Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सरकारले थाम्न सकेन विश्व सहयोगी हातहरु

२८ सोमबार , बैशाख २०७२१० बर्ष अगाडि

अमेरिकाका पूर्वराष्ट्रपति कार्टरले दोब्बर गर सहयोग भनेर के आह्वान गरे, अमेरिकाले अर्बभन्दा बढी दिने भयो। बेलायत के कम, उसले पनि उदारमन देखाएर आर्थिक सहयोगको घोषणा गरिसकेको छ। अरुले पनि सहयोग गर्न थालेका छन्। अभिनेत्री तथा गोर्खा सैनिकका लागि लड्दै आएकी जोआना लुम्ले: यी त महान भएर निस्किइन्। यिनले १३ संस्थालाई एकै स्थानमा राखेर 'डिजाष्टर इमर्जेन्सी कमिटी' गठन गरिन् र सहयोगी दिन खुला आह्वान गरिन्। जसका कारण उनले अरवौं जम्मा गरिसकेकी छिन्। यसैवचि क्याडावालाडरले गार्जियनमा लेखे– 'नेपाल अहिले भयावह मानवीय संकटमा पर्दा डेभिड क्यामरुन सरकारले ५० लाख पाउण्ड र आठ जनाको सहयोग टोली पठाउने घोषणा गर्‍यो। ५० लाख पाउण्ड, अर्थात् एक ब्रिटिश नागरिकबाट १२ पेन्स! तर, अरु अंकहरु गतिला छन्– हामीले दुई सय वर्षका युद्धहरु लड्न नेपालको जनसंख्याबाट युवाहरु छानेर लियौं, जसमध्ये दुइटा महायुद्धमा मात्र ४३ हजार मारिए। विश्वका धनी देशको सूचीमा हामी नेपालभन्दा १४१ स्थान अगाडि छौं172।' त्यसपछि क्यामरुन सरकारले उदारमनले सहयोगको घोषणा गरेको हो।
मार्क जुकरवर्गले अपील गरे। अभिनेता म्याकग्रेगोरले युनिसेफका तर्फबाट सहयोग मागे। २४ घण्टामा ३ अर्व जम्मा भयो। त्यसपछि मलेसिया र हङकङका उद्यमी अगाडि सरे– लीका सिङले १० करोड दिने भए, मलेसियाका व्यापारीले गाउँ नै बनाइदिन्छु भने। अमेरिका पुगेका डिजाइनर प्रवल गुरुङ एक्लैले १० करोड जुटाएका छन्। अभिनेता, कलाकार, खेलाडी, सामाजिक, धार्मिक संस्थाहरु सबैले आर्थिक सहयोग जुटाइरहेका छन्। सबै जम्मा गर्ने हो भने खर्ब नाघिसकेको छ। नेाल सरकार भन्छ: पुननिर्माण गर्न ५ खर्ब लाग्छ। दातृसंस्थाहरुको सहयोग समेत जोड्दा ५ खर्ब जुट्छ। तर, सरकारप्रति कसैको विश्वास छैन। सबै आफै खर्च गर्न चाहन्छन्। आफै बनाइदिन खोजिरहेका छन्। सबैको नेपालमा अभिष्ट छैन। सबैको नेपालमा राजनीतिक स्वार्थ पनि छैन। स्वार्थ हुनेहरु पनि छन्। यी सबैको सहयोगी हातलाई नेपालको सार्वभौमिकत ार स्वतन्त्रतामा आघात नपर्ने गरी कसरी थाम्ने र नेपालीको भूकम्पपीडालाई कम गर्ने? यसतिर राजनीतिक सोच अझै जान सकेको छैन। उनीहरु अहिले पनि स्थानीय निकाय नभएको र संक्रमणमा भ्रष्टाचार गर्न पल्केका छन् र सर्वदलीय संयन्त्रकै निर्माण हुनुपर्छ भनिरहेका छन्। जुन, गलत सोच हो, गलत रणनीति हो।
