Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

कोरोनाविरुद्ध लडेर मानवता जोगाउने बेला

२४ सोमबार , चैत्र २०७६५ बर्ष अगाडि

देवी काफ्ले -
कोरोना, लकडाउन, भ्रष्टाचार, भोकमरी, स्वदेश फिर्ने नागरिकको चिच्याहट, राजनैतिक बन्द हड्ताल जस्तो लकडाउनको उल्लंघन, अस्पतालमा उपचारका आवस्यक सामग्रीको अभाव, खरिद गरिएका सामान गुणस्तर हिन, स्वास्थ्यर्मीलाई नै अपहेलना अनि दलीय दोहोरी ।
धन्न हामी नेपाली हरेक कुरा सहजै पचाइदिन्छौं । कोरोनालाई पनि सहजै पचाउन सक्ने क्षमता भएर नै शुरुमा हेलचेक्र्याई ग¥यौ । हामी बिकास गर्न अरुको सिको नगरे पनि बिनाश गर्न झ्याप्पै सिकिहाल्छौं । कुरै नबुझि कागले कान लग्यो भन्दैमा कान नछामी कागकै पछाडी दगुर्छौं । कुनै कुराको पनि फेद टुप्पो नबुझि तुरुन्त खण्डन गरिहाल्छौं । सत्य तथ्य नबुझिकन तथ्यहिन कुराको पछाडि कुदेर जान्छौं । जे गर्नु हुँदैन भन्यो त्यो एकपल्ट जसरी पनि प्रयोग गर्ने कोसिस गर्छौं चाहे जति सुकै खतरा किन नहोस् । त्यसको परिणाम जेसुकै भोग्नु परोस्  ।
हामी नेपालीको एउटा बिचित्र बानी छ ।अरुको अधिनमा बस्ने कायर हैनौं बहादुर हौं भन्ने । हिजो अंग्रेजको अधिनमा बस्ने कायर हैनौं भनेर नालापानीमा पानी नखाइ लडेका हुन् । उनै वीरका सपूत हामी जाबो कोरोनासंग किन डराउने भने जसरी न आफु सुरक्षित हुन चाहान्छन् न त अरुलाइ नै सुरक्षित राख्दै छन् । सरकारले हामीले गरेको प्रयासले कोरोना भित्रिन पाउदैन भन्छ ।जनता क्वारेन्टाइन बस्दा इज्जत जान्छ भनेर स्वास्थ्यकर्मी लाई नै भाटा हानेर जबरजस्ती गाउँ छिर्छन् । खुला सिमानाका कारण भारतमा रोजगारीका लागि गएका नेपालीहरु न भारतका न नेपालका भएका छन् । यता सरकार पुर्ण तयारीमा छौं भन्छ । नेपाल भित्री सकेका नागरिक आफै सचेत बनेर क्वारेन्टाइन बसिदिए ठूलो उपचार हुने थियो तर उनिहरु क्वारेन्टाइन बस्दा हारेको महसुस गर्छन् । सरकारले २५ जना भन्दा बढि मान्छे जमघट नहुनु भनेर उर्दि जारी गरेको छ तर हामी ५ बजेपछि ग्वारग्वार्ति चोक गल्लीमा निस्कन्छौं । उता सरकारकै मन्त्रीले जम्बो टोली राखेर पत्रकार सम्मेलन गर्छन् ।
चिन, अमेरिका जस्ता देशलाई घुँडा टेकाउने कोरोना पस्न नदिने पसे पनि उपचारको सारा तारतम्य मिलाउने यहाँ उपलब्ध नभएका स्वास्थ्य सामग्री चिनबाट मँगाउने निर्णय गरेको मन्त्री परिषद्का स्वयं स्वास्थ्य मन्त्री, उपप्रधानमन्त्री समेत भ्रष्टाचारको जालोमा गुटुमुटु पर्नुले पनि हामी नेपाली मानविय संवेदना हराएका बहादुर हौं भन्न कत्ति पनि शरम लाग्दैन मलाई ।
अझ हामी बहादुर त आजकल लाग्न थालेको छ । दुनियाँलाई कोरोनाले चकमन्न अध्यारोमा गाँजेको बेला नयाँ सरकार गठन गर, मध्यावधि चुनाव गर्नु पर्छ भनेर प्रतिपक्ष उफ्रिएको देखेर । समस्त पृथ्वी एउटा घर हो, मानव जाती सबै बन्धुबान्धव हुन् समग्र मानव कल्याणको लागि संसार एक भएर यो प्रतिकुलित शत्रुसँग लड्ने बेला आफ्ना आफ्ना पार्टी र दलका हनुमन्ते भयर निस्कने हामी नेपाली कति समझदार ?
