबाट कमाउने यिनैले हो, शोषण त जनताको हुने न हो ।