Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

यही हो बेला केही गर्ने, देश जगाउने

३२ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

त्यसो त अनेक मुलुकहरुमा भाग्य र भविष्य खोज्दै पुगेकाहरुले जन्मभूमिको सम्झना गरे। महाभूकम्पले बर्बाद पारेको मुलुक, आफन्तजनलाई सम्झेर स्वदेश आए। आफ्नो सख्यले जे सकिन्छ गरे, गरिरहेका छन्। रगतको नाता भनेको यस्तो हुनेरहेछ। यद्यपि मानवीयताको नाता पनि धेरैमा देखियो। तर, दाताहरुले जे जति नेपालका लागि गरे, गरिरहेका छन् उनीहरुको कूटनीतिक चाखअनुकूल गरिरहेका छन्। रगतको नाता भएका, मानवीयता भएकाहरु निस्वार्थ सेवा दिइरहेका छन्। विश्वमा यस्ता पनि मान्छे रहेछन्, जसले सेवालाई महत्व दिए। मान्छेले मान्छेलाई गर्नुपर्ने व्यवहारलाई महत्व दिए।  रेडक्रसजस्तो अन्तर्राष्ट्रिय संस्थामा काम गर्नेहरुले आफ्नो लोगोलाई व्यापारमा प्रयोग गरेर बदनाम भए। विश्व खाद्य कार्यक्रमले कुहिएको चामल बाँडेर भूकम्पबाट बाँच्न खोज्ने नेपालीहरुलाई मार्न खोजे। नेपाल सरकार, नेपाली राजनीतिज्ञ, कर्मचारी प्रशासनले विभेद र पक्षपात गरे। तर महाभूकम्पको विपदले नेपालीपन अझ धारिलो भयो, अझ इस्पाती हुन थालेको छ। नेपालीत्व बिस्तारै जाग्दै र उठ्दै जान थालेको छ।

नेपालका विभिन्न क्षेत्रमा यही सब देखेर होला अमेरिकालाई कर्मभूमि बनाएका दर्शन रौनियारले पनि लेखे– यही हो बेला, देशका लागि केही गर्ने! यही हो बेला, देश जगाउने!  
दर्शन रौनियार अमेरिकाबाट नेपाल आए र विभिन्न स्थानमा राहत वितरण गर्न पुगे। उनले जे देखे, भोगे आफ्नो संस्मरण लेखेका छन्– 'नेपालीको सन्तोषी स्वभाव पनि भूकम्पले मलाई सिकायो। गाउँमा मानिस सन्तोषमै थिए। घर भत्क्यो, तर ज्यानलाई केही भएन भन्दै उनीहरु खुसी व्यक्त गरिरहेका थिए। भत्किएका, चर्किएका घरहरु, खण्डहरमा बदलिएको बस्ती देखेर मेरो मनमा भूकम्प गइरहेको थियो, तर सर्वसाधारण भने दु:खमा पनि सन्तोष गरिरहेका थिए। खान नपाएका र पालसमेत नपाएका पीडित देखेर मेरा आँखा रसाएको थियो, मेरो हृदय द््रवित भएको थियो, तर उनीहरु आफैं भने राहत थाप्नसमेत आनाकानी गरिरहेका थिए। यही हो बेला, देशका लागि केही गर्ने! यही हो बेला, देश जगाउने! यही हो बेला, देशलाई समद्धिको बाटोमा लैजाने! यही हो बेला, देशको कायापलट गर्ने! नयाँ नेतृत्व जाग्ने यही उपयुक्त बेला हो।' खासगरी राजनीतिमा नरंगिएका युवायुवतीले गर्नुसम्मको धर्म निर्वाह गरे। घरघरबाट निस्केका युवाजमात देशका विभिन्न सुगम र दुर्गम भूकम्पपीडत क्षेत्रमा गए र आफ्नो राष्ट्रिय धर्म निर्वहन गरे। त्यो सिख सरकारले, नेताहरुले, कार्यकर्ताहरुले लिएको भए बिभेद र पक्षपातको घृणा उत्पन्न हुनेथिएन। प्रशंंसनीय कार्य एनआरएन र वैदेशिक रोजगारीमा गएका व्यक्ति र संस्थाहरुले गरेका छन्। हो, केही प्रतिशतले नकाम पनि गरे, केहीले अति प्रचारवाजीको भोक पनि देखाए। यथार्थमा दर्शन रौनियारजस्ता व्यक्तिले पीडित जनसमुदायका लागि ठूलै काम गरेर गए। अझै उनीहरुले गर्नेछन्। आखिरमा विवेक र मानवीयताभन्दा महत्वपूर्ण अरु केही रहेनछ। – सहदेव सिग्देल