ठूला दाता भारत र चीन भूकम्प गएको आधाघण्टामै हर्कतमा आएको भारतले नेपाललाई सहयोग गर्ने क्रम जारी छ। हुन त उसले सैनिक अतिवाद देखायो तर सम्हाल्ने नेपालले हो र त्यस्ता गतिविधिलाई आइन्दा नियन्त्रण गर्ने हो भने भारतले राम्रै सहयोगी दृष्टिकोण राखिरहेको छ। र, चीनका राष्ट्रपति सी जिन पिङले त घोषणा नै गरिसके– नेपालले जे जति सहयोग माग्छ, त्यो सहयोग दिन चीन तैयार छ। योभन्दा बढी के चाहियो। पहिले नेपालीलाई बास दिनुपर्‍यो, बचाउनु पर्‍यो र त्यसपछि आत्मसम्मान र स्वावलम्बी बनाउन सिकाउनु पर्छ। कुनै पनि हालतमा परजीवी मानसिकता उत्पन्न दिन हुन्न। मुख्य सवाल २ वर्षमा सबै भत्केका घर बनाइदिनु हो। यसका लागि नेपालले दह्रो सोच राख्ने हो भने त्यो सहज सम्भव छ। राजनीतिक इमान्दारिता यसको पहिलो सर्त हो। राजनीतिक नेताहरुले स्वार्थ त्याग गरेर राष्ट्रियता र जनता बचाउने कर्तव्यमा खरो उत्रनु पर्‍यो।
यो प्रलयमा सघाउन भुटानसमेत अघि सर्‍यो। स्वयं प्रधानमन्त्री नेपाल आए, सहयोग दिए। एनआरएन संघ, उपेन्द्र महतो, शेष घले, भवन भट्ट र अन्य एनआरएनलगायतका अन्तर्राष्ट्रिय सस्थाहरुबाट १५ अर्वभन्दा बढी संकलन भइसकेको छ। गुगल र फेसबुकलेले अरवौं जम्मा गरिदिएका छन्। खर्वौं सहयोग जुटिसकेको छ, जुट्ने क्रम जारी छ। ल्याउने कसरी, खर्च गर्ने सिस्टम खोई? सरकारप्रति विश्वास छैन, अरु संयन्त्र बनाउन नेताहरु तैयार छैनन्। एयरपोर्टमा राहत कुहिने र जुटेका सहयोग असरल्ल भइरहेका छन्। हाम्रो आपातकालीन व्यवस्था यही  हो? स्वदेशदेखि विदेशसम्म साना साना बालबालिकाले खाजा नखाएर पैसा संकलन गरेका छन्। ती पैसाको दुरुपयोग भयो भने? पैसा जुटाउने धन्यवादका पात्र छन्, पैसा खर्च गर्ने सराप नबनुन्। जसका नाममा पैसा जुट्यो, तिनले जुटेको पैसाको राहत पाउन्, बास बनाउन भ्रष्टाचारबिहीन रुपमा खर्च होस्।
महाभूकम्पले ५ देखि ६ अर्व डलरको भौतिक क्षति भएको अनुमान छ। भौतिक संरचनाका लागि पैसाको दुःख छैन, अभाव छ त पारदर्शी राजनीतिक अठोटको। विश्वजगतलाई नेपाली राजनीति त्यति धेरै निष्ठुरी छैन, नैतिकहीन पनि होइन भनेर प्रमाणित गरेर देखाउने चुनौती सामना गर्नुपर्छ, अन्यथा लोकतन्त्रले बचेखुचेको बैधानिकता पनि गुमाउन सक्छ। धरहरा ढलेको छ, बनाइदिन नेपाली नै तैयार छन्। मन्दिरका गजुर ढलेका छन्, मन्दिरहरु जोखिममा छन्। बनाइदिन नेपाली नै तैयार छन्। मान्छेका बासमात्र होइन, सडक, विद्युत, अन्य आयोजना, पर्यटनका पूर्वाधार, सांस्कृतिक धरोहर ध्वस्त भएका छन्। बनाइदिन साधनस्रोत जुटिरहेका छन्। तर, अहिलेसम्म तथ्यांक बटुल्न सरकार सक्षम भएन। सरकारसँग मिथ्याङ्कमात्र छ।

