Advertisement Banner
Advertisement Banner

१४ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

रितीभित्रको कुरिती ढिकी डान्सले हट्दैन

२० सोमबार , भाद्र २०७९४ बर्ष अगाडि

देवी काफ्ले - - 
हिन्दु धर्म र नेपाली परम्परा अनुसार तीज नेपाली महिलाहरूका लागि महान् चाड हो । बिषेशत कृष्णजन्माष्टमी देखि तीजको रौनक शुरू हुन्छ र ऋषिपन्चमी पूजा गरेपछि समापन हुन्छ ।ऋषि पन्चमीमा अरून्धती सहित सप्तऋषिको पूजा हुन्छ ।  यो पूजा महिलाहरू रजस्वला भए पछि छुन नहुने वस्तुहरू छोइए बापत पाप कटानी गर्न गरिन्छ । भविष्योत्तर पुराणमा भनिएको छ भगवान ईन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाई मारेपछि ब्रह्माजीले भगवान ईन्द्रले गरेको पापलाई मोचन गर्न त्यो पापलाई चार ठाउँमा बाँडिदिए  ।
जसअनुसार पहिलो पापको पूल्ठो अग्निको धूँवा मिश्रित ज्वालामा, दोश्रो नदिहरूमा बग्ने फींज भएको बर्षाको जलमा, तेश्रो पहाड पर्वतमा भएका रूखमा उम्रिने ऐजेरू तथा कापमा बसेको ढुङ्गाको काइको रूपमा तथा चौथो नारीजातिहरूको रजस्वलाको रूपमा । यसकारण मासिक धर्मका समय लाग्नेपापहरूको निबृतिको लागि यो व्रत महिलाहरूद्वारा गर्ने चलन बसेर गयो । धार्मिक पुस्तकमा उल्लेख भए अनुसार महिलाहरू त्यहि चलनलाई आत्मसात गर्दै गए ।आज पनि गरिरहेकै छन् ।
आजको बैज्ञानिक युगमा कसैले गरेको पाप अरू कसैको शिरमा थोपरेर अनि थोपरिएको मान्छेले पूजाका माध्यमबाट कटनी गर्ने भन्ने कुरालाई कसरी पत्याउनु ?
सृष्टिको सुन्दर संरचना पुरूष र महिला दुबै हुन् । रजस्वला सन्तान उत्पादनका लागि महिला शरिरमा हुनैपर्ने कृया हो । यदि महिला रजस्वला भैनन् भने उनमा सन्तान उत्पादनको क्षमता हुदैन । जब सृष्टिको सुन्दर संरचना गर्ने प्रकृयालाई नै पापको भारी मानिन्छ भने धर्म के मा हुन्छ ?
एक्काइसौं शताब्दीमा पनि पाप पखाल्नकै लागि शहरिया र शिक्षित महिला नै अग्रसर छन् । छाउपडीका किन बिरोध गर्नु ? सरकारले छाउ भत्कायो । छाउ भत्काएर यो चलनलाई सुधार्ने चेतना जागेको छ त छैन । आज पनि छाउ पडेका किशोरीहरू देवता रिसाउने डरले बारेकै छन् । गाउँमा त के कुरा शहरमा पनि फरक रूपले छाउ बार्छन् । बोल्दा सुधारिएर बिरोध गरेपनि पाप कटाउन त पर्छ भन्ने मान्यता छ । जबसम्म मनबाट छाउपडि भत्काउन सकिँदैन तबसम्म छाउगोठका माटो र ढुंगाका गाह्रो भत्काएर परिवर्तन हुनेवाला छैन ।
ऋषिपन्चमी पूजाकथा अनुसार महिलाले अरूलाई नखुवाई खानु पाप, रजस्वला हुनु पाप, हिड्दा कमिला मरे पाप, चर्को बोले पाप, रिसायर बोले पाप उल्लेख छन् । के पाप भन्ने कुरा महिलालाई मात्रै लाग्ने हो ? रजस्वला हुंदा बगेको रगतका कारण महिला कमजोर हुन्छिन् । पोषिलो खुवाउने, गह्रौं काम नगराउनुको सट्टा गाउँघरमा बाहिरको भारी कामै  गराइन्छ । दूध खायो भने भैंसी रूख चढ्छ, अझ गाईको दूध खायो भने त महापाप लाग्छ भनिन्छ । यस्तो रूढिवादी परम्परालाई ब्यवहारमा परिवर्तन गर्नुको साटो पाप पखाल्न लाग्छन् बिडम्वना ।
आजको जस्तो सुबिधा नभएकोले होला पहिलेका छाउबार्नुको कारण सरसफाई र रोगब्याधीबाट वच्न हुनसक्छ । त्यतिबेला प्याड थिएन । खुट्टामा रगतका धारा लाउदै भान्छा वा ओछ्यानमा जाँदा फोहोर हुने कारणले पनि बारेको हुनुपर्छ । तर आज सबै सुबिधा प्राप्त छन् । हुन त आज आयातित संस्कृति बढ्दो छ । खर्च गर्ने भन्ने होडबाजी छ । देखासिकी गरेर तामझाम देखाउन पाए सम्मान बढ्ने भ्रम छ । वास्तवमा पाप कटनी गर्न भन्दा पनि बढी साडी र गहना प्रदर्शन गर्ने होडबाजी पो हो कि ? शहरिया र सभ्रान्त, शिक्षितहरू नै सुधारेर लैजानुपर्ने परम्परालाई झन अंगालेर हिडेको देख्दा शंका लाग्न थाल्यो । केही महिला नेतृहरू तथा अभियन्ताहरू स्वस्थानी किताबको निकै खण्डन गर्छन् तर ऋषिपन्चमी कथाको बारे बोलेको सुनिदैन । मैले स्वास्थानी कथा र ऋषिपन्चमी कथा पढ्दा स्वस्थानी कथा भन्दा कैयौं गुणा धेरै पन्चमी कथामा महिला प्रति अपमानित गरेको भेटेकी छु । धर्म र परम्परा नै त्याग्नुपर्छ भन्ने मान्यता मेरो होइन, सुधारेर लैजानु पर्छ भन्ने हो ।
अझै पनि तिनसय पैसट्ठी दतिवन, कुमालकुटीको माटो खोज्दै रहने हो भने छाउको बिरोध नगरे हुन्छ । समग्रमा रितीभित्र रहेका कुरिती हटाउन भाषणले होइन ब्यवहारले सकिन्छ । आफैबाट शुरू गरौं । सचेत महिलाहरू नै कुरितीलाई हटाउन अघि सर्दैनन्, रितीलाई समयानुकूल बनाउनु पर्छ भनेर अघि सर्दैनन् भने अशिक्षा र गरीबीले ग्रस्त समाज कसरी अग्रगमनको मार्ग पक्रन सक्छ र ?