Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

राजा महेन्द्रजस्तो को छ ?

०२ सोमबार , असार २०७६६ बर्ष अगाडि

राजा महेन्द्रजस्तो को छ ? आज जे छ, ती सबै आधारभूत संरचनाहरु राजा महेन्द्रका देन हुन् । २०१७ सालदेखि २०२८ सालसम्मको ११ वर्षमा राजा महेन्द्रले नेपालको राष्ट्रवाद मजबुतमात्र पारेनन्, नेपालको व्यक्तित्वलाई राष्ट्रसंघका माम्यमबाट विश्वसमक्ष अग्लो बनाए । महेन्द्र कालखण्ड त्यस्तो समय थियो, जुनबेला नेपालले के बोल्छ भनेर विश्वले कान ठाडो पारेर सुन्थ्यो । आज नेपाललाई कसले सुन्छ ?
लोकतन्त्र आएको १३ वर्ष भयो, यो १३ वर्षमा नेपालको व्यक्तित्वको क्षयीकरणबाहेक केही भएन । एउटै कुराको विकास भएको छ, अनैतिकता । अनैतिकताको खिया लागेर आज मुलुक बर्बादीको भीरमा पुगिसकेको छ । देशभक्ति भाषणको विषयमात्र बनेको छ । व्यवहारमा देशघातक कामबाहेक केही हुनसकेन ।
विश्व रङ्गमञ्चमा नेपाललाई उभ्याउने राजा महेन्द्र । अनेक जातिलाई एकतावद्ध पारेर एकीकरणको भावधारामा जोड्ने राजा महेन्द्र, नेपालको दीर्घकालीन विकासको आधार तैयार गर्ने राजा महेन्द्र, छुवाछुटदेखि भूमिसुधारका क्रान्तिकारी कदम चाल्ने राजा महेन्द्र, नेपाली मुद्रादेखि नेपाली भाषाको उन्नयनमा ठूलो योगदान दिने राजा महेन्द्र, महेन्द्रकालको ११ वर्ष हेरौं, त्यो समयमा राष्ट्र विकास, एकता, राज्यको खाकादेखि, नीति र राष्ट्रियताको जागरण युग थियो त्यो ।
आज के छ ? भएको राष्ट्रको पतन गर्ने गराउने राजनीति । नयाँ नयाँ राजाहरु उत्पादन गरेर जनतामाथि सामन्त भएको आरोप लगाउने शासक । १३ वर्षमा जो गरीव नेता थिए, ती सबै आज अरवका शेखजस्ता भएका छन् । राजनीतिलाई व्यवसाय र व्यापार बनाउनेहरु लोकतन्त्रको गुड्डी हाँक्छन् । लोकतन्त्रमा लोक बलियो हुनुपर्ने हो, लोकबारे सोच्नै नसक्नेहरु शासक बनेका छन् ।
यिनै शासकहरु राजा महेन्द्रलाई गालीगलौज गर्छन्, अप्रजातान्त्रिक भनेर आरोप लगाउँछन् । हो, उनी पञ्चायतका प्रवर्तक थिए । उनी नै हुन् जो नेपाललाई विश्वका सामु उभ्याउन सफल थिए । यी लोकतन्त्रवादीले नेपाललाई रसातल पु¥याइसके, यिनकै प्रशस्ती जनताले गर्नुपर्ने ? सबैभन्दा ठुलो कुरा विश्वास र भरोसा हो, जुन विश्वास र भरोसा लोकतान्त्रिक नेता भनाउँदाहरुले गुमाइसके ।
यहीकारणले हो नेपाल कमजोर भएको । राष्ट्र बलियो पार्न जनतालाई बलियो पार्नुपर्छ । जनताको शोषण गरेर नेता त बलियो बनेका छन्, राष्ट्र मजबुत हुनसकेन, राष्ट्र आज साहै्र कमजोर भएकाले पनि महेन्द्रको सम्झना भइरहेछ ।