शाश्वत शर्मा
यो मुलुकबाट 'हिन्दूधर्म, राजा र राजतन्त्र मासिएकै हो त?' किनभने यी तीन मुद्दाबारे यसका समर्थकहरुसमेत प्रश्न उठाउन छाडेका छन्। अढाईसय वर्षको इतिहास भएको र नेपाल भन्ने यो मुलुकको निर्माण गर्ने शाह बंशका उत्तराधिकारी पूर्वराजा ज्ञानेन्द्र र तिनका सन्तान, दरसन्तानहरु साँच्चै नेपालीत्व समाप्त पार्ने नेताहरुको सबै कर्तुतहरुलाई टुलुटुलु हेरेर बस्ने सहनशील 'आम नागरिक'कै दर्जामा बाँच्न खोजेका हुन् त? बोल्दैनन् पूर्वराजा, हिन्दूवादी र राजतन्त्र जिन्दावाद भन्नेहरु असोज ३ मा संविधान घोषणा हुनासाथ मौनब्रत बसेजस्तो चलमल नगरी चुपचाप छन्? कस्तो आश्चर्य?
के सोच्छन् पूर्वराजा ज्ञानेन्द्र? अनि के भन्छन् हिन्दूवादी र राजतन्त्रवादीहरु? अस्ति कै कुरा हो, एकजना राजतन्त्रवादी भन्दै थिए– पूर्वराजा 'ढुक्क' छन्। अलिदिन पर्खनुपर्छ, जनताको विश्वासको बाँध भत्किन्छ, जनता उठ्छन्। अर्का हिन्दूवादी भन्दैथिए– पशुपतिनाथले सबै ठिक पारिदिन्छन् यी बिधर्मीहरुलाई। हिन्दूवादी छिमेकी राजनेता नरेन्द्र मोदीले हिन्दूधर्म फर्काइदिन्छन्। दिल्ली नै पुगेका थिए खुमबहादुर खड्का। के खाएर आए, बोल्नै नसक्ने भए। राप्रपा नेपालले संविधान जारी भए पनि एजेन्डा नछाड्ने बताएर आश्वासन बाँडेको छ। त्यसैगरी राजतन्त्रवादीहरुलाई नआत्तिन पूर्वराजाका सहयोगी, प्रशंसकहरु ढाढस बाँडिरहेका छन्। यही हो हिन्दूधर्म, राजा र राजतन्त्र पुनर्स्थापना गर्ने तैयारी? आशे राजनीति भनेको माथिबाट खस्ला र खाउँला भन्ने हो? खेती नै नगरी, गोडमेल नगरी, पानी नहाली कुनै पनि फसल फल्दैन। राजनीतिमा त झन बढी जनतासँग अन्तरक्रिया हुनुपर्छ, जनताको मन जित्ने प्रयत्न गर्नुपर्छ।
राजनीतिमा 'बोल्नेको पीठो बिक्छ।' नबोल्नेको चामल पनि बिक्दैन। ऊ बोल्ने मधेशी र थारु, सुदूरपश्चिम र सुर्खेतीको पीठो (माग) बिक्ने भइसक्यो। संविधान संशोधनको तैयारी सुरु भइसकेको छ। (बहुसंख्यक जनताको सद्भाव) लिएर बसेको हिन्दूधर्म, राजा र राजतन्त्रवादीको हातको चामल बिक्नेवाला छैन। मानौं राजतन्त्र, हिन्दूधर्म र राजतन्त्रवादी म्याद नाघेका ओखती हुन् अथवा भनौं नेपालमा कहिले यिनको अस्तित्व नै थिएन। यस्तै हो भने अव अस्तित्व देखिनेवाला पनि छैन। लाग्छ, हिन्दूधर्म, राजतन्त्र र राजावादीहरु चमत्कारको पखाईमा थिए र छन्। यिनीहरु अहिले पनि हेर्दै जानुहोला भन्छन्। सधैँ भारतको बासमती चामलको बासी भात खाने हाम्रा नेता बर्गलाई यसपटक युरोपियन र अमेरिकनले यसरी लठ्याइदियो कि दिल्लीसमेत दङ्ग पर्न बाध्य भयो। यति कुरा पनि नबुझ्ने हिन्दूवादी, राजतन्त्रवादीले के राजनीति गछन्, के बुझ्छन् भन्ठान्ने?
