Advertisement Banner
Advertisement Banner

०२ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

आखा च्यातेर हेर

१४ सोमबार , कार्तिक २०७९३ बर्ष अगाडि

देवी काफ्ले - - -
चुनावका बेला नेताले गर्ने भाषण र तिहारको बेला सयपत्रीको माला लगाएर खालमा बस्नेले बोलेका कुरा उस्तै हुन् । तिहारको रौनक, घांटीमा सयपत्रीको माला, निधारमा सप्तरंगी टीका हुंदा मन र मस्तिष्क असाध्य चंगा हुन्छ त्यो बेला भैली खेल्न आउनेलाई सबैभन्दा बढी रकम बोलेर मालाको सान राख्न मन लाग्छ । फेरि नगद दिने त हैन उधारो जाबो जति बोले पनि भयो । यस्तै उधारा छन् नेताका भाषण ।
चुनाव शुरू भएसँगै नेता कार्यकर्ता गाउँ छिरेर धान काट्ने गोबर सोहोर्ने, धान ओसाइदिने, हलो जोतिदिने मैदाने नाटक मन्चन गर्न थालीसके । एकदिन आएर गोडामा लम्पसार पर्दा र गाई दुहिदिंदा मक्ख परेर दिएको भोटले देशलाई कति ठूलो हानी पु¥याउला ? यति सोच्न नसकी भोटको अपमान गर्ने जनताहरू पनि भ्रष्टाचारका मतियार हुन् । अब त आँखा च्यातेर हेर्नैपर्छ, अति भइसक्यो ।
बिकास, सम्बृद्धि, शान्तिसुरक्षाका सपना देख्दै आफ्नो अमूल्य मत दिएर जनप्रतिनिधि बनाई पठाएका नेतृत्वबाट नागरिक शायद वाक्क भएछन् । गाउँ गाउँमा सिंहदरवारको नारा अनुसार सिंहदरवार त बन्यो तर लक्षित वर्गमा सिंहदरवार पुग्न सकेन । बिकट भौगोलिक क्षेत्रमा पुग्न सकेन । भ्रष्टाचारमय भयो सिंहदरवार गाउँमा भन्ने नारा । जसका उदाहरण छरपष्टै छन् । उल्लेख गरेर साध्य छैन । ब्यवस्था फेरियो, नेतृत्व फेरियो प्रबृत्ति फेरिएन । ठूला शहर, राजधानी मात्रै  केन्द्रित हुने प्रचलन हट्न सकेन । विकास भन्ने कुरा राजधानीमा भए पछि हात्तीको जत्रो छाती बनाएर गड्खिने प्रबृत्तिले गणतन्त्रका नेतालाई पनि शुद्ध्याउन सकेन ।
लोकतन्त्र, गणतन्त्र पछि त वर्गिय विभेद झन बढोत्तरी भयो । जनप्रतिनिधि राजा बने । पालिकाहरूमा राज्यकोषले थुप्रा रकम खर्चन उत्साहित गर्यो । ती बजेट कति त जनप्रतिनिधि र झोलेहरूले बियरसँग भात मुछेर खाएरै तर लाईदिए । बिकासका काममा डोजरे बिकासले स्पिड लियो । बाटोको स्तरउन्नतीमा ध्यान पुगेन । ध्यान पुगोस पनि कसरी ? फेरि बियरसँग भात र स्विमिङपुल केले धाउने ? जहाँ स्कुल बनाउन चन्दा उठाउनुपर्छ त्यहाँको सिंहदरवारका मालिकलाई लाज लाग्दैन । डोल्पाको एउटा प्राइमरी स्कुल बनाउन पोहोर साल सामाजिक अभियन्ताले मरिमेटेर सामाजिक सन्जालको प्रयोग गरि रकम जुटाईदिएका थिए । अपांगलाई व्हिलचियर किन्न चन्दा, निम्न वर्गको परिवारको सदस्य बिरामी भयो उपचारका लागि चन्दा, केटाकेटी, वयस्कले पढ्न पाएनन् चन्दा, अप्रेसन गर्नुपर्यो चन्दा, नागरिक भोकै परे चन्दा, स्कुलका बिद्यार्थीलाई न्यानो लुगा आवस्यक भयो चन्दा, बाटोघाटो पुलपुलेसा बनाउनु पर्यो चन्दा, अस्पताल बनाउनु पर्यो चन्दा, बिरामीलाई अस्पताल पु¥याउनुप¥यो चन्दा । चन्दा, चन्दा, चन्दा अनि त्यो गाउँको सिंहदरवार र नागरिकले तिरेको कर जनप्रतिनिधिलाई बियरसँग भात मुछेर ख्वाउन मात्र हो ?
