Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

बनाइदिन्छु भन्नेलाई किन अवसर देउ

२८ सोमबार , बैशाख २०७२१० बर्ष अगाडि

सहदेव सिग्देल
सुजाता कोइरालाले समेत हजार घर बनाइदिन्छु भनेकी छिन्। एनआरएनदेखि चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले पनि १० हजार घर बनाइदिने घोषणा गरेका छन्। विदेशी धनाढ्य, व्यापारी घराना, अनेक संघसंस्थाहरु भूकम्पपीडितलाई घर बनाइदिन तैयार भएका छन्। समाजसेवा र राष्ट्रिय दायित्ववोधको यो अनुपम उदाहरण हुन्। हामीलाई यस्तै सहयोगी हातहरुको जरुरत छ। देशलाई परेका बेलामा देशका सन्तती र मान्छेलाई परेका बेलामा विदेशका मानवतावादीहरु यसरी जागरुक हुनु भनेको मानवता कहिल्यै मर्दैन भन्ने उदाहरण पनि हो। हामीले फुर्ति लगाएर तिम्रो सहयोग चाहिदैन भन्ने होइन। यतिबेला विश्वभरिबाट सहयोगी हात जुटिरहेका छन्। कलाकार, खेलाडीदेखि सामान्य बालबालिकाले समेत भूकम्पपीडितका लागि एक एक पैसा जम्मा गरिरहेका छन्। ती रकमहरु आउने क्रम जारी छ। र, विदेशीहरु ती रकमलाई आफै खर्च गर्न पाउनुपर्छ भनिरहेका छन्। त्यसो होइन, पुनर्स्थापना र पुननिर्माणका लागि डा.गोविन्द केसीजस्ता निर्भिक, निस्वार्थ, स्वच्छ व्यक्तिहरुको एउटा समूह बनाएर तिनलाई सरकार र योजना आयोगले सघाउने हो भने विश्वभरिबाट जुन रकम जम्मा भइरहेका छन्, विश्वसमुदाय र राष्ट्रसंघ लगायतका दातृसंस्थाहरुले जे जति आर्थिक सहयोग दिनेछन्, तिनलाई नेपाली राजनीतिक संयन्त्रबाट होइन, शक्तिशाली सामाजिक संयन्त्रबाट खर्च गर्ने हो भने दुईवर्षभित्रै महाभूकम्पको प्रलयपछि नेपालीहरुले सुरक्षित बास पाउनेछन्। बास भएपछि परिश्रम गरेर गाँस आर्जन गर्नसक्नेछन्। आजको आवश्यकता यही हो। किनभने सरकार भ्रष्टाचारी छ, राजनीतिक नेताहरु अनियमितता गर्न रुचाउँछन्, कर्मचारीतन्त्र खन्चुवा र ठग छन् भन्ने छाप सबैमा परिसकेको छ।

त्यसकारण पनि सिधै प्रधानमन्त्री केाषमा रकम जम्मा गर्न मान्छेहरु रुचाइरहेका छैनन्। कर्मचारीतन्त्र कतिसम्म नालायक छ भने विदेशबाट आएका पाउरोटी, विस्कुट र अन्य खानाहरु तत्काल बितरण गर्न सकेनन् र एयरपोर्टमै कुहिएर गए। उठिबास भएकाका लागि पालहरु आए, ती कहाँछन् कसैलाई पत्तै छैन। कतिपय पाल, चामल, दाल, आलु बजारमा पुगे भने कतिपय व्यापारीका गोदामबाट पनि बरामद भए। यो असक्षमता र यो अनियमतिताले पुनर्स्थापना र पुननिर्माण गर्न सक्दैन। त्यसकारण, एउटा स्वच्छ, शक्तिशाली प्राधिकरण निर्माण गरेर घर बनाइदिन्छु, गाउँ बनाइदिन्छु भन्नेहरुलाई तत्काल निम्त्याएर सरकारले स्थान तोकिदिनुपर्छ र बनाइदिने अवसर दिनुपर्छ। त्यसकारण, शक्तिशाली आयोगमार्फत विश्वभरिका सहयोगलाई एउटै डालोमा हालेर योजनावद्ध तरिकाले खर्च गर्ने हो भने भत्केका जनताको बास छिटो बन्नसक्छ। भ्रष्टाचार, विभेद र पक्षपात हुनेछैन। किन निर्माणको यो तरिका नअपनाउने? यसो गर्दा लोकतन्त्र नै बलियो हुनसक्छ।