बहुतै छिटोछिटो झल्याकझुलुक रुपमा राजनीतिक परिदृश्यहरु बदलिरहेका छन्। अझ कूटनीति त झन घण्टाघण्टामा फरक देखिएको छ। खारगरी गत असोज ३ गते प्रमुख तीन दलद्वारा तीन दलकै निम्ति मात्र ल्याइएको नेपालको संविधान २०७२ 'अमान्य' संविधान (देशका ठूलो जनताको जमातलाई अमान्य) का कारण देशभित्र मात्रै होइन कि देश बाहिर छिमेकी भारतलाई समेत असन्तुष्ट बनायो। देश भित्रका मधेशी र थारुका दलहरु अहिले सिमाना (थारु अहिलेसम्म नाकाबन्दीमा छैनन्) बन्द गर्नतिर लागेका छन् भने उता सिमानामा नै रहेको छिमेकी भारत चैं अघोषित नाकावन्दी गरिरहेको छ। भूपरिबेष्ठित मुलुक नेपाललाई आजसम्म यसरी नै सबक सिकाउँदै र 'कब्जा' मा लिइरहेको भारतले यसपटक 'जनताको सरकार'लाई पनि छाडेन। हिजोसम्म एकतन्त्रीय, सामन्ती, निरंकूश भनिएको 'राजाको सरकार'लाई मात्र दुःख दिने भनेर प्रचारित भारतको नियत अव सबै खाले नेपालीहरुलाई पनि त्यही 'भावना' ले (दुःखदिने) समेट्ने नै रहेछ भन्ने कुरा यहाँका सबैले बुझे। भारतका लागि नेपालको स्थायित्व, स्थिरतासँग कुनै सरोकार रहेनछ, उसका लागि भारतको स्वार्थ नै मित्रताको खोल ओढेर काम गरिरहेको रहेछ भन्ने प्रष्ट भयो।
अव त बुझे होलान् नि भारतमुखी हाम्रा नेताहरुले। आफ्नो स्वार्थमा किन्चितमात्र धक्का लाग्यो भने, आफ्नो मुठ्ठीबाट नेपालको प्रभाव र दबाबको गाँठो फुस्किने अनुभूति भारतलाई भयो भने उसले आँखा चिम्लेर नेपालमाथि दुःख दिनेगर्छ। आफ्नो धोती नै खुस्के पनि भारतले स्वार्थमा तलमाथि हुन दिदैन। अहिले नेपाललाई अघोषित नाकाबन्दी गरेर र दशगजामा धर्ना आन्दोलन गर्न लगाएर भारतले जुन चरित्र देखाइरहेको छ, यो देखेर अन्तर्राष्ट्रिय समुदाय चकित परेका छन्। र, भारत र पाकिस्तानवीचको काश्मीर बिबाद किन सुल्झने, यसमा भारत कुन हदसम्म जिम्मेवार छ भन्ने झझल्को पनि विश्वले थाहा पाएको छ। नेपालजस्तो सानो मुलुकलाई अँठ्याउन नछाड्ने भारतले दक्षिण एसियामा कसैलाई पनि छाड्दैन भन्ने प्रष्ट भयो।
छिमेकी सबैसँग मित्रता बलियो पारेर विश्वशक्ति बन्ने मोदीले देखेको सपनाको पहिलो कास्टिङ दृश्य हो नेपालमाथि भारतले गरेको हस्तक्षेप। स्मरणीय छ, भारतको यस्तै अहंकारी र स्वार्थी व्यवहारले गर्दा दक्षिण एसियामा कुनै मुलुकसँग पनि भारतको राम्रो रिस्तेदारी रहेको छैन। भारतले नेपालमाथि समस्या थोपरिदिएको छ। भारतीय नाकावन्दीको डटेर सामना गर्ने कुरा गत शनिवार प्रधानमन्त्री निवासमा बसेको सर्वदलीय बैठकले गरेको छ। तर अधिकांश मानिस 'डटेर' होइन कि यिनले अझै 'लम्पसार' परेर सामना गर्ने हुन् कि? भन्ने शंका छ धेरैलाई। किनभने हिजोसम्म दिल्ली दौड लगाएर नेपाली राजनीति गर्ने नेताहरुले 'साइकल चड्छु' भने पनि तिनको हावादारी भाषणलाई जनता पत्याउन तैयार छैनन्। जनताको विचारमा भारतबाट यो संविधानलाई मान्यता दिलाउन यिनले अझ के के पो 'छाड्ने' हुन्? भन्ने पो आशंका छ। झन एमाओवादीका बरिष्ठ नेता एवम् भारतमुखी वामपन्थी भनेर चिनिने डा.बाबुराम भट्टराईले उक्त एमाओवादी पार्टीलाई पूर्ण रुपमा छाडेर नयाँ मोर्चा खोल्नतिर अग्रसर हुनुले पनि अव भारतले यी मधेशी बाहेक पहाडीया (बाबुराम) हरुलाई नै अर्को गोटीको रुपमा चाल्ने आँकलन सुरु भएको छ।