बिनासको तथ्य तथ्यांक, पुननिर्माणको ठोस खाका नभएसम्म पैसाले मात्र केही हुन्न।
निश्चय नै महाभूकम्पको मार गरिबमाथि बढी परेको छ। धर्ती फाटेको छ र वर्षायाम निकट छ। बाढी पहिरो र रोगव्याधिको महामारीको डरले झन पिरलो थपिएको छ। आएको राहत बितरणमा उदारमन देखाउन नसक्नेहरुले पाएको पैसालाई दुरुपयोग गर्ने सम्भाबना बढी देखिन्छ। राज्यले, राजनीतिक दलहरुले प्राकृतिक चोट खाएका कमजोर बर्गलाई अझ बढी पीडा दिनुहुन्न। मृत्य हुनेहरुको आत्माको शान्ति र मृत्यु जितेर बाँचेकाहरुलाई सहज जीवन दिने बेला यही हो। राज्य र राजनीतिक दलहरुले राम्रो काम गरिदिए भने घाइतेहरुको घाउ पनि छिटो निको हुनेथियो।
समय छँदै नेतामा विवेक पलाओस् प्राकृतिक भूकम्प गयो, भ्रष्टाचारको भूकम्प जानुहुन्न। घर ढल्यो, खाने केही छैन, ओतका लागि पाल छैन, पुरिने को शव अझै निकाल्न बाँकी छ, बाँच्नेलाई बचाउने र घाइतेको उपचार भइरहेको छ। गच्छेअनुसारका सहयोग आइरहेका छन्, त्यसलाई पीडितसम्म पुर्‍याउन राज्य सफल भइरहेको छैन। कहाँ छन् राजनीतिक दल र तिनका भातृ संगठनहरु? वाईसीएल, युवासंघ, तरुण दल, दस्ताहरु कतै देखिदैनन्। विदेशबाट सहयोगी हात उठिरहेका छन्, स्वदेशकै युवापुस्ता सन्निबातले बेहोस् छन्।

योभन्दा राजनीतिक दुर्भाग्य के हुनसक्छ? सत्ता फेर्नुपर्ने आवाज उठ्न थाल्यो। फेरि सत्ताकै खेल सुरु भइसक्यो। देश विपदमा छ, कतै धर्ना, हड्ताल, जुलुस, बन्द सुरु नहोस्। विशाल जुलुस निस्कन्थे, लोकलाई आपद परेका बेलामा ती हातहरु उठेनन्। राजनीतिको पनि धर्म हुन्छ, त्यो धर्म किन बिर्सेका यिनले? राजनीतिक युवापुस्ता यसरी जनतालाई विपदमा पर्दा जागरुक नहुनु भनेको भविष्य अन्धकार छ भन्ने होइन र? यही युवा पुस्ता हो, जसले जनताको दुःखमा मलम हुनुपर्छ र तिनको भावना र भग्नावेशष मानसिकताबाट तंग्रिन सहयोग गर्नसक्छ। गर्नुपर्छ। र, चेतना रहोस्। राजनीतिक दल, तिनका भातृ संगठन र कार्यकर्ताहरुबाट जनताले कुनै सहयोग पाइरहेका छैनन्। जनताका नाममा गएका राहत लुटेर पक्षपात गर्दा जनताको मन झन रोएको छ। कर्मचारीतन्त्रले पनि राजनीति गर्दा जनतामा आघात पुगेको छ। यतिखेर यत्ति भनुँ– राजनीतिकर्मी, कर्मचारीतन्त्र र समाजसेवीहरु, जनतालाई परिआउँदा तिमी बिभेद गर्छो भने यसको मूल्य तिमीले चुकाउनै पर्छ। विवेकी बन।

विवेकी हुने र विवेक देखाउने घडी यही हो।