ठोस योजना बिना जथाभावी डोजरे बिकासमा अग्रता कायम गर्नाले पहिरोको जोखिम उच्च छ । वर्षामात्र होइन, सुख्खा पहिरो पनि काल बनिरहेछ । दैनिकजसो सडक दुर्घटनामा निर्दोषहरूले अकालमा ज्यान गुमाएका छन् । यसपालीको स्थानीय निकायको चुनावको दिन समेत वालिङ नगरपालिकाले ठूलो क्षति बेहोर्नुपर्यो । 
गणतन्त्रका बाहक बनेका दलिय झोलेहरूका कारण आज राजनीति तर्फ बिचलन बढेको छ । बेरोजगार युवा दैनिक सयौंको संख्यामा खाडीमुलुकका लागि बाहिरिएका छन् । देशमा रोजगारी सृजना गर्नेतर्फ ध्यान छैन । भएको खाली जमिनको उपयोग गर्ने कुनै नीति, थितिबिति केही छैन । किसानले उत्पादन गरेको कृषिउपजलाई बजारब्यावस्थापनको पहल छैन । बजार ब्यावस्था छैन । कृषिप्रधान देशमा सिंचाईको ब्यवस्था छैन, समयमा मल बीउ पाउंदैनन् । मल ल्याउने बेला मन्त्रीहरू कमिसनमा लुछाचुँडी गरिबस्छन् । तराईको खेतीयोग्य जमिन भूमाफियसँगको साँठगाँठमा बालुवा छरेर बर्गेल्तै घर उमारेका छन् । बसाईसराई रोकि पहाडको जमिनलाई उपयोगमा ल्याउने नीति छैन । सुकुम्बासी बनेर ललिता निवास आँट्ने गिदी भएकाहरूको जमातमा लक्षित वर्गको पहुँच कहाँ ? लक्षित बर्ग सधैं पिडीत नै छ ।
यिनै बिबिध कारणले आज जनता नेतृत्व फेर्न चाहन्छ । अब पनि यिनै पुराना खाइदेउ नेतालाई भोट दिने होइन भन्दा निर्वाचन आयोगले जरीवाना ठेकिदियो । संविधानले वाक स्वतन्त्रता दिएको छ, निर्वाचन आयोग पुरानालाई हराउँ भन्न पनि पाइन्न भनिरहेछ । यो निर्वाचन आयोग कसरी स्वच्छ भयो ? चुनावका बेला हेलिकप्टरबाट मलबिउ छर्दिन्छु भनेर लज्जास्पद लोभ देखाउने, विदेश पठाइदिन्छ भन्नेदेखि सरकारी साधनको दुरूपयोग गर्ने जनप्रतिनिधिबाट के परिवर्तन होला ? चुनावमा जुन नारा बनाएर सोझासाझा जनतालाई फुस्लुक्क पार्ने कुर्सीमा बसेपछि आफ्नो र आफ्नाको परिवर्तनमा लाग्ने प्रबृतिको उछितो पार्नै पर्छ । नेतृत्वका घमण्डले जनता जहिलेसुकै बिकाउ वस्तु बन्न जरूरी छैन । अब त नेतृत्वमा पनि परिवर्तन, युवा नेतृत्व चाहिन्छ, अब जनताले बुझे कि ? नबुझे बुझ्नैपर्छ ।
अझै पनि चुनावको अवसरमा माइक समाउन पाएपछि झुट्ठा आश्वासन, अनि अरब, मलेशिया युवा पठाउने लोभ देखाउने ? यिनै लोभमा फस्ने जात जनता हैनन् । जनता सार्वभौम छन्, जनता निर्णायक हुन्, जनता अब त आँखा च्यातेर हेर ।