Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

बाँकी रहेनन् राणाका दरवार

०४ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

सहदेव सिग्देल
जेठ १२ को महाभूकम्पले २००७ सालमा ढलेको राणा शासनले बनाएका सबै महलहरु ढालिदिएको छ। न सिंहदरवार रह्यो, न बहादुर भवन। न बबरमहल सग्लो छ, न पुतली बगैंचा महल। नेपाल राष्ट्र बैंक रहेको बालुवाटारको सुवर्ण महल र थापाथलीको सिंहमहल दुबै कामै नलाग्ने गरी भत्किएको छ। शिक्षा मन्त्रालय रहेको केसर महल र सामान्य प्रशासन मन्त्रालय रहेको हरिहर भवन पनि क्षतिग्रस्त हुनपुग्यो। टुँडिखेलमा रहेको भित्रुवनचन्द्र मिलिटरी हस्पिटल रहेको भवनको जीवन समाप्त भएको छ। लाजिम्पाटमा छ सेतो दरवार। जुद्धशमशेरका नातिहरु बस्ने दरवारमा राजस्व कार्यालय थियो, बस्नै नहुने स्थितिमा पुग्यो। बालमन्दिर पनि राणाकालीन दरवार नै हो, यसमा प्राविधिकहरुले रातो स्टिकर टाँसिदिएका छन्। पुल्चोकको श्रीमहल, आनन्द निवास वा जावलाखेलको दरवार र नारायण भवन सबै क्षतविक्षत भइसकेको छ। राष्ट्रपति बस्ने शितल निवास र बसन्तपुर दरवार चर्किएका छन्, भत्किएका छन्। राणाकालीन दरवारहरुबाट राज्यका महत्वपूर्ण अंगहरु चलायमान थिए। सबै पालमुनी पुगेका छन्। महाभूकम्पबाट राणाकालीन संरचना समाप्त भएको मात्र होइन पुरातात्वीक महत्वका दुर्लभ बस्तु र कलाकृतिहरु पनि समाप्त भएका छन्। हामीसँग रहेका प्रशासनिक संरचना सबै ध्वस्त भए, जगबाटै सुरु गर्ने स्थितिमा पुगेका छौं। निश्चय नै महाभूकम्पले अकल्पनीय क्षति गरायो। हामीलाई भरिपूर्णबाट हाहाकारमा ल्याइदियो। आफ्नै शक्तिले निर्माण गर्नुपर्छ भन्ने शिक्षा पनि दिएको छ भूकम्पले। अब बाँचेको पुस्ताको तन, मन र धनले बिल्लिबाठ नेपालीको पुनर्स्थापना र ध्वस्त नेपालको पुननिर्माण गर्ने अवसर आएको छ, जुटौं।