असोज ३ गते संविधान घोषणा भइसक्यो। लागू पनि भइसक्यो। बिरोधका स्वरहरु उठ्छन् र पानीको फोका जसरी फुट्छन् पनि। यो नियमित प्रक्रियामा गइसक्यो। स्वामी कमलनयनाचार्यले भनेजस्तो आउने चुनावमा दुई तिहाई मत ल्याएर संविधान संशोधन गरिन्छ, हिन्दूराष्ट्र घोषणा गराइन्छ। सपना देख्नेहरु सधैँ सपना देखिरहन्छन्। आँट्नेले आँट्छ र गरिछाड्छ भनेको यही हो। भारतको आदेश, दूतको निर्देशन र नाकावन्दीले हावा खायो, सपना देख्नेहरु सपनामै रमाइरहेका छन्। निश्चित छ, संविधानको संशोधन गरेर मधेशी र थारुसमुदायलाई थुमथुम्याएर संविधान कार्यान्वयन गराउँदै जानेछन्। हेर्ने हेरिरहन्छन्। प्रष्ट भए हुन्छ, यो संविधानले मुलुकलाई कम्तिमा अर्को १० वर्ष लतारेर लैजान्छ।
पहिला पनि राजा थिए– बझांगी, मुस्तांगी, सल्यानी। यी गोर्खाली राजा भएर बस्लान्। ९६ प्रतिशत ऊँकार परिवारलाई क्रिश्चियनकरणले सिध्याउने भयो। पूर्वराजाले सर्लक्क राजदरवार छाडेर नागार्जुन गएको यही दिन देखाउन? पुर्षाको इज्जतको ख्याल नगर्ने वीर हुनसक्दैन। सम्मान आफैले आर्जन गर्नुपर्छ भन्ने आदर्श बोकेका पूर्वराजा ज्ञानेन्द्रले के सम्मान आर्जन गरे उनैलाई थाहा होला। संघीयताले राम्रो गरेको भए, धर्मनिरपेक्षताले समभाव राखेको भए, गणतन्त्रले नेपाल र नेपाली गणलाई गणपति मानेको भए यसरी चित्त दुखाई हुनेथिएन। यो दुरावस्थाका लागि पूर्वराजाको पनि केही अंश जिम्मेवारी छ। न यिनले स्वदेशीको आह्वान गरे, न विदेशीको समर्थन लिन खोजे। कुना पसेर जनताको काँध चढ्ने आश गर्दागर्दै न पुर्षाको सम्मान रह्यो, न वर्तमानको इज्जत।
यी हरफहरु राजतन्त्र र हिन्दूत्वको मायाजालमा लेखिएको होइन। मुलुक दुरुस्त रहोस्, विदेशीको हैकम र हस्तक्षेपमा चुमुर्किएर बाँच्न नपरोस्, एकताको मौलो कायम रहोस् भन्ने स्वाभिमानले मात्र हाम्रो चाहना हो। पसिना बगाएर खाने बर्गका लागि 'मेरो देश नेपाल भन्न पाइयोस्' अरु के चाहियो र? स्थिति यसरी बिग्रिएर गएको छ कि कुनै पनि नेपाली हुँ भन्ने ढुक्क हुने स्थिति रहेन। के हुने हो भन्ने संशयको चिसो प्रत्येक नेपालीको मनमा घर गरेर बसेको छ। मरेकै रहेछन् हिन्दूहरु, राजा र राजतन्त्रवादीहरु। आफ्नो पहिचानका लागि सामान्य संघर्षसमेत गर्न सकेनन्। जसरी पञ्चहरुले बहुदल आएपछि बिगतको जिम्मेवारी पन्छाइदिए, अहिले हिन्दू र राजतन्त्रवादीले त्यसै गरेका छन्। सम्पूर्ण हतियारहरु ठूला तीन दलका सामु बुझाएर निशस्त्र नागा बनेका छन्। आनन्दै भो हिन्दूवादी र राजतन्त्रवादीलाई। घुमफिर गर्ने खाने र आराम गर्ने र बाँच्ने।
उत्तरतिरको नाका किन खोल्नुपर्यो, दक्षिणले नाका खोलिदिने परिपत्र गरिसकेको छ। केही दिनमै यो हाहाकार साम्य हुन्छ। हिन्दू र राजतन्त्रवादीहरु हो, संविधानको दीपावली गरेर खुशीयाली मनाउन घरघरबाट निस्के हुन्छ।