रोशन कार्की
राष्ट्रपतिजी, चुरे किन नाडीको चुरा फुटेझैं नांगिदैछ? चुरे संरक्षण गुरुयोजना राष्ट्रपतिकै पहलमा सुरु गरिएको हो र प्रत्येक सालको बजेटमा ठूलो धनराशी छुट्याइने गरिन्छ। गतवर्ष १ अर्व र यसवर्ष पनि ९६ करोड बजेट छुट्याइएको छ। तैपनि चुरे क्षेत्रको दोहन जारी छ। राष्ट्रपतिले पनि रोक्न सकेनन्, चुरेको शोषण। चुरे क्षेत्र दिनदिनै पहिरो, बाढी, भूस्खलनको सिकार हुँदै गएको छ। चुरे क्षेत्रमा जंगल कटान बढेको छ, रोडा बालुवा झिकिदैछ र चुरे नांगिदै जाँदो छ। गतवर्षको माघमा चुरे संरक्षणको २० वर्षे योजना बनाउने काम सुरु भयो। ३ करोड खर्च भइसक्यो भत्ता र सुविधामा अहिलेसम्म कुनै योजना बन्न सकेको छैन। सरकारले आगामी पुससम्म योजना बनाउने म्याद थपिदिएको छ। चुरे तराई मधेस संरक्षण विकास समिति सुतेर भत्ता र सुविधाको स्वाद लिइरहेको छ। राष्ट्रपतिको चासोको योजना भए पनि चुरे संरक्षणमा राष्ट्रपतिसमेत तमासेमात्र बनेका छन्। गफ गर्छन्, भाषण हाँक्छन्, कति प्रगति भयो, कुनै रेखदेख गर्दैनन्।
प्रतिमहिना ३ लाखसम्म भत्ता खाने विज्ञहरु समावेश गरेर पनि चुरे संरक्षणमा कुनै प्रगति हुननसक्नुले ल्याकतको तह पनि देखिएको छ। नियत नै खराव भएपछि र चुरे दोहनकारी दलालहरुसँग मिलेर उताबाट पनि लाभ लिनेहरु समितिमा भएकाले चुरे संरक्षण देखाउने साइनबोर्डमा सिमित हुनपुगेको चुरे क्षेत्रका बासिन्दाहरुकै आरोप छ। चुरे बुझौं, बुझाऔं जस्ता जनचेतनामुलुक कार्यक्रमहरु पनि बेला बेलामा गरिन्छन् तर यस्ता कार्यक्रमहरु भाषण र भत्तामा सिमित हुने गरेका छन्। यथार्थमा फिल्डमा खटिएर परिपक्व योजना निर्माण र कार्यान्वयन गर्न नसकिएपछि प्रश्न उठेको हो– राष्ट्रपतिजी चुरे किन नाडीको चुरा फुटेझैं नांगिदै छ? तैपनि राष्ट्रपति डा.रामवरण यादव चुरेप्रति चिन्ता गर्छन् र त्यो चिन्ता फिल्डमा देखिदैन। असान्दर्भिक ठाउँमा गरिएको चिन्ताले समाचार बन्छ, चुरे जोगिन सक्दैन, चुरेमाथि दिनरात भइरहेको दोहन रोकिदैन। अहिले पनि चुरे क्षेत्रमा रोडा, ढुंगा, काठ उद्योगहरु चलिरहेका छन्। चुरे दिनदिनै नांगिरहेको छ र बजेट खर्च भइरहेको देखिन्छ।