रोगको भयावह अवस्थाले मनाव जीवन नै संकटमा पारेको छ । हिजो राज्य बचाउन मान्छेसँगको लडाइँ  थियो तर आज नागरिक राज्य भन्दा पहिलो वर्गमा राखेर नागरिकका लागि लड्नु पर्ने अवस्था छ । आजको अवस्था आउला भन्ने सोचेर अलिकति सजग भैदिएको भए ईटालीले मृत्युको डरलाग्दो संसार देख्नु पर्ने थिएन । अमेरिकाले घमण्ड नगरेको भय डढेलो फैलिए जस्तो महामारी फैलिने थिएन । चिन, ईटाली, स्पेनको त्यो अवस्था देख्दा पनि हामी नेपाली अझै चेतेका छैनौं ।
सरकारको ब्यावस्थापन उत्तिकै फितलो छ । क्वारेन्टाइनमा काठमाडौं, पोखरा बेच्न लैजाने भैंसी पाडा खांदेको ट्रकमा झैं मान्छे खाँदेका छन् । उपचारको लागि डाक्टर नर्स बिना एएभ् कसरी जानु ? नजाउन् सरकारले धम्कि दिन्छ ।
क्वारेन्टाइनमा मरेका मान्छेको लास ८–१० दिनसम्म उठ्दैन । बिहान काम गरि बेलुकाको निबाला जुटाउनेलाई राहत दिने भन्छन् तर ब्यवस्थित छैन । राहत थाप्न जाने हुनेखानेकै घरका पर्छन् । काम गरि खानेलाई कसरी राहत दिने?सबै अन्योल लाग्छ । यहाँ  जनता कोही देखिन्न सबै पार्टिका कार्यकर्तामात्रै देखिन्छन् । त्यसैले हरेक तहमा राहत देखि लिएर औषधि प्रकरणमा समेत आफ्ना नेता बचाउ कार्यक्रम मात्रै चलेको देखिन्छ ।    
अर्का थरी हामी नेपालीले बेलाको बोली फ्याट्ट बोली हाल्छौं । जुनसुकै देशका नागरिक पनि अनेक देशमा पढ्न होस् या रोजगारीका लागि होस् गएका छन् यो कुनै नौलो र अचम्म मान्नु पर्ने बिषय हैन  । यसै सन्दर्भमा नेपालबाट पढ्न, रोजगारीका लागि अमेरिका, अष्ट्रेलिया, जापान गएका नेपाली नागरिकलाई सामाजिक सन्जालमा तुच्छ वचन छ्यापछ्याप्ति प्रयोग भएको पाईन्छ । देशमा सरकारले युवा शक्ति रोक्न कुनै पहल गरेको भए या कुनै अवसर सृजना गरिदिएको भए कसैलाई पनि बिदेशिने रहर थिएन होला । मान्छे जहाँ पुगे पनि आफ्नी आमा सम्झनु गलत हो र परदेश गएकालाई तथानाम भन्ने ? उनैले पठाएको रेमिट्यान्स ले देशको अर्थतन्त्र  कसरी धानेको छ राज्य, सरकार र हामी सबै नागरिकले बुझ्नु पर्ने हैन र ? यो वर्गको नेपाली हुनुमा झन् गर्व लाग्छ मलाई कि जुन कुरा मैले पाईन अरुले पायो त्यसलाई कसरी खुट्टा तान्ने भनेर मौकाको पर्खाईमा झ्याप्प उनिहरुको खुट्टा तान्न पाउँदा ।
सहज अवस्थामा जे गरौंला, भ्रष्टाचार गरौंला, बिरोध गरौंला । सरकार गठन गरौंला कुप्लुक्कै देशै निलौंला । बिदेशीएकालाई खुब देशभक्ति  सिकाउंला । कोरोना भगाए पछि डाक्टर, नर्सलाई लखेटौंला । आफ्ना नेतालाई बेसरी काखी च्यापौंला । आलोपालो देश कुटकुटु पारौंला तर अहिले सरकार, जनता, धनी, गरिब, मेची, महाकाली, कर्णाली, रारा, फेवा, कोशी, कालागोरा सबै मिलेर कोरोना बिरुद्ध लडाइँ लडेर देखाउँ । यो लडाइँमा हतियार लिएर मैदानमा हैन कि हाम्रै घरमा बसेर लड्ने हो यदि घरमा बस्न सकिन्न भने हामी र बाँदरमा फरक नै के भयो र ?