Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

क्रिश्चियन बोक्नेहरु भजन कीर्तनले पग्लेलान्?

१८ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

हिन्दूराष्ट्र माग्दैछन् हिन्दूवादीहरु सडकमै भजनकीर्तन गरेर। बाटोमै लम्पसार परेर जेष्ठ नागरिक डेढवर्षसम्म सुतेर आन्दोलन गर्दा त राजनीतिक दल र सरकारले बल्ल बल्ल तिनको मागलाई संवोधन गर्न सुरु गरेको छ। क्रिश्चियन धर्मलाई ढोका खोल्न हिन्दूमुलुकलाई धर्मनिरपेक्ष मुलुक घोषणा गर्नेहरुले यस्ता भजनकीर्तन गरेर हिन्दूराष्ट्र चाहियो भन्दैमा सुन्लान् र तिनको माग संवोधन हुन्छ भनेर कसरी पत्याउने? चितवन, दाङ, नवलपरासी लगायतका क्षेत्रमा यसैगरी दिनभरि भजनकीर्तन गरेर हिन्दूराष्ट्र चाहियो भन्नेहरु जुटेका छन्। उखरमाउलो गर्मीमा नयाँ बन्ने संविधानमा नेपाललाई हिन्दूराष्ट्र घोषणा गर भन्ने भजन भइरहेका छन्। साउनको १३ गते लाग्यो चर्को घाम
हिन्दूराष्ट्र बनाउन लेख संविधान।
हिन्दूराज्य भनेर बनाउ संविधान
नत्र भने हामीले गर्छौं आन्दोलन।
तिनको भजन यस्तै यस्तै भाषाका छन्। भजनमार्फत नै तिनले हिन्दूराष्ट्र मेटाएर देशलाई बर्बाद पार्न लागेको आरोप पनिलगाएका छन्। तिनीहरुले भजनबाटै हिन्दूराष्ट्र नलेखिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। हिन्दूराष्ट्र बचाउन अभियानमा देशैभरिका हिन्दूवादीहरु जुट्ने क्रम बढेर गएको छ। यिनले बन्दसमेत गरेर आन्दोलनलाई आक्रोसित पार्दै लगेका छन्। यता राजधानीमा राप्रपा नेपालले पनि हिन्दूराष्ट्रका लागि आन्दोलन गर्ने तैयारी गर्न थालेको छ। पार्टीले कार्यकर्ताहरुलाई आन्दोलनका लागि तैयार हुन निर्देश दिएको छ।
र, हिन्दूराष्ट्रका अभियन्ता बनेका छन् कांग्रेसका खुमबहादुर खड्का। खड्काले संविधानमा हिन्दूराष्ट्र लेखिएन भने कडा आन्दोलन गरिने चुनौती दिइसकेका छन्। र, हिन्दूगुरु कमलनयनाचार्यले हिन्दूत्वका लागि हतियार उठाउन परे उठाउनु पर्छ भनेर दिएको अभिव्यक्तिको आलोचना भएपछि उनले एवीसी टिभीमार्फत शनिवार साँझ आफ्नो बचाउमा अन्तर्वार्ता नै दिएका छन्। उनले गुरु परशुरामलाई सम्झेका छन्, हिन्दूधर्म साह्रै सहनशील भएको पनि बताएका छन्। र, उनले लोभलालचमा धर्म परिवर्तन गर्न रोक लगाउनु पर्ने माग पनि अघि सारेका छन्।
हिन्दूराष्ट्र लेखिनुपर्छ भनेर संविधानको मस्यौदामा सुझाव माग गर्दा जनताले आफ्नो कर्तव्य निर्वाह गरिसकेका छन्। जनताले दिएका अन्य ८ सय प्रकारका सुझावहरुलाई संविधानमा कसरी समायोजन गर्ने भनेर चार दलका बडे नेतालाई अधिकार दिएका थिए। चल्तीफिर्तीका नेता प्रचण्डले धर्मनिरपेक्ष राष्ट्र नै राखिनुपर्ने र धर्मनिरपेक्षताको अर्थ धार्मिक स्वतन्त्रता भनेर उल्लेख गर्ने अडान लिएर क्रिस्चियन धर्म प्रचारकहरुलाई खुशीपार्ने प्रयत्न गरेको समाचार सार्वजनिक भएको छ। तर, हिन्दूधर्म उल्लेख भएन भने के होला? धार्मिक स्वतन्त्रतामात्रै लेख्ने वीचको बाटो लिने कि धर्मका बारेमा केही उल्लेख नै नगर्ने भन्नेहरु पनि निस्किएका छन्। धर्म, संवैधानिक राजतन्त्र र गणतन्त्रका विषय मुद्दा हुन्, यी मुद्दामा जनादेश लिनैपर्छ, जनमत संग्रह गरौं भनेर राप्रपा नेालले गरेको प्रस्तावलाई कसैले ध्यान दिएनन्।
समाचार छ– संविधानमा धर्मनिरपेक्षता कायम राख्नका लागि अन्तर्राष्ट्रिय धर्मप्रचारकहरु विभिन्न माध्यमबाट सक्रिय भएका छन्। उनीहरुले जति चाहिन्छ पैसा दिन्छौं, पूर्वसहमति कायम राखेर नेपाललाई धर्मनिरपेक्ष मुलुक भनेर संविधानमा यथावत रुपमा राखियोस्। यसको अर्थ सबैले बुझ्न जरुरी छ कि नेपालको संविधान २०७२ लेख्न र घोषणा गर्न नेपालीभन्दा विदेशी चलखेल बढी छ। नेपाली जनताले दिएको सुझावको संवोधनभन्दा बढी महत्व विदेशीबाट प्राप्त हुने आर्थिक लाभ बढी प्रभावकारी देखिन थालेका छन्। संविधानसभामा भएका ६०१ सभासद जनताप्रति, देशप्रति उत्तरदायी हौं भने पनि चार दलका चार नेताले देशको भविष्यलाई अन्धकारमा हाल्ने खतरा छ, धर्म राजनीतिक हुँडलो बनेको देखिदैछ।    – मुरारी केसी