भूगर्भविदहरुका आआफ्ना तर्क छन् भूकम्प जानुका। महाभूकम्प गइसक्यो, विपत्ति आइसक्यो। मर्ने मरे, बाँच्नेलाई कसरी बचाउने र विपत्तिमा परेकालाई मानवीय सहयोग गर्ने मुख्य मुद्दा यही हो वर्तमान नेपालको। विज्ञान जतिसुकै विकसित भए पनि भूकम्पका बारेमा अल्पज्ञानी नै रहेछ, किनभने पूर्व ज्ञान विज्ञानले पनि दिन नसक्ने रहेछ। यही कारण अनेक हल्ला चलाउनेहरु चलाइरहे, पराकम्पनहरु गइरहे। विपदमा परेकाहरु त्रसित मनस्थितिमा छन्। १९६० मा चिलीमा ९.५ रेक्टरको भूकम्प गएको थियो। अहिलेसम्मका ठूलो भूकम्प त्यही हो। त्यसका पराकम्पनहरु साना गए। पराकम्पन जानु राम्रो मानिदो रहेछ। किनभने पृथ्वीको गर्भमा सञ्चय भएका उर्जा सकिदै जाने रहेछन्। ९० सालको भूकम्प गइसकेपछि केही दिन पराकम्पन गएछन्। यसपटकको भूकम्पको पराकम्पन भने महिनादिनसम्म पनि गइरहेकै छन्। अझै कति जानेहुन्?
वैशाख १२ र २९ गतेका भूकम्पले देशलाई भग्नावशेषको थुप्रो बनाइदिएको छ। यो मृत्यमय भग्नावशेषबाट हामी उठ्नु परेको छ, देश उठाउनु परेको छ। भूकम्पको जोखिम छ भनेर भनिरहेको अवस्था थियो, कसरी बाँच्ने भनेर प्रशिक्षण दिइरहेको अवस्था पनि थियो तर आइहाल्यो भने कसरी बच्ने, बचाउने, उद्धार कसरी गर्ने राज्यको तैयार जिरो रहेछ। जसका कारण बच्नसक्नेहरुलाई बचाउन सकिएन। क्षति भयो, केही क्षति रोक्न सकिन्थ्यो, रोक्ने तैयारी थिएन। जसका कारण आज यो महाविनासमय परिदृश्य हामीहरुले भोगिरहेका छों।
नेपालमा महाभूकम्पबाट जुन धनजनको क्षति भयो, त्यसबाट विश्वले चिन्ता जाहेर गर्यो। मानवीय सहयोगी हातहरु बढाए। ३९ भन्दा बढी देशका सेनासमेत नेपाल आए, सघाए। राहत कति आयो, कतिले पाए? कहाँ गयो, कहाँ गएन? राहत कति कुहियो, कति जनता खान नपाएर भोकभोकै बसे? कसैले पाल मोटर छोप्न समेत लगे, सुत्केरी, विरामी खुला आकाश मुनी सुत्न बाध्य भए? यी यस्ता मानवीय सवाल हुन्, जसमा राज्य उदासीन देखियो, क्षमता देखाउन सकेन। अव हामी कस्तो पुननिर्माण गर्ने? यसमा राष्ट्रिय सहमति र योजना बनिहाल्न जरुरी छ। व्यक्ति, संस्था, सरकार, अन्तर्राष्ट्रिय समुदाय पुननिर्माणमा सघाउन तैयार भएर अघि बढेको छ। ती सहयोगी हात थाम्न हामीसँग योजना र अवधारणा अहिलेसम्म केही पनि छैन। नेपालको आवश्यकता, मापदण्ड, नियम, कानुन, संस्कृति, संस्कार के हो? राज्यले निर्धारण नगर्ने र विदेशी हातहरुलाई त्यत्तिकै छाड्ने हो भने पुननिर्माण बोझ वा खतरा पनि बन्न सक्छ। हामीले राहत र उद्धारमा आएका केही विदेशीले नेपालविराधी, नेपाली भावनाप्रतिकूल र अमानवीय काम गरेका घटनाबाट पनि सिक्नुपर्छ र सचेत रहन उत्तिकै जरुरी छ। कसैलाई पनि राज्यले छाडा छाड्न सक्दैन। सहयोगीको सम्मान र जनकल्याण दुबै हेर्नुपर्छ। विदेशी सहयोगी हातहरुसँग तिनका निहित स्वार्थ पनि आउने रहेछन्। यसमा नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र एकता बचाउने रुख अपनाउनै पर्छ।
नेपालसँग उद्धारका सामान थिएनन्, हेलिकोप्टर कम थिए। जो विदेशी उद्धारका सामानसहित आए, हेलिकोप्टर लिएर आए। तिनले दाल, चाम, पाल माग्ने नेपालीको वेवास्ता गरेर सैनिक मिसन चलाएको, चीनतिर उडान गरेको पनि देखियो। संवेदनशील क्षेत्रका फिल्म खिचेको र नेपाली सेनाको कमाण्ड नमानेको पनि सार्वजनिक भयो। नेपाल नेपालकै कमाण्ड हुनुपर्छ। नेपालमा सहयोग गर्न आउनेले नेपालको कानुन र कमाण्डलाई उल्लंघन गर्न सक्देनन्। यस मामिलामा नेपाल सरकारले जति कडा रुख अपनायो उति राम्रो। किनभने नेपाल सामरिक महत्वको थलो हो। ठूला शक्ति यो थलोको दुरुपयोग गर्न आतूर रहेका छन्। त्यसैले विदेशी सहयोगलाई हार्दिक स्वागत गर्नुपर्छ तर तिनका अभिष्ट र मान्छेहरुलाई खुला छाड्नु हुन्न। नियमित राख्नुपर्छ, नियामक हुनैपर्छ।