Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सभासद्विरुद्ध जनताको नारा– आए आए प्रेतात्मा आए

११ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

शाश्वत शर्मा
सभासद रामकुमार राईले रोचक यथार्थको खुलासा गरेका छन्। ती सभासद राईले आफू भूकम्पबाट प्रभावित रामेछाप जिल्लाको उत्तरी भागमा बस्तुस्थिति बुझ्न जाँदा त्यहाँका स्थानीय जनताले आफूलाई देख्नेवित्तिकै 'आए आए प्रेतात्मा आए...हाम्रो राहतका सामान खाने प्रेतात्मा आए' भनेर आफूलाई 'व्यङ्गात्मक स्वागत' गरेको बताएर सबैलाई चकित पारिदिएका छन्। सभासद र सरकारप्रति जनतामा कुन हदसम्म विश्वास समाप्त भइसकेछ भन्ने यो उदाहरणमात्र हो। सभासदका बयानबाजीबाट थाहा लाग्छ कि हाम्रा सभासद र तिनको 'मूल्य' करोडबाट कौडीमा झरिसकेछ। सभासदको इज्जत धुलिसात भइसकेछ। वास्तवमा हो पनि। देखावटी रुपमा 'समान वितरण'को ढ्वाङ फुकेता पनि पार्टीगत, गूटगत अनि व्यक्तिगत रुपमा उद्धार र राहतका लागि विदेशबाट आएको नगद र जिन्सीमा ब्रम्हलूट भइरहेको स्वयं 'असंतुष्ट' नेता तथा कार्यकर्ताले बयान दिइरहेका छन्। मध्ये जेठमा एकथरिलाई 'दशैं' पो आएको छ। देखाउनका लागि 'पहेंलो हेल्मेट र घन' लिएर टीभीमा भाषण गरेर के गर्ने? २ सयको राहतको प्याकेट पीडितलाई दिंदा पनि फोटो सेसन, टीभी रिपोर्ट सेसन गर्नुपर्ने नेताहरुको आत्मा मरिसकेको छ भन्दा हुन्छ। यही राजधानीमा नै पूर्ण रुपमा अझै उद्धार र राहतको एकसरो काम गर्न सकिएको छैन। अरु जिल्लाको त कुरै  छाडौं। भने जत्तिको सहयोग आएको छैन, आश्वासनमात्र आएको हो भनेर सरकार आफ्नो लागि 'बाटो' बनाउँदैछ भने यता पीडित र सरोकारवालहरु चैं जति आएको छ, त्यसको निष्पक्ष र धाँधलीरहित वितरणमात्र गरिदेउ, हामीलाई त्यतिभए पुग्छ भनेर सरकारप्रति व्यङ्ग कस्तै छन्। साँचो अर्थमा यो व्यङ्गभन्दा पनि अविश्वास हो। चुहावटमात्र भएपछि अविश्वास गर्नै पर्‍यो।
संसारमा कतै नभएको र कहीँ नहुने 'गाईजात्रा' यो बिनासकारी भूकम्पमा फेरि एकपटक नेपालमा देखिएको छ। अन्य मुलुकमा व्यक्तिगत वा संस्थागत रुपमा कसैले धाँधली गर्छ कि? कसैले पार्टीगत रुपमा प्रभाव देखाएर लूट मच्चाउँछ कि  भनेर सततर्क र सचेत हुने गर्छन्। तर यहाँ...बिडम्बना नै भन्नुपर्छ कि सरकार प्रति नै सतर्क र सचेत हुनुपरेको छ। कस्ता होलान् यो लोकतान्त्रिक नेता र सरकार? कसरी बन्छ नयाँ नेपाल? इच्छाशक्ति नै जिरो भएपछि के गर्ने? हुँदाहुँदा केही समय सरकारी कोषमा 'सहयोग' नै जम्मा भएन। त्यसो त, यसै मेसोमा केही 'मन्त्रीज्यू'हरुले सेना तथा प्रहरी अनि निजामती कर्मचारीहरुले दिलोज्यान लगाएर गरिरहेको उद्धार तथा राहतको कामलाई देखाएर 'तिनीहरु पनि सरकारकै अंग हुन् नि' भनेर तिनको जस आफैले लिन खोजेको देखियो। तर बुझ्नेले बुझिसके कि को सच्चा सेवक हो? अनि को लुटाहा मात्र हो? वास्तवमा सेना र प्रहरीहरु उद्धारमा नलागेको भए, स्थिति अरु भयावह र डरलाग्दो हुने थियो। धनजनको क्षति अझ बढ्ने थियो। यी दुवै संस्था (सेना,

प्रहरी) लाई फेरि एकपटक सलाम। त, हिन्दीमा एउटा भनाई छ– 'गाँव अभि बसर नही, लुटेरे लुट्नेको आ गए'। यही हालत अहिले नेपालमा छ। संसारबाट 'पूरा' सहयोग (नगद, जिन्सी) आइसक्या छैन तर यहाँ चैं राष्ट्रिय पुनर्निर्माण समिति'मा बस्न हानाथाप नै चलिसक्यो। अव राष्ट्रिय सरकार बनाउने, अवको प्रधानमन्त्री केपी ओली, अनि म चैं...पुनर्निर्माण समितिको अध्यक्ष भनेर डा.बाबुरामले 'भाग' लगाएको समाचार आइ नै सकेको छ। के भन्ने? लूट मच्चिएको छ, लूट। यो मुलुकलाई त खुवा बिर्ता नै ठाने यिनले। लूट मच्चाउन पटक्कै लजाउँदैनन्। हामी जनता पनि त्यस्तै नि। थाहा पाउँदा पाउँदै, जान्दाजान्दै पनि यिनैलाई नेता मानेर बस्छौं। भोलि चुनावमा यिनले नै हाम्रो 'भोट' पाउँछन्। आज यिनले गरेको भ्रष्टाचार र अन्य कूकृत्य हामी तुरुन्तै बिर्सेर भोलि नै यिनलाई काँध थाप्न तयार हुन्छौं।

हिजोको संवैधानिक राजतन्त्र ठिक थियो, कमसेकम राजाको अभिभाविकत्व त थियो भनेर आँसु मात्र झारेर के हुन्छ? त्यसका लागि केही गर्नुपर्छ? त्यो गर्न जाँगर नै चलाउँदैनौं भने, बाघको छाला ओढेर स्याल रजाईं गर्न त आउँछ आउँछ। कि कसो? अव राष्ट्रपति ज्यू अहिले यही काठमाडौं वरिपरि घुमिरहेका छन्। घुमेर रिजल्ट के? यिनी पनि देख्नाका डालमात्र हुन्। अव समय खेर नफालौं, राष्ट्रिय सरकारमात्र होइन कि संवैधानिक राजतन्त्रतिर ध्यान दिऔं। आफूलाई परिवर्तनका संवाहक भन्नेहरुले १० वर्षमा देखाउनु निरंकूशता देखाइसके। यिनको चालामालाले जनता घाँटीसम्म अघाईसके। अव भूकम्पको उत्पात र बिपत्तिमा यिनले गरेको भ्रष्टाचारको महाभारत हेरेर बस्ने?