रोशन कार्की
वर्तमान आवश्यकता भनेको भग्नावेशष बनेको जनताको जीवनको रक्षा हो। सबैभन्दा सुरक्षित भनेको बासविहीन छन् जनता। बास पाए, गाँस कमाई खाइन्थ्यो भनेर अत्तालिरहेका छन् जनता। जस्तापाता दिनेसम्मको योजना छैन सरकारसँग। न त राजनीतिक दलहरु मिलेर वितरण प्रणाली बनाउन सकेका छन्। मात्र भाषण गरिरहेका छन्, अर्तिउपदेश दिइरहेका छन्। जनताको जीवनमा समाहित भएर तिनको मनोबल बढाउने र तिनलाई सघाउन तैयार देखिदैनन्। ठूला दलले ठूला उद्यमी, व्यापारीसँग चन्दा उठाएर केही कार्यकर्तालाई जनताको घर निर्माणमा परिचालन गरेका छन्। स्वयं नेता राजधानीमा बसेर सरकार परिवर्तनको चलखेलमा व्यस्त छन्। आपातकालमा यस्तो चलखेल गर्नु उचित अनुचित के हो? तिनका नजरमा पुननिर्माण गर्न राष्ट्रिय सरकार बनाउनै पर्छ भन्ने लागेको छ। हिजोको सरकार अथवा आजको सरकार र भोलि बन्ने सरकार, अनुहार यिनै हुन्, नेता यिनै हुन् र यिनको चरित्र पनि उही छ। सरकार फेर्दैमा राष्ट्रिय सहमति बन्ने, संविधान जारी हुने भ्रम किन छरिदैछ?
देशले दह्रो निर्णय र निर्माण खोजिरहेको छ। देशलाई अनुहार परिवर्तन होइन, आँट र साहस, पारदर्शिता र इमान्दारिता चाहिएको छ। अहिलेसम्म जति भ्रष्टाचार भयो, त्यस्तो नहोस् भन्ने, नगर्ने नेतृत्व चाहिएको छ। पार्टी यिनै हुन्, सरकार र संसदमा पनि यिनै छन्। यिनैवीच अनुहार फेर्दैमा देशको अनुहार फेरिन्छ, नीति र निर्माणले गति लिन्छ भन्ने विश्वास गर्ने आधार केही देखिदैन। यतिखेर संसदका सबै दलहरु मिलेर सामुहिक प्रतिबद्धता गर्न जरुरी थियो। इमान्दारिताकासाथ २ वर्ष खण्डहर बनेको देशका संरचनाहरु निर्माणमा लाग्नेछों भन्ने अभिव्यक्ति आउन जरुरी थियो। त्यस्तो केही आशा जगाइएन। बाबुराम र प्रचण्ड राष्ट्रिय एकता, सहमतिको संविधान र नवनिर्माणका लागि नयाँ सरकार भनिरहेका छन्। एमाओवादीको नेता देवेन्द्र पौडेलले प्रष्टै भनिदिएका छन्: ओलीलाई प्रधानमन्त्री, बाबुरामलाई नवनिर्माण प्राधिकरणको जिम्मेवारी र प्रचण्डलाई राष्ट्रपति बनाए देश अघि बढ्छ। देश अघि बढ्नलाई पद नै चाहिने यी कस्ता नेता हुन्। आजसम्म यिनीहरु राजनेता बन्न सकेनन्। कारण यही हो।
ओलीलाई प्रधानमन्त्री अफर गरेर एमाओवादीले कांग्रेस, एमालेको मित्रतामा शंकाको रेखा कोरिदिएको छ। त्यसमाथि एमालेले सुशील कोइरालालाई राष्ट्रपति बनाउन सकिन्छ भन्ने लोभ देखाएर कांग्रेसभित्रै तरङ्ग उठाइदिएको छ। उता शेरबहादुर देउवा र रामचन्द्र पौडेल भावी अधिवेशनमा पार्टी कब्जा गर्ने दाउ कसरी सफल हुन्छ भनेर चर खोज्न थालेका छन्। विपत्तिमा परेर आत्तिएका जनताको सहज जीवनयापन कुनै ठूला नेताको चिन्ताको विषय देखिदैन। सुशील कोइरालाले यही सरकारलाई राष्ट्रिय सरकार बनाउँ भनेर राखेको प्रस्तावलाई एमाओवादीले खारिज गरिदियो, एमालेले पनि मानेन। ओलीकै नेतृत्वमा मधेसी, माओवादी लगायतका पार्टी सामेल भएर राष्ट्रिय सरकार बनाउने प्रस्ताव यतिखेर चर्चामा छ। सुशीलले भाँचो हानेका छन्– राष्ट्रिय सरकार बनाउन म तैयार छु, पहिले राष्ट्रिय सहमति गरेर संविधान जारी गरौं। सुशील कोइराला हटेनन् भने हटाउनु पर्छ भनेर एमाओवादी तात्न थालेको छ। एमालेका लागि एमाओवादीलाई सम्पूर्ण विश्वास गरिहाल्नु सहज देखिदैन। कांग्रेस भड्किनु भनेको संविधान निर्माण असहज बन्दै जाने निश्चित छ। एकथान प्रश्न: सडकबाट संविधान जारी गर्छौं भन्ने एमाओवादीलाई सरकारमा जान किन हतार भयो? एमाओवादीका लागि सत्ता नै सर्वोपरि हो? एमाओवादीको ओह्रालो यात्रा सुरु भएको लामो समय भइसक्यो। गाउँस्तरसम्मका संगठन सखाप भइसकेका छन्। यो अवस्थामा पार्टीको साख, श्वास बचाउन र आफ्नै राजनीतिक उचाई कायम राख्न नेताहरुलाई धौ धौ भएकाले राष्ट्रिय सरकार, भिजिनरी सरकारजस्ता भ्रमपूर्ण अभिव्यक्तिहरु आइरहेका हुन्।
यतिबेला एमाओवादीले सरकार परिवर्तन भन्दा पनि विपदमा परेका जनताको सेवा गर्न पार्टीलाई एक बनाएर अघि बढाएको भए निश्चय नै पार्टीप्रति जनताको मनोभव सकारात्मक बन्ने थियो। सरकारमा जानु एकछिनको न्यानोमात्र हो।