Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

अव सापहरुले डस्न सक्दैनन : गोविन्दप्रसाद पौडेल

११ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

१६ बुँदे सहमतिपछि संविधानको मस्यौदा जनतासम्म पुर्‍याएर सुझाव संकलन भइसकेको स्थितिमा केपी ओली दिनदिनै आक्रामक रुपमा प्रस्तुत हुनथालेका छन्। मानौं केपी ओली वर्तमान राजनीतिको प्रमुख पात्र हुन्। उनी विरामी नेता हुन् तर उनको व्यवहार देख्दा लाग्छ, उनीभन्दा स्वस्थ अरु कुनै नेता नै छैनन्। कस्तो रहेछ: सत्ता र शक्तिको चस्का। संविधान घोषणा हुनासाथ एमालेलाई सत्ता हस्तान्तरण गर्ने कांग्रेससँगको पूर्व सहमति र १६ बुँदे सहमतिको जगमा संविधान निर्माण र घोषणाको तैयारी अन्तिम चरणमा पुगेपछि एकाएक केपी ओली जाज्वल्यमान नेताजस्ता देखिन थालेका छन्। ओली गोलीमय बनेका छन्।
पूर्वराजाले साउन ६ गते हनुमानढोका परिसरको पशुपतिनाथ मन्दिरमा क्षमापूजा सम्पन्न गरेर संविधानको मस्यौदा विभेदपूर्ण भएकोले अर्को मस्यौदा ल्याउन आग्रह गरेका थिए। र, पूर्वराजाले जनताको रायसुझावअनुसारको संविधान जारी गर्न आग्रह गरेका थिए। त्यसको तेस्रो दिन हिमानी ट्रष्टकी अध्यक्ष पूर्वयुवराज्ञी हिमानी शाहले जनताको सुझावसहितको संविधान आउनुपर्ने र आफ्नो पनि जनताकै जस्तो मत भएको अभिव्यक्ति दिएकी थिइन्। स्मरणीय छ, जनताले मस्यौदामा सुधार हुनुपर्ने र संविधानमा हिन्दूराष्ट्र उल्लेख हुनुपर्ने बढी सुझाव दिएका छन्। यही विषयलाई मुद्दा बनाएर केपी ओलीले साउन ७ गते नै तीब्र प्रतिक्रिया दिए– 'दुलोभित्रबाट साँपहरु मुन्टो बाहिर ल्याएर दाउ हेर्दैछन्, त्यस्ता दाउ अव पूरा हँुदैनन्। जनताका सुझाव आवश्यकता र औचित्यका आधारमा समेटिने बताएर जनताका सुझावहरु काँटछाँट हुने संकेत गरिदिएका छन्। सत्तामा जान पाउनेभएपछि केपी ओली जनताभन्दा माथिका नेता हुँ भन्ने दम्भमा पुगेका छन्।
नेपाली सेनाले संविधानको मस्यौदामा सेनामाथि राजनीतिकरण गर्न खोजेको बताइसकेको छ। यसतिर पनि ओली पड्किए र संविधानसभाले निष्पक्ष निर्णय गर्ने बताए। हिन्दूराष्ट्र हुन नसक्नेतिर संकेत गर्दै धार्मिक स्वतन्त्रता उल्लेख गर्ने घोषणा समेत गरिदिए। तर नामांकन सिमांकनका विषयमा पछि निर्णय हुने कुरा गरेर ओलीले प्राथमिकता आफू प्रधानमन्त्री बन्ने विषयलाई दिएका छन्। यथार्थमा जनताले दिएको सुझावको विपरित आफै साँप बन्ने र जनसुझावमाथि डस्ने तैयारीमा चारशक्ति लागेको देखाएर ओलीले पूर्वराजातिर व्यङ्ग कसे। यथार्थमा केपी ओलीको विशेषता भनेकै अचारजस्तो च्वाट्ट व्यङ्ग कस्नु न हो।