Advertisement Banner
Advertisement Banner

३१ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कुनै नेताले पनि जनता र देशबारे बोलेनन्

२६ सोमबार , पौष २०७८५ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ - - - 
गगन थापा, विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका होनहार युवापुस्ता मानियो । अधिवेशनबाट महामन्त्रीमा चुनिएपछि त कांग्रेसमा अब सुधार हुन्छ, युवा पुस्ताले कांग्रेसभित्र जबरजस्त प्रजातान्त्रिक, राष्ट्रवादी सुधारका लागि केही गर्छन् भनेर हरेक तह र तप्कामा चर्चा चल्यो । तर चुनाव जितेर पदस्थापन भएपछि त न गगन थापा बोल्छन्, न विश्वप्रकाश शर्मा नै । अन्य दलका युवाहरू बोलेनन्, नेतृत्वको छायाँमा लाट्टिए भनेर मानै पनि यी त प्रजातान्त्रिक थिए, फेरि किन गगन थापा र विश्वप्रकाशजस्ता बोलक्कड युवाहरू बोल्दैनन् ? के भइरहेको छ युवा नेतृत्वलाई ?
हिजो नेकपाका नेता ओलीका विरूद्ध आक्रामक थिए गगन थापा । सुधारका पक्षमा थिए विश्वप्रकाश शर्मा । उता कालापानी, लिपुलेक क्षेत्र भारतले नक्सामा हाल्यो, रक्षा मन्त्री राजनाथ सिंहले मानसरोवर जाने राजमार्ग उद्घाटन गरे, अहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लिपुलेकबाट मानसरोवर पुग्ने राजमार्ग बनाइयो, यो निर्माण कार्य अझ तीब्र गतिमा हुनेछ भनेर भाषण गर्छन् । सत्तामा कांग्रेस छ, कांग्रेसमा गगन, विश्वप्रकाशजस्ता युवा छन्, बोल्दैनन्, पटक्कै बोल्दैनन् ?
यता राजदरवारभित्र बतासे ग्रुपले नाइट क्लव खोल्न निर्माण नै थालेछ । एउटा मन्त्रीले बोले, छानबिन गराउन थाले, निर्माण भत्काइदिए । सत्ताको नेतृत्व प्रधानमन्त्री बोल्दैनन्, प्रजातान्त्रिक कांग्रेसका युवाहरू पनि बोल्दैनन् ।
यसकारण प्रश्न उठेको हो– के कांग्रेस प्रजातान्त्रिक मात्र हो, राष्ट्रवादी होइन ?
के सचेत युवा चेतपूर्ण विवेक बाँच्छन् कि नेतृत्वले दिने चिचीपापा खान्छन् ?
नेपाली जनताले धेरै देखे, धेरै भोगे, धेरै सिके । जनता पनि युवाले गर्लान्, अब त पार्टीहरू सुध्रिएलान्, अब त नेताहरूले अग्रगमनकारी भूमिका खेल्लान भनेर कुरिरहन्छन् । कुकुरको पुच्छर सोझिनु र नेता सुध्रिनु उस्तै उस्तै भइरह्यो ।
पार्टीहरू चिनिए, लिङ्देनले भनेजस्तो ‘चोर नेता’ भनेरै चिनिए ।
हरेक पार्टीका अधिवेशन भए, अधिवेशनमा देशको स्थितिबारे बहस नै भएन । सीमा समस्या, सुशासन, लोकतन्त्रबारे पनि कुनै बहस हुनसकेन । अधिवेशन भनेको पार्टीहरूले गरेका भूल सच्याउने, आगामी दिनमा कसरी अघि बढ्ने भन्ने राजमार्ग निर्माण गर्ने वैचारिक अवसर पनि थियो । तर न राप्रपा, कांग्रेस, एमाले, माओवादी कुनै पार्टीमा पनि राष्ट्रिय संक्रमणका बारेमा कुरै उठेन । खाली नेतृत्व कसले लिने, नेता को को बन्ने, नेताका छेउछाउमा कसरी पुग्ने, कसरी बस्नेमात्र प्रतिस्पर्धा भयो । बिधि, नीति, सिद्धान्त परै जाओस्, लोकलज्जा समेत कसैले मानेको देखिएन ।
अनि भारतले हेप्दैन, अरूले हेप्दैनन्, हामी आफै रित्तिदैनौं ?