Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

गंगा अधिकारीलाई न्याय महँगो

१४ सोमबार , असार २०७२१० बर्ष अगाडि

शिवप्रसाद सिग्देल
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या गरियो, हत्यारालाई बेलायतमा पठाउने व्यवस्था गरियो। हत्यारा रुद्र आचार्य ठहर भइसकेको छ, तर आदेश दिने एमाओवादीले रुद्र आचार्यलाई अहिलेसम्म बचाए पनि अव बचाउन मुस्किल देखिदैछ। यो मुद्दा अन्तर्राष्ट्रिय चासोमा परिसकेको छ। यी रुद्र आचार्यलाई बेलायतबाट फर्काउने प्रयास सुरु भइसकेको छ। यिनलाई नेपाल फर्काउन सकियो भने यिनले एमाओवादीको आदेशमा हत्या गरेकाले एमाओवादी नेताहरु पनि फस्नेछन्। रुद्र आचार्य मोष्टवान्टेड सूचीमा छन्। सूचीमै नरहेका तर जनयुद्धमा अमानवीय यातना दिएका कर्णेल कुमार लामालाई एयरपोर्टबाटै पक्राउ गरेर बेलायत बन्दीका रुपमा राख्ने बेलायतले रुद्र आचार्यलाई आफ्नो मुलुकमा किन संरक्षण गरिरहेको छ भन्ने प्रश्न पनि उठेको छ। बेलायत यो घटनामा संवेदनशील भएको देखिन्छ।
हत्या भएका कृष्णप्रसाद अधिकारीका बाबुआमा लामो अनसन बसे, बाबुको नन्दप्रसाद अधिकारीको मृत्य भएर शिक्षण अस्पतालमा उनको शव लामो समयदेखि सदगद नगरी राखिएको छ। न्याय नपाएसम्म सदगत नगर्ने अडानले यस्तो भएको हो। आमा गंगामायाले फेरि अनसन सुरु गरेकी छिन् र उनले मानवाधिकारवादीहरुलाई भनिसकिन्– मलाई बचाउन आउने भए न्याय लिएर आउनु। अन्यथा मलाई अनसन गरेरै मर्न दिनु। एड्भोकेसी फोरम र अधिकारकर्मी विकास बस्नेत तातेर प्रहरी गुहारेपछि प्रहरी रुद्र आचार्यलाई फर्काउने प्रयासमा लागेको छ। प्रहरीले भनेको छ– 'निज अभियुक्त रुद्र आचार्य बेलायतको कुन क्षेत्र र स्थानमा रहेको छ भन्ने बारे एकिन गर्न इन्टरपोल लण्डनलाई समेत अनुरोध गरिएको छ। नेपालसँग सुपुर्दगी सन्धि नभएको मित्र राष्ट्र बेलायतबाट निज अभियुक्तलाई झिकाउने थप प्रयासका लागि इन्टरपोल महासचिवालयको समेत समन्वय र सहयोग लिइएको छ।' यसरी नेपाल प्रहरी ब्यूँझेको अवस्थामा बेलायतले ना नु गर्नसक्ने स्थिति रहने छैन। सिकिस्त अवस्थामा पुगिसकेकी गंगामाया पनि अस्पतालमै प्राण त्याग गर्न पुगिन् भने नेपालको लोकतन्त्र अरु बदनाम हुनेछ।
एमाओवादी सत्य निरुपण तथा मेलमिलाप आयोगबाट जनयुद्धकालका सबै आपराधिक कार्यसमेत आममाफीमा पार्ने र पीडितलाई राज्यबाट क्षतिपूर्ति दिलाउने प्रयासमा लागेको छ। तर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट गम्भीर अपराधमा आममाफी हुनुहुन्न भन्ने दबाब दिदै आएका छन्। ठूला दलहरु आफूले निर्णय गरेपछि जे पनि लोकतान्त्रिक हुन्छ भनेर सत्ताको लेनदेनमा जनयुद्धकालीन फौजदारी अपराधहरुलाई पनि राफसाफ गराउने रणनीतिमा लागेका छन्। आमा गंगा अधिकारीका लागि न्याय महँगो बन्दै गएको छ। आफ्ना श्रीमान नन्दप्रसादको शव अस्पतालको फ्रिजमा रहेको छ भने छोराका हत्यारालाई दण्ड दिलाउन सकेकी छैनन्। नरहरि आचार्यजस्ता खरा कानुनमन्त्री र सम्पूर्ण अधिकारकर्मी र नागरिक समाज लागिपर्दा पनि जवान छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कानुनको कठघरामा उभ्याउन नसक्नु कानुनको पनि हार नै हो।