Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

जब परशुराम नै ढले : रोशन कार्की

०४ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

नेपाल तपोभूमि हो। तपोभूमि पनि महाभूकम्पपीडित हुनपुगेको छ। महाभूकम्पले पशुपतिनाथ हल्लियो, बाँकी सांस्कृतिक, पुरातात्वीक, ऐतिहासिक धरोहर सबै नष्ट भए। धनुषाको परशुराम तलाउमा स्थापित अपराजेय बरदान प्राप्त परशुरामको सालिक वैशाख १२ गतेको भूकम्पले जरजर पार्‍यो र २९ गतेको दोस्रो धक्काले लड्यो। तपोभूमि नेपाल यतिखेर महाभूकम्पले ल्याएको महाविपत्तिमा परेको छ। यो सब देखेका इतिहासपुरुष सत्यमोहन जोशीले आह्वान गरेका छन्– भूकम्पले ल्याएको राष्ट्रिय एकता महत्वपूर्ण छ। महाभूकम्पले हामीलाई देश निर्माणमा एकजुट भएर लाग्ने भावना प्रदान गरेको छ। एउटा सांस्कृतिक क्रान्ति चाहिएको छ। सत्य मोहन जोशीको यो सत्य बोलीमा हामी लामवद्ध आजको आवश्यकता हो। हामी एक भए ढलेको सस्कृति, इतिहास र सम्पदालाई उभ्याउन सकिन्छ।
भन्नेहरु पाप बढी भएर प्रकृतिले थाम्न नसकेको कुरा गर्छन्। यो सनातन हिन्दूराष्ट्रको पूर्वीय सभ्यताको प्रसङ्ग हुनसक्छ। आधुनिक विज्ञान भूगर्भभित्रको चिनियाँ र भारतीय प्लेट सर्दा जुधेको कम्पन हो यो। मान्छेको शरीरभित्र आगो हुन्छ भने भूगर्भभित्र के के छ, के के? मंगलग्रहमा बस्ती बसाल्ने विज्ञानको पृथ्वीभित्रको अध्ययन काँचै रहेछ। त्यसैले कोही भन्न सक्दैन– भूकम्प कहिले जान्छ, किन जान्छ र कुन प्रकारको जान्छ। सबै अनुमानमा चलिरहेका छन्। तथापि हामी विश्वास गर्दैछौं, महाभूकम्पका जोडदार दुई धक्का गइसके, अव पराकम्पनका साना धक्काहरु जानेछन् र प्रकृतिले दिएको सन्देशमार्गले हामीलाई भावि दिनमा सतर्क, सचेत र सुरक्षित जीवनयापनका लागि मार्गदर्शन गर्नेछन्।
प्रकृति अर्थात अदृश्य शक्ति हो। प्रकृति अर्थात मातृशक्ति। जसरी एउटा बालक जन्मनका लागि आमालाई तैयार हुन्छिन्, बालक जन्मेपछि उसको छातीमा दुध बग्छ र बालकको पाचन शक्ति बनेपछि आमाको छातीको दुध सुक्छ। यी यस्ता प्राकृतिक निरन्तरता हो, जसको सम्बन्ध सन्तुलनमा छ। प्राकृतिक सन्तुलनका विषयमा हामीले कहिले पनि ध्यान दिएनौं र आज महाभूकम्प खेप्नुपर्‍यो।
ठूलो जनधनको नोक्सानीपछि हामीलाई माैका आएको छ। हामीले सहमति र सहकार्य गर्नुछ। एकताका साथ पुननिर्माण र पुनर्स्थापना गर्नुछ। धर्म, संस्कृति, धरोहरलाई उभ्याउनु छ। सत्यमोहन जोशीजस्ता व्यक्तिले राष्ट्रिय भावनाका लागि जुन आह्वान गरेका छन्, आज त्यस्तै भावनाको आवश्यकता छ। त्रासदी घटाउने, विभेद अन्त्य गर्ने, समानताको जगेर्ना गर्ने र मानवीय समाजको निर्माण गर्ने मौका हो यो। अझै हामी स्वार्थन्ध हुन्छों र राजनीतिक लाभका लागि महाभूकम्पपछि पनि मानवीयता बुझ्दैनौं भने त्यो महाभूल हुनेछ।