यसैवीच प्रधानमन्त्रीका एकमात्र उमेदवार भनेर अहिलेसम्म चिनिएका केपी ओलीले भारतसँग वार्ता भइरहेको छ, चाँडै नै सिमाना खुल्छ भनेर बताउनुले प्रधानमन्त्री भइसकेपछि भारतका लागि ओलीले 'गर्नुपर्ने काम'हरुको फेहरिस्त पाइसकेको दावी गर्ने उपबुज्रुकहरु पनि निकै छन्। तर होइन, अगाडि देख्दा मधेशी र थारुहरु देखिए पनि भित्री 'इच्छा र चाहना' अरु नै छन् भारतका। अझ ०६२–६३ को 'गल्ती'लाई सुधार्न इच्छुक भारतलाई यहाँका प्रमुख तीन दलले 'पानी खन्याई' दिएपछि क्रुद्ध भएको भारत र यहाँको परम्परागत शक्ति अहिले 'एक भएको' कुरा बताउने चिन्तककहरुको पनि कमी देखिदैन। तथापि त्यो मुद्दा अहिलेसम्म उठ्नुले अव उठान कसरी हुन्छ? त्यो नै थाहा हुन र बुझ्न सकिएको छैन। त्यस खेमाका मानिसहरुले भारतीय प्रधानमन्त्री मोदीले 'सबको समेट्के चलिए' भन्ने आशय व्यक्त गरेको खाली मधेशी र थारुहरु प्रति मात्र लक्षित थिएन, त्यो त परम्परागत शक्ति अर्थात राजतन्त्रतर्फ पनि लक्षित थियो भनेर अर्थ्याउन थालेको पनि उहिलेदेखि नै हो। जेहोस्, आउँदो असोज १५ देखि राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गरेर एउटा प्रश्नको अर्थात संसदको बैठक सुरु भएको ७ दिनभित्र प्रधानमन्त्री को हुने? भन्ने विषयलाई उठान गराइदिएका छन्। यसै संसदले नयाँ प्रधानमन्त्रीको निर्क्यौल गर्छ। तर यही मेसोमा तीन प्रमुख दलका वीच 'तनाव' सुरु नहोला भन्न सकिन्न। हेर्दै गए हुन्छ, यो मुलुकमा यतिबिघ्न भाँडभैलो हुन्छ कि यी दल र ती कार्यकर्ताहरु (नेपाली) सबैलाई त्राहीमाम पारेर छाडिन्छ। आखिर ती त 'मोदी' पो हुन्। रेलवे स्टेशनमा चिया बेचेर संसारको सबैभन्दा ठूलो लोकतन्त्र भनेर दावी गर्ने भारतका प्रधानमन्त्री बनेका मोदी हिलोको किलो नेता हुन् भनेर हल्का रुपमा नसोचे पनि हुन्छ। हिजो दिल्लीमा रहेको मिलिजुली सरकारलाई त हल्लाउन नसकेका यहाँका राज–सरकारहरुले, अहिले त झन एकछत्र सरकार छ भारतीय जनता पार्टीको। त्यसमाथि नि मोदी जस्ता प्रधानमन्त्री छन्। तिनको पुत्ला जलाउन लगाएर, तिरङ्गा झण्डा जलाउन लगाएर, यहाँका 'भरौटे नेताहरुले' सुख पाउलान्? यिनको बालहठजस्तो राजनीति र जिस्कने कूटनीतिले नेपाल–भारतवीचको सम्बन्ध सामान्यीकरण गर्न सम्भव नै छैन। हिजो उनकै जुठोपुरो खाएर सिंहदरवारसम्म पुगेकाहरुले आज उनैलाई 'आँखा तर्ने?' प्रष्ट छ। यी प्रमुख तीन दलको कारण नेपालीहरुले एकदमै दुःख पाउनेवाला छन्। यी अझै परिपक्व होइन काँचोवायु छाड्दैछन्।