अधिवक्ता शिवप्रसाद सिग्देल
जनतालाई संयमित हुन आग्रह गरिरहेका सत्तामा आहाल बसेका नेतृत्व तहले किन बिर्सेका होलान्– विवेक र संयम शासितलाई भन्दा बढी शासक बर्गमा हुनुपर्छ। शासकले जतिसुकै दमन गरे पनि, शोषण गरे पनि जनताले संयमित भएर सहिरहनु लोकतन्त्र होइन। लोकतन्त्रमा जनताले आफ्ना पक्ष खुलस्त राख्न पाउनुपर्छ, तिनलाई आफ्ना पक्ष राख्न दिनुपर्छ र विवेकसम्मत भएर लोकमाथि शासन गर्नेले संवोधन गर्नुपर्छ।
कांग्रेस र एमाले सत्तामा छन् र तिनलाई संविधान बनाउने नाममा एमाओवादीले सघाइरहेको छ। तिनका निर्णयलाई नमान्ने जनताले सडकमा आन्दोलन गर्न गए हुन्छ भनेर राज्यलाई निरंकूशतापूर्ण दमन गर्न उक्साइरहेका छन्। यो सही होइन। जनताले आन्दोलन थालेका छन् भने निश्चय नै जनविरोधी सोचका विरुद्ध आन्दोलन भइरहेको छ। जनताले नचाहने काम भइरहेको छ। त्यसलाई विवेकसम्मत भएर संयमका साथ संवोधन गर्न छाडेर आफ्ना निर्णय लाद्न खोज्नु दुर्भाग्य हो। सत्ताधारी र सहयोगी दलका नेताहरु मर्यादाविहीन र अलोकतान्त्रिक चरित्र देखाइरहेका छन्। संविधानसभाको समेत घोर अपमान गरिरहेका छन्। दुई तिहाई बहुमत छ, ह्याकुल्लाले मिचेर संविधान पास गर्न सकिन्छ, आन्दोलन दबाउँ भन्ने अहंकारी राहु यिनको शीर चढेको होला तर संविधान देश र जनताका लागि ल्याउन लागेको हो। जनताले त्यो संविधानलाई अमान्य गरिदिए भने कति दिन जबरजस्ती यो संविधानले शासन गर्न सकिएला? स्मरणरहोस्, २०४७ सालको संविधानलाई संसारकै उत्कृष्ठ भनिएको होइन, के भयो हालत?
भूकम्पले संविधान जारी गर्न प्रेरित गरेको छ। राष्ट्रिय सरकारको गठन र पुनर्निर्माणका लागि जुट्ने अवसर दिलाएको छ। यो अवसरलाई हडबडीमा गडबडी गर्नु भनेको फेरि पनि राजनीतिक असफलता नै हुनेछ। सत्ता र पुनर्निर्माणको ६ खर्ब ७० अर्वमा हिस्सेदारी खोजेर संविधान बन्दैछ भन्ने कुरा जनताले बुझेका छन्। भागबण्डा मिलाउनमात्र संविधान सिमित भइदियो भने अर्को परिवर्तनलाई यिनले रोकेर रोकिनेछैन। यिनको विश्वास समाप्त भएपछि गर्ने के? जनताले ज्यान दिए, रगत बगाए। रगतले संविधान लेखिदैछ। रक्तपात रोक्न र शान्ति तथा खुशहालीका लागि संविधान लेखिएका इतिहास छन्। कतै नेपालमा संघारमा आएको शान्ति प्रक्रिया, प्रगति र समानताको सपनालाई चकनाचूर पार्न संविधान नलेखियोस्। जनयुद्ध र जनआन्दोलनपछिका दिनमा राजनीतिक दलहरुका मुखुण्डा उत्रिसकेका छन्। अव आफूलाई अकर्मण्य साबित नगरुन्। संविधान मूल कानुन हो, कानुनको शासन स्थापित गर्नतिर यिनलाई प्रेरणा मिलोस्।संविधान जारी हुने दिन जनताले स्वागत गीत गाउन्, फूलमाला बर्साउन्, दिपावली होस्। तव न राजनीतिक सफलता भन्ने देखिन्छ। यसकारण अहिले मुलुकभरि फैलिएको जनअसन्तोषपूर्ण आन्दोलनलाई गम्भीरतापूर्वक लिइयोस्। विदेशी अथवा अतिवादी चलखेल भनेर जनताको आन्दोलनलाई हल्का रुपमा लिनु भनेको राजनीतिक अदूरदर्शीता नै ठहरिनेछ है।