Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

रोक: बालबालिकाको तस्करी : शिवप्रसाद सिग्देल

११ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

भूकम्पपीडितलाई सहयोग गर्ने नाममा बालबालिकाको तस्करी ह्वात्तै बढेको छ। तस्करी गर्नेहरुले बालबालिकाहरुलाई भारतका विभिन्न सहरहरुमा लगिरहेका छन्। अभिभावक भूकम्पमा परेका छन्, भएका अभिभावक विदेशमा छन् अथवा सम्हालिन सकेका छैनन्। त्यस्ता अनाथ र असरल्ल स्थितिमा रहेका बालबालिकाहरुलाई जम्मा गरेर तस्करी गर्ने गिरोह सक्रिय रहेको सुरक्षा निकायको जानकारीमा आइसकेको छ। सरकारी नियम कडा छ तर नियमन छैन। सरकार आफै महाभूकम्पको चपेटामा अव्यवस्थित हुनपुगेको छ। यही मौका छोपेर तस्करहरुले दोलखाबाट देहरादूत लैजान राजधानीको एउटा टहरामा जम्मा गरिएका १९ बालबालिकाको सुराक पाएर प्रहरीले उद्धार गरेको छ। राजधानीमै यो हालत छ भने देशका अन्य भागमा बालबालिकाको तस्करीको कुन चाप होला? स्थिति गम्भीर देखिन्छ। बालबालिकाको तस्करी धन्दामा २ भारतीय पक्राउ परेका छन्। तिनको बयानका आधारमा बालबालिका तस्करीको धन्दामा कति संलग्न छन् भन्न सकिन्न।

व्यापक रुपमा भारतका दलालहरुले तस्कर परिचालन गरेको आशंका छ। दोलखाबाट राजधानी ल्याएका ११ बालक र ८ बालिका उद्धार गरिएका छन्। पेटभरि खान पाएर खुशी भएका बालबालिकाहरुलाई के थाहा कि उनीहरुलाई कुन अमानवीय उद्देश्यका लागि कता लगिदैछ? निश्चय नै यी बालबालिकाहरुको कल्याणका लागि भारतका विभिन्न सहरमा लैजान लागिएको होइन। यिनलाई कि त खतरनाक काममा लगाइनेछ, कि यिनको अंग बेचिने छ। खासगरी बालकहरुलाई कोइराला खानीका सुरुङहरुमा काम गराइने गरेको पूर्व परम्परा रहेको छ। बालिकाहरुलाई कडा काम लगाएर पाल्ने र युवा भएपछि बेश्या बनाउने प्रचलन पनि भारतका दलालहरुमा रहेको छ। जेहोस्, भूकम्पको विपत्ति परेका बेलामा नेपाली बालबालिकाहरुमाथि गिद्धेदृष्टि राखेर तस्करी धन्दा गर्ने सक्रिय भएका छन्, हाम्रो सरकार र सुरक्षा निकाय चनाखो हुनुपर्‍यो। यस्ता तस्कर र माफियामाथि कडा कारवाही गर्ने हिम्मतका साथ हर्कतमा आउनु पर्‍यो। हामीलाई प्राकृतिक विपत्ति परेका बेलामा मौकामा चौका हान्न पाइन्छ भनेर भूकम्पपीडित क्षेत्रमा पुगेर बालबालिका संकलन गरेर भारततिर लैजान रोक्नुपर्छ। सीमामा खटिएका सुरक्षाकर्मी बढी चनाखो हुन जरुरी छ। माइती नेपाल लगायतका अन्य मानवतावादी संस्थाहरु पनि यही बेलामा बढी क्रियाशील हुन जरुरी देखिन्छ। हामीले अहिले बालबालिकाको संरक्षण र रक्षा नगरे कहिले गर्ने? यही समय हो, हामीले बालबालिकाको सुरक्षा गरेर तिनलाई आश्रय दिने।