Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

गौतमबुद्धको बदला आएको सहयोग

२२ मंगलबार , बैशाख २०७२१० बर्ष अगाडि

शाश्वत शर्मा
वैशाख १२ गते शनिवार विहान ११.५६ बजे आएको ७ दशमलव ८ म्याग्निच्यूडको भूकम्पको कम्पन अझै थामिएको छैन। उक्त भूकम्पनले ल्याएको 'पराकम्पन' (आफ्टर शक) को धक्का अझै कति दिन अनुभव गर्नु पर्ने हो? त्यो बताउन सकिदैन। अहिलेम्म करीव ७ हजारभन्दा बढी मानिसहरुले ज्यान गुमाएका छन् भने घाइते हुनेहरुको संख्या अहिलेसम्म १४ हजार नाघिसकेको छ। अव घरबारविहीन हुनेहरुको पनि यकिन तथ्याङ्क नआइसकेको हुँदा त्यो भन्न सकिने स्थिति छैन। त्यसो त त्युसंख्या र घाइते संख्या अझ बढ्ने अनुमान गरिएको छ। यिनको संख्याको काउण्टडाउन जारी छ, कति पुग्ने हो? यकिन छैन। गोरखा जिल्लाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको 'महाभूकम्प'ले ठूलो धनजनको क्षति त भएकै छ। त्योभन्दा पनि त्यसले सिकाएको पाठले पनि नेपालीहरुलाई अझ मर्माहत तुलयाएको छ।  त्यो हो, उद्दारमा भइरहेको राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीति। मानौं त्यो विपद विदेशी चलखेल गरिरहेका शक्तिहरुका लागि ठूलो मौका हो, यही मौकामा चौका हान्न अघि सरेका छन् उनीहरु। आ–आफ्ना स्वार्थ शिद्ध गर्ने, आ–आफ्ना 'नाम चम्काउने' ...अनि बेस्सरी 'कमाउने'। समाचारमा आएअनुसार दुईजना बरिष्ठ मन्त्रीज्यूहरुको (नेपालका) झगडा नै पर्‍यो– राहत कार्यको अगुवा तँ हुने कि म हुने भन्ने सवालमा। अव सरसर्ती हेर्दा नेपाली मन्त्रीहरुको यस्तो 'झगडा'ले तिनीहरुमा उद्धारकार्य प्रति लगाव र उत्कट आकांक्षा उम्लिरहेको देखिन्छ, किन रे भन्दा उनीहरुको भित्रको स्वार्थले।
त्यो झगडा, राहत कार्यलाई 'मन'ले सम्पादन गर्नका लागि होइन, त्यो त सहयोग स्वरुप आएका र आउन लागेका 'दानदातव्य'मा कसले 'हात चोपेर मह  चाट्ने' भन्ने विषयलाई लिएर भएको हो। यो त केन्द्रको झगडा हो। यो बाहेक जिल्लागत, पार्टीगत धाँधली (राहत वितरण कार्यमा) त कति हो कति? यहाँ उल्लेख गरिसाध्ये छैन। एकथरिलाई यो विपद पनि ठूलो अवसर बनेर आएको देखिन्छ। धिक्कारै होस्। अव उता अन्तर्राष्ट्रिय राजनीतिको कुरा गर्दा, भूकम्प पीडितहरुलाई अस्पतालमा नै गएर 'बाइबल' थमाउने देखि भूकम्पमा सहयोग गर्ने नाममा हतियारसहितका सुरक्षाकर्मी नेपाल आएर अन्तर्राष्ट्रिय नियम कानुन उल्लंघन गर्ने काम भएका छन्। अझ हुँदै नभएका कुराहरुलाई मिडियाबाजी गरेर आ–आफ्नो झगडालाई नेपालीहरुको संवेदनासँग मिसाउने काम भएको छ। पाकिस्तानले 'बिफ मसाला पठायो',...चीनले भन्दा भारतले बढी सहयोग गर्‍यो' आदि इत्यादि झूठा प्रचारवाजी गराइयो। त्यो देखेर दक्षिणको छिमेकीको 'स्तर' नेपालीहरुले झन प्रष्ठसँग बुझ्ने मौका पाए। अझ एकथरि 'उपबुजु्रक'हरु त गौतम बुद्धको बदलामा यो सहयोग आएको भनेर आ–आफ्ना विद्वता प्रदर्शन गर्दैछन्। स्मरणरहोस्, करिव एक महिना पहिले भारतीय प्रधानमन्त्री मोदीले आफ्नो जर्मनीको भ्रमणमा गौतम बुद्धलाई भारतीय भूमिमा जन्मिएको बताएर बहुसंख्यक (भारतीय दलालहरु बाहेक) नेपालीहरुको आक्रोशको शिकार हुन परेको थियो। हो, त्यही आक्रोशलाई मत्थर पार्न यतिबिघ्न सहयोगको नाटक गरेका हुन् मोदीले भन्ने पनि धेरै छन्। अहिले नेपाल विदेशीहरुको क्रिडाभूमि भएको छ। सुशील कोइराला नेतृत्वको सरकार र सबै विपक्षीहरु (संसदमा रहेका) पंगु भएका छन्। आफ्नै मुलुकमा उद्धार गर्नु पनि दक्षिणको छिमेकीको अनुमति लिनु पर्ने स्थिति देखिएको छ। हुँदाहुँदा दक्षिणबाट आएका पत्रकारहरुले समेत यहाँका सरकारी पदाधिकारीहरुलाई थर्काएको खबर छ। एयरपोर्ट नै हातमा लिएर चले दक्षिणका सेना र पत्रकारहरु। मतलव नेपाल र नेपालीहरुको आफ्नो भन्ने केही छैन। हाम्रो स्वाभिमानलाई नेतृत्वमा रहेका भारतीय दलालहरुले चकनाचूर पारिदिए।
प्रष्ट हौं, नेपालीहरुको एकताबाट मात्र झेलिरहिएको यो विपदलाई व्यवस्थापन गर्न सकिन्छ। यो सरकार र त्यो प्रतिपक्षी यिनीहरुबाट केही हुनेवाला छैन। यो विपदको घडीमा हामीले देखेका छौं– नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको अदम्य साहस, मानवीय सहयोग र नेपालीत्वको भावना। यिनीहरु ज्यानको बाजी लगाएर उद्धार र राहतमा रातदिन खटिरहेका छन्। यिनीहरुलाई सलाम छ। अरु बाँकी स्वार्थी सरकारसँग धेरै आश नगरौं। भूकम्पपछि सरकारी चर्तिकला जे देखियो, त्यसबाट
यो सरकार सुस्त छ, चुत्थो छ भन्ने पक्का भइसक्यो। अरु त अरु प्रधानमन्त्री राहत कोषमाथि विश्वास नभएर धेरैले 'सहयोग' नै जम्मा गरेनन्। यो सरकारप्रति विश्वास र आस्था कसरी प्वाल परिसकेछ। त्यसकारण जनतासँग एक भएर अघि बढ्नुको विकल्प छैन। तसर्थ, सक्नेले सहयोग गरौं, आ–आफ्ना गच्छेअनुसारको सहयोग गरौं। सबै मृतात्माको चीर शान्तिको कामना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरौं। हामी जनता हातेमालो गरेर अघि